Followers

Monday, October 29, 2018

(लघु लेख ) हाम्रो अवस्था

(लघु लेख )
हाम्रो अवस्था

सरण राई

हामीले अहिले भोगिरहेको अवस्था र व्यवस्थाको विश्लेषण हुनुपर्ने हो र भईरहेको पनि छ तर अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष जस्तै भैरहेको छ |

राज्यको ढुकुटीबाट मोज र भोज गर्न र गराउन सफल नव नेताहरुले मुलुकको अवस्था र व्यवस्था अत्यन्त उज्ज्वल रहेको विश्लेषण गरेर चुनावमा फेरी जितेर मोज र भोजको निरन्तरता दिईरहने सपना देखिरहेका छन् |

जनआन्दोलनको शक्तिद्वारा घोक्रेठ्याक लगाईएका प्रतिगामी , पुनरुत्थानवादी र प्रतिक्रियावादी शक्तिहरु पनि अन्यौलको वातावारण भईरहेमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर दाउ हेरिरहेका छन् |

जनताले आशा गरेका एवं जनआन्दोलनको नेतृत्व गरेका राजनैतिक शक्तिहरु संविधान बनाउन र मुलुक चलाउन असफल भएको मात्र नभएर घृणित स्वार्थको दलदलमा कहिल्यै उत्रण नसक्ने गरि फसेको देखेर जनमत उनीहरुका बिरुध्द बनेको अवस्था देखिन्छ |

सर्वशक्तिशाली अवस्थामा रहेका तिनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु बाहेक अरु गतिलो काम केहि गरेनन् |संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेको हुनाले मुलुक अब त्यो भन्दा पछाडी फर्कन सक्दैन |

संविधान बनाउन र मुलुक चलाउन असफल राजनैतिक शक्तिहरु ज्याला लिएर काम पुरा नगर्ने श्रमिक सरह भएका छन् | तापनि फेरी त्यहि कामका लागि चुनाव हुने कुरा लिएर आएका छन् | मतदाताहरुसमक्ष फेरी तिनीहरु भोट माग्न आउने भएका छन् | उनीहरु आफ्नो गल्तीप्रति कहिल्यै जनतासामु माफी माग्नेवाला छैनन् |जनता भनेको उनीहरुको नजरमा दास हुन् , उनीहरुको हैकम हालीमुहालीमुनि पिसिनु पर्दछ - उनीहरुको धारणा छ |

"एकपल्ट कसैले धोका दिन्छभने धिक्कार छ धोका दिनेलाई , तर दोस्रो पल्ट वा बारम्बार पनि उसले धोका दिन्छ भने धिक्कार छ धोका पाउनेलाई |" मतदाताको स्थिति यस्तो रहेको छ |

अब मुलुक बचाउने जिम्मा मुलुकवासीको काँधमा आएको छ | सार्वभौमसत्ता सम्पन्न जनताले सत्य र मुलुकको पक्षमा उभिनु पर्ने भएको छ | पाखण्डी , बहुरुपी र भ्रष्ट नेता र बिचारको पछी नलाग्नु पनि असल शक्तिलाई साथ दिनु हो |

विद्यमान दल र नेताहरु आतङ्क , डर, त्रास फैलाएर , पैसा र सत्ताको दुरुपयोग गरेर गुण्डाराजको चुनाव चाहिरहेका छन् | यस्तै अवस्था र व्यवस्था रहिरहेमा स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव नारामा मात्र सिमित हुने निश्चित छ |यसो भएमा पाखण्डी , बहुरुपी र भ्रष्ट नेताहरुले चुनाव जित्ने छन् , चुनाव अर्थहीन हुने छ | मुलुक फेरी यथास्थितिको सिकार हुने छ |

स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव भएमा जनता र राष्ट्र बलियो हुने छ | मुलुकलाई अग्रगमनतिर लैजाने अभिभारा मतदाताको हो | मतदाताले निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गरेमा अहिलेको अन्योलपूर्ण अवस्था र व्यवस्थाको अन्त्य भै नयाँ नेपालको मुहार देख्न पाइने थियो कि !

लोकतन्त्रको आधार चुनाव भएकोले ढिलो छिटो चुनाव हुन्छ नै | र, त्यो आगामी चुनावमा निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गर्नु मतदाताको दायित्व भएको छ | आफ्नो दायित्व पुरा गरौँ , देश स्वत: बन्नेछ !

२०७० भदो १, ध रा न

(लघुसंस्मरण) मूल्यवान पैसा

(लघुसंस्मरण)
मूल्यवान पैसा
सरण राई
तराईमा गर्मिकाे समयमा त्यति बेला माेर्निङ स्कुल लाग्थ्याे ।
भर्खर पहाडबाट झरेकाे १४वर्षकाे मलाई धरान ठूलै झिलीमिली सहर लाग्थ्याे । माेटरगाडि, साइकल , गर्मि, सिनेमा, मलेरिया र मान्छेकाे भीडसँग पहिलाे पल्ट मेराे परिचय भएकाे थियाे ।
त्यति बेला माेर्निङ स्कुलमा भाेक लागि रहन्थ्याे । पाँचपैसै तामाकाे ढ्याक (जसकाे ताैल झन्डै५००ग्राम हुन्थ्याे र खाेप्पि खेल्नेहरूले त्यसलाई ठिनी बनाउथे ) तिरेपछि निकै ठूलाे अालुचप पाइन्थ्याे । त्याे खाएपछि भाेक केही मत्थर हुन्थ्याे । छाताचाैक छेउमा चियाकाे पसल थियाे । तराइमा त्यति बेला भा. रू.कै चलनचल्ति थियाे। माे.रू एक रूपैयालाई दशअाना भनिन्थ्याे । दुई अाना (१०पैसा माे.रू.काे एकअाना भा. रू. ) कप चिया पाइन्थ्याे । एक अानाकाे हाफ कप चियाकाे तृप्ति अहिलेकाे २०रूपिया कपकाे चियाले दिन सकेकाे छैन ।
पब्लिक हाई स्कुलमा नाै कक्षामा पढ्दा एकराज राईले हाफपाइडलमा चढेर साइकल कुदाएकाे देख्दा अानन्द र अाश्चर्य लाग्थ्याे । पछि रमेश नेपालीसँग दुई रूपियामा दिनभर साइकल रिजर्भ गरेर घाउचाेट हुँदै साइकल चढ्न सिकियाे। त्यसपछि कच्चि सडकमा घन्टि बजाउदै , नयाँबजार, पुतलीबजार,मङ्गलबारे हुँदै धरान बजारकाे चक्कर लगाउँदाकाे अानन्द बिर्सिनसक्नु थियाे ।
सिनेमा युवाहरूकाे लत थियाे । सिनेमा हलमा नगई फिल्म हेर्न पाइदैन वा सकिदैनथ्याे । साताैं घन्टिकाे संस्कृतकाे पुरै क्लास खालि गरेर ९ र १० कक्षाका हामी सिनेमा हेर्न जान्थ्याे । चाैथाे श्रेणिकाे टिकटकाे मूल्य साढे चार अाना याने ४५पैसाका दरले सबैले जम्मा गरेर साथी इन्द्रकुमार श्रेष्टलाई पहिला नै टिकट काट्न पठाउथ्याे । पर्दासँगै टाँसिएकाे बेन्चमा बसेर टारजन, हावामहल, जब प्यार किसिसे हाेता है अादि फिल्म हेर्दाकाे अानन्द अझै मनभित्र समेटिएकै छ ।
इष्टमेन कलरकाे रङ्गिन फिल्महरू अाउन थालेपछि त झन् सिनेमा छाड्नै नसकिने लत बस्याे । जीवनमा त्यति बेलै सबैभन्दा धेरै सिनेमा हेरियाे ।
🔴
२०७५ कातिक १३, विशालचाैक



Friday, October 26, 2018

(लधुलेख) हारकाे मजा

(लधुलेख)
हारकाे मजा

सरण राई

जनतामार्काका हामी हारमा अानन्द पाउछाै । राम्रो काम गर्नेलाई छाडेर नराम्राेलाई राेज्छाैँ ।
अन्धभक्त अन्धपिछलग्गु हुन विवेक बुध्दि धराैटि राखेर खाटि जनतामार्का मतदाता बन्छाैँ ।
नराम्रो राेजेपछि राम्रो अाशे भजने भक्त बन्छाै र रसातललाई रमणीय स्थान सम्झने महामुर्ख हुन्छाैँ ।
यस्ता हामी किनबेचकाे पशुमा रूपान्तरण भएकैले बारम्बार थाहै नपाई (धेरैजसाे थाहा पाईपाई) बेचिन्छाैँ । बेच्नेलाई महान् मान्नु र उसैकाे दास बन्नु पाैरख बहादुरी । इमानदार हुनु रे अाफै बेचिएर ।
बेचिनेले माेल पाउने कुरै हुँदैन । बेचिनेहरू सदैव हरिकङ्गाल गरिब रहने हुनाले सदैव किनबेच हुने नै भयाे । यस्तो स्थिति रहेसम्म बेचिनेहरू हारमा अानन्द लिने यन्त्रमानव हुन्छन् । यसै भएकाेले प्रजातन्त्र , लाेकतन्त्र, गणतन्त्र नाैटङ्की बन्दैछ ।
यस्तो पीडाबाट वच्न के गर्नुपर्ला ? यन्त्रमानवहरूले नै साेच्ने बेला भएको छ।



***

२०७५ असाेज २४.

(लघुनिबन्ध) लिएर जाने केही छैन

(लघुनिबन्ध)
लिएर जाने केही छैन

सरण राई

जीवनका सुरुका समयहरूमा जुट्दै अाउछन्- बलबैश, तागत , जाेशजाँगर, साथीसँगी, पदप्रतिस्था, धनसम्पत्ति साथै साथदिने जीवन साथी, छाेराछा्ेरी,ज्वाँइबुहारी ,नातिनातिना अादि अादि । सबैतिरबाट साथ पाईन्छ । साथ समयले पनि दिन्छ उमेर छउन्जेल ।
जब उमेर ढल्कदै जान्छ उपराेक्त कुराहरूले
क्रमश: छाड्न थाल्छ । सबैभन्दा पहिला स्वार्थी साथीहरूले, बलबैंश तागतले अनि अाफना भनिनेहरूले पनि साथ छाेड्छन् । सबै अाफूलाई मन परेकाे वस्तुहरू, मनाेरञ्जन,साैन्दर्य र सुन्दर चिजहरू अन्तमा स्वास्थ्यले पनि छाेड्न थाल्छ ।एक एक कुराहरू छुट्दै जान्छ । रमाइलो संसार पनि एक दिन छुट्छ । बाँकि अाफूसित के रहन्छ र ?
अाफ्नाे अन्तिम क्षणमा मनमा सन्तोष रहनु ठूलाे कुराे हाे । बाचुन्जेल अन्याय , अत्याचार र असत्य काम गरीएन भने अाेठमा अप्रतिम मुस्कान बाेकेर गाैतम बुध्दझैँ सन्ताेषसाथ मर्न सकिन्छ ।
अर्कालाई थिचोमिचो , अन्याय असति काम गरेर जतिसुकै धन थुपारेकाे भए पनि लान पाइने हाेइन । अाखिर लिएर जाने केही हाेइन ।
लिअाे टाल्सटायले भनेझै "जबसम्म मसँग दुई जाेर लुगा र दुई छाक खाना हुन्छ , म संसारमा निरन्तर चलिरहेकाे पाप कार्यमा सरीक भईरहेकाे हुन्छु ।"
अाखिर लिएर जाने केही हाेइन भने किन संसारमा निरन्तर चलिरहेकाे पापमा सरीक हुने ?

 ***
२०७५असाेज २६,सुमेरु अस्पताल

Wednesday, September 19, 2018

(लघुलेख) प्रश्न

(लघुलेख)
प्रश्न

सरण राई

किन जनताले आफु नागरिक भएको,
सरकार र परिवेश आफ्ना लागि भएको
महसुस गरिरहेका छैनन् ?!
२०१७ सालदेखि
२०४६ सम्म सरकार  र देश  जनताको लागि थिएन
सरकार र परिवेश आफ्ना लागि भएको महसुस गर्ने कुरा थिएन ।
२०४६ देखि २०५६ / ५७ सालसम्म दलहरु बीच व्याप्त अन्यौल र स्वार्थीपनले नयाँ नेपालको सपना फुल्न सकेन।
२०६२/६३को जनआन्दोलनले स्थापना गरेको गणतन्त्रको यो अवधिमा पनि
सरकार, देश र परिवेश आफ्ना लागि भएको,
आफु नागरिक भएको महसुस नहुनुले
संबिधान, सरकार, प्रशासन र
मुलुक हाक्ने दलहरु
नयाँ नेपालको सपना फुलाउन पूर्णतया असफल भएका हुन् त ?!
विश्लेषण गर्ने बेला भएको छ ।

भावी नेपाल निर्माण गर्न
नयाँ सोच र नयाँ बाटोको खोजि गर्नु पर्ने बेला भएको छ ।
हो कि होइन ???
🔴
२०७५ भदाै ३०

(लघुलेख) झिंगे हाजनीति

(लघुलेख)
झिंगे हाजनीति

सरण राई

राजनीति दुनिया बदल्ने सर्व शक्तिसाली साधन हो । जब राजनीति सिध्दान्तच्युत हुन्छ झिंगे राजनीति बन्न पुग्छ । झुठ , बेइमानी , भ्रष्टाचार र अनैतिकता यसका प्रमुख तत्व बन्छ । सिध्दान्तच्युत भएपछी पंख काटिएको पंछीझैँ राजनीति हुने भएकोले त्यो क्रमश झिंगे हाजनीति बन्न पुग्छ ।
झिंगे हाजनीतिमा झिङ्गा नै सबथोक हुन्छ । झिंगाको हुल हुन्छ तर रानो हुँदैन । मौरीजस्तो मिहिनती र अरीङ्गाल जस्तो दुस्मनप्रति एकताबध्द भएर लड्ने लडाकु हुँदैन । फोहोरको डङ्गुरमा झिंगाको हुल हुन्छ र रोग मात्र फैलाई रहन्छ । तसर्थ झिंगे हाजनीतिलाई कुनै पनि अवस्थामा समर्थन गर्न सकिदैंन ।
फोहोर र रोगबाट बच्न राजनीतिलाई सदैव असल , कन्चन र पवित्र राख्न सके मात्र जीवन सहज, रमणीय, सुख र सम्वृद्धिउन्मुख हुन्छ ।

२०७५ भदौ ३१

Monday, August 13, 2018

लघुलेख दाैतेरीहरू

लघुलेख
दाैतेरीहरू

सरण राई

दाैतेरीहरू भनेपछि समकालिन भनिरहनु परेन । एकछेका कुनै न कुनै रूपमा समयकाे हुण्डरी बतास सिरसिरे एकसाथ बेहाेरेकाे दाैतेरीहरूकाे सम्झना अाउनु र सम्झनु उनीहरूलाई...दाैतेरीपनकाे अानन्द ।
धेरै समय भेट नहुँदा ,उनीबारे केही नसुन्दा शङ्का उब्जिनु स्वाभाविक हुन्छ र भेट्दा भन्न पुगिँदाे रहेछ ,"तपाईं पनि हुनुहुन्छ?"
हाे पनि क्षणभङ्गुर चाेला मानिसकाे!
पत्रपत्रिका , रेडियोकाे समाचारबाट धेरै दाैतेरीहरूबारे थाहा हुन्छ ।फलानाे क्लासफ्रेण्ड मन्त्री भएछ - म भन्छु ।ऊ मन्त्री भएर के गर्नु ? मलाई चिन्दैन ।म मन्त्री भएकाे भए उसले मेराे क्लासफ्रेन्ड मन्त्री भएछ भन्थ्याे । र , म चिन्दिनथिएँ ।
धेरै समयसम्म जुन साथी दाैतेरीकाे बारेमा केही सुनिएकाे थिएन, ऊ विदेशकाे सुखसयलकाे नियात्रा पत्रिकामा छापेर देखा पर्दा खुसी लाग्याे साथै अाफूलाई त्यस्तो सुखसयल नजुरेकाेमा सम्झन्छु फटाहा, छट्टुहरूले खाएकाे देश... खलनायकहरू नायक भएकाे व्यवस्था अवस्था ।
देख्छु माथि पुगेका दाैतेरीहरूकाे रवाफ ! अनैतिक अवैध अमर्यादित सिडी उक्लि छिट्टै माथि गएकाले अन्तरमनभित्र अत्तालिएका हराएका ! त्यसाे हुँदा मनकाे शान्ति हराएर छिट्टै माथी गएका ।
सर्वसाधारण अाममान्छे भएर बाँच्न सकेकाेमा सन्तुष्ट छु ।कमसेकम अन्तरमन त पवित्र छ ।
माथि पुग्ने दाैतेरीहरू नै छिट्टै माथि पुगेका छन् ।तलै रहेर अधुरा कामहरूका फिनिसिङ टच दिन पाऊँ !
***
२०७५साउन २६,सुमेरू अस्पताल
*

Sunday, February 4, 2018

(लघुलेख ) व्यावहार चातुर्य

(लघुलेख )
व्यावहार चातुर्य

सरण राई

व्यावहार चातुर्यता स्वार्थी कला भएको छ । व्यावहारिक चातुर्यताले सबै सिध्दान्त नीति नियम कायदाहरुलाई स्वार्थ अनुकुल परिमार्जन तोडमरोड रङ्गाउने छकाउने झुक्काउने अनेक कलाको विकास गरेको छ ।
व्यावहार चातुर्यता शिष्ट शब्दमा भनिएको हो । यसको खास अर्थ निहित कालो स्वार्थ हो । स्वार्थीले जे पनि स्वार्थपूर्ति खातिर गर्छ । उपभोक्तावादी संस्कृति, आधुनिक विलासी रहनसहन, जीवनयापन महँगो भएकैले जिउ छाडेर कमाउनुपर्ने बाध्यताले मानिसहरु व्यावहार चातुर्य बनेका छन् । नेताहरु सबैभन्दा बढी व्यावहार चातुर्य भएका छन् ।
व्यावहार चातुर्यता ( निहित कालो स्वार्थ )ले कुनै कुरालाई पनि सक्कली विशुध्द रहन दिँदैन । व्यावहार चातुर्यताको कारण राजनीति अराजनीति भएको छ त्यस्तै सामाजिक असामाजिक , साहित्य असाहित्य, संस्कृति असंस्कृति, मानवीयता अमानवीयता ।
व्यावहार चातुर्यता ( निहित कालो स्वार्थ )लेअसललाई असल रहन दिएन । खराव नक्कलीको साम्राज्य छ .।
राजनीति असल र असली नभएसम्म के उन्नति होला ? खराव नक्कलीको साम्राज्य रहेसम्म जीवन सहज रमणीय उत्साहजनक हुने कुरै भएन ।
असल राजनीतिले मात्र तथाकथित बहुरुपिहरुको व्यावहार चातुर्यता समाप्त पार्छ र राजनीति असल बन्छ ।

https://facebooklit.blogspot.com/
२०७४ माघ २३ , धरान

Monday, January 15, 2018

(लघुलेख) सफल पुस्ता

(लघुलेख)
सफल पुस्ता

सरण राई

यो हाम्रो पुस्ता सफल पुस्ता हो । चार प्रकारकाे व्यवस्था फटायाैँ । उच्च सर्वोत्कृष्ट राजनैतिक व्यवस्था 'गणतन्त्र ' ल्यायौँ ।
अब संसारका सामु चौडा छाती बनाएर चौतर्फी विकाशका लागि सम्पूर्ण शक्ति एकत्रित गरेर लागिरहेका छौँ ।
हामीसित के छैन ? हामीसित अपार जनशक्ति, प्राकृतिक साधनस्रोत , सुन्दर वातावारण हावापानी जलवायु छ । असल शक्तिशाली दुई छिमेकी राष्ट्रहरु छन् । शुभेच्छुक देश र मित्रहरु विश्वभरी छन् । हामीसित भएको सारा कुराहरुलाई एकीकृत शक्ति बनाई राष्ट्र निर्माणमा जुटिरहेका छौँ ।
हर क्षेत्रमा सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक सबै क्षेत्रमा सफल पुस्ता हाम्रो पुस्ता हो । हामीसित भएका सबै शक्ति सकारात्मक रुपमा सदुपयोग गर्न थालिसकेका हामी सम्पन्न, सुखी ,स्वास्थ, सभ्य
,सौहार्दपूर्ण, समान, प्रेमिल ,सकारात्मक समाज , परिवेश र देश निर्माण गरिरहेका छौँ । तसर्थ पनि वर्तमान हाम्रो पुस्ता सफल पुस्ता भएको छ जसले अत्यन्त सुन्दर प्रचलन , सकारात्मक सोच ,सम्बृद्धि , उज्ज्वल भविष्य भएको देश र समाज भावी पुस्तालाई हस्तान्तरण गर्दै छ ।
👄👄👄
'https://facebooklit.blogspot.com/2018/01/blog-post.html'
२०७४ चैत १३ , धरान

🌷🌹🌷🌹🌷🌹🌷🌹
२०७४ माघ १ ( येले दोङ ५०७८ नयाँ वर्ष र माघी , माघे संकान्तिको शुभावासरदेखी 'सकारात्मक सोचको थालनी गरौ' भन्ने हार्दिक शुभकामना !), धरान

Tuesday, October 3, 2017

(लघुलेख ) देश हातमा कि मुठ्ठीमा ?

(लघुलेख )
देश हातमा कि मुठ्ठीमा ?

सरण राई

देश--
अहिले कसको हातमा छ ? कसले चलाईरह्को छ ? कता गईरहेको छ ? कसको हो ? कसका लागि हुनुपर्ने हो ?
अनगिन्ती प्रश्नहरु ! जवाफ भ्रान्तिपूर्ण | जव्वाफ पनि दिने कसले ? सरकारले कि सरकार चलाउने, बनाउने र गिराउने दलहरुले ?
दलहरु--
दोछायाको छायाहरुजस्तै | बिना आकारका कुरुप 'बुख्याचा' बनाईएको धमिलिएको ध्वासे छवी | जुन दल जुन दलसँग मिले पनि हुने | जनता झुक्याउने | मालिकको खटनपटन अनुसार चल्ने दलहरु कुनबेला के गर्छन ? थाहा नहुने |
चुनाव धेरै पटक भएको छ र हुँदै छ | चुनावहरुमा जितेकाहरुको शासन छ | उनीहरुले देशलाई के बनाईरहेका छन् ? कता लागिरहेका छन् ? चुनावमार्फत देश उनीहरुको हातमा पुग्यो | उनीहरु देश हाक्ने ड्राइभर , पाईलट वा अगुवा भए | अहिले जब्बर प्रश्न उठ्न थालेको छ - देश उनीहरुको हातमा कि मुठ्ठीमा ?
फटाहाहरुका मुठ्ठीमा मुलुक परे के हुन्छ ? भोगिसकेकाहरुले सोच्न ढिला गर्नु भएन | असलहरुले ठाउँ छाडेकाले नै ति खाली ठाउँहरु खराबहरुले कब्जा गरेका हुन् |आफुलाई असल सम्झनुहुन्छ भने अब जागरुगता साथ असल्रहरुको हातमा देश सुम्पन सक्रिय भई राजनीतिमा सबै असल मानिसहरु आउनु पर्छ | असल राजनीतिका लागि सबै असल मानिसहरु राजनीतिमा आउनु पर्छ |

🇳🇵🇳🇵🇳🇵
https://facebooklit.blogspot.com/2017/10/blog-post.html'
२०७४ असोज १७ ,धरान

https://twitter.com/twitter/statuses/941091147207680001

Tuesday, August 22, 2017

(लघुलेख) चौडा छाती

(लघुलेख)
चौडा छाती
सरण राई
सानो तर सुन्दर देशका हामीहरु !
नयाँ परिवेश र नयाँ व्यवस्थामा छौ तर हाम्रो छाती झन् झन् सानो बनाएर नेताहरु त्यहि छातीमा टेकेर, बुरुक्क बुरुक्क उफ्रेर स्वार्थको महलमा शुखचैन मौजमज्जा गर्न लालायित छन् | बेलैमा तिनीहरुलाई चिनौँ !
देश साझा हो | सबैले ' हाम्रो प्यारो मुलुक' भन्ने महसुश गरेमा मात्र 'साझा अस्तित्व, साझा सहकार्य' सम्भव हुन्छ | एक्लैले मुलुक थाम्छु , एक्लै हैकम चलाईरहन्छु भन्नेहरुले रसातलमा पुर्याउनुभन्दा पहिले सब नागरिकहरु असल राजनीतिका लागि जागरुक र एकतावध्द हुन जरुरी छ | यो अहिलेको पहिलो सर्त हो |
कुनै पार्टीमा लाग्नु भनेको आफ्नो सोच , अस्तित्व , मुल्य , मान्यता , विवेक , बुध्दी नभएको 'अन्धो समर्थक र भक्त' हुनु होइन | आफ्नोलाई मनपरी गर्ने छुट 'अन्धो समर्थक र भक्त'हरुले दिई रहेका छन् | 'बुध्दी विवेक धरौटी राखेर कुनै पार्टीको सदस्य हुनु लज्जास्पद बहुदलको विकृति हो |' यस्ता गलत प्रवृत्तिको अन्त दोस्रो सर्त हो |
देशलाई माया गर्नेहरुले सबै नागरिक वा जनतालाई उत्तिकै माया गर्छन् | सबैको भलोको लागि आफ्नो स्वार्थको तिलान्जली दिन्छन् | 'सबैको भलाईमा आफ्नो पनि भलाई' निहित हुने कुरो बुझेका हुन्छन् | 'असल राजनीति' 'सबैको भलाईमा' आधारित हुन्छ | 'असल राजनीति' देशलाई माया गर्नहरु सबैको राजनीति हो |
यो - त्यो , उंच- नीच, आफ्नो- अरुको आदि अनेकौ विभाजनका रेखाहरु कोरेर 'फ़ुटाऊ र राज गर' अहिले कार्यान्वयन भईरहेको छ | यसरी देशवासीहरुलाई फुटाएर देश लुट्ने देशद्रोहीहरु चिनेर निमित्यान्न नपारेसम्म तिनीहरुको गुलाम भइरहनु पर्ने हुन्छ | गुलाम होइन हामी मुलुकका सबै मालिक हौँ !
'अन्तर्मनको पुकार' सुनेर असल राजनीति गर्ने चौडा छाती भएका देशवासीहरु देशको जग , खम्बा, कर्णधार , मेरुदण्ड, सबथोक हुन् | तिनीहरु नै देशका मालिक हुन् |
🍉🍉
https://facebooklit.blogspot.com/
२०७४ भाद्र ७ बुधबार , धरान

Wednesday, July 26, 2017

मेरो देशमा सधैं कुकुर तिहार

🐆
मेरो देशमा सधैं कुकुर तिहार
सरण राई
कुकुर तिहार नभए पनि कुकुरहरु सधैं मालाले लादिएको देखिन्छ
इमानदारहरू कुनामा झन् कुनामा ठेलेर पुर्याइएको भेटिन्छ
सधैं यस्तै भएमा .क्रमशः क्रमशः देशभित्र मानिस रित्तिन्छ
मानिस नभएको विरान उजाड़ देश नबनोस देशवासीको चाहना छ !
🇳🇵
https://facebooklit.blogspot.com/
२०७४ साउन ११, धरान

Sunday, July 23, 2017

(फेसबुके कविता ) समयको आवाज

(फेसबुके कविता )
समयको आवाज
सरण राई
सिध्दान्त र विचार त्यागेका
दृष्टिकोणविहिन र लाज घिन पचेका
दायित्व निर्वाह नगर्ने पाजिहरुका हातमा फसेको देश !!!
यताबाट पनि, उताबाट पनि चुसेकै छन्
केन्द्रिय देखि स्थानिय सबैले लुटेकै छन्
कहिले सम्म लुटतन्त्र चल्ने हो ???
लुटाहाहरुको दिन कहिले सिध्दिने हो ?!!?


मुल्याङ्कन हुँदै छ नलाग्नु होला लुटाहा झुण्डमा
सफा कन्चन छवी सधै सूग्घर र सुन्दर राख्नुहोला !!

सिध्दान्त र विचार त्यागेका
दृष्टिकोणविहिन र लाज घिन पचेका
लुट सधैं चलाउन चाजोपाँजो मिलाईरहेका
 लुटाहा पाजिहरुका मुल्याङ्कन हुँदै छ
रित पुर्याएर झुन्ड्याउने तयारी हुन लागेको  छ |


(
https://facebooklit.blogspot.com/
२०७४ साउन ८ , धरान

Monday, June 5, 2017

(लघुलेख ) म किन लेख्छु ?

(लघुलेख )
म किन लेख्छु ?
(आत्मस्वीकृति)
सरण राई
म मानव जीवनप्रति आस्थावान छु । मानव जातिलाई सम्मान र प्रेम गर्छु । सबै मानिस बराबर हुन् । सबैलाई न्याय प्राप्त होस् । कोही भोकै नरहुन् । अकालमा कसैको मृत्यु नहोस् । समान सम्मान र अवसर सबैलाई प्राप्त होस् । कुनै अनुचित आधार कारण कसैमाथि पक्षपात नहोस् । कोही शोषण , अत्याचार र अन्यायमा नपरुन् । यही मेरो चाहना हो ।
बाम राजनीतिप्रति भएको लगावका कारण यस्तो मेरो चाहना भएको हुन सक्छ । उनीहरूले बाटो बिराए पनि इमानदार मानिसहरूले बाटो बिराएका छैनन् । हिजोको प्रतिकूल अवस्था क्रमिक रूपमा परिवर्तित भइरहेको छ ।
आज हिजोभन्दाराम्रो हुँदै छ । निराशा चारैतिर छरेर आफ्नो स्वार्थ पूरा गर्न तत्पर तत्वहरू सक्रिय होलान् । ती क्षणिक हुन् । उज्ज्वल भविष्य देख्ने विशाल जनसमुदाय चारैतिर बिद्यमान छन् । अग्रगमन उनीहरूले निरन्तर बढाइरहेका छन् । प्रतिगमन कुनै अवस्थामा सम्भव छैन ।
मैले मेरा नीजि स्वार्थभन्दा माथि उठेर लेखिरहनु पर्छ भन्ने चेतले नै आजसम्म लेखिरहेको छु । लेख्नु मेरो कर्तव्य हो । मानिसलाई मानिस भएर बाँच्ने वातावरण निर्माणको लागि लेखिरहन्छु । सर्वसाधारण आम मान्छेको उन्नयनका लागि लेखिरहन्छु । नथाकि लेखिरहन प्रेरीत गर्ने श्रद्धेय पाठकहरूका लागि सकिन्जेल लेखिरहन्छु ।
🙂☺️😊
https"//facebooklit.blogspot.com/
२०७४जेठ २२, धरान

Wednesday, March 29, 2017

(लाघुलेख ) बौद्धिक उन्नयन

(लाघुलेख ) बौद्धिक उन्नयन
सरण राई
नेपालीका 'बेस्ट सेलर' पुस्तकहरु पढ्नै पर्यो | 'बिनोद चौधरी', र मदन पुरस्कारले पुरष्कृत ,'खुसी' पढिसकियो | हाजी मस्तानाको 'कुल्लिसे करोडपति ' आइ. ए. मा पढ्दा खुब चाख मानेर पढिएको थियो | अहिले 'रुक्माङ्गद कटुवाल " (आत्मकथा) चाख मानेर पढ्दै छु | यसपछि छत्रमान गुरुङको आत्मकथा पनि पढेर बौद्धिक उन्नयन गर्ने सोचमा छु |
यस्तै अरु दस बीस पुस्तक पढ्न पाए हुन्थ्यो भन्ने (हाम्रा नेपाली पाठकहरुका जस्तै ) मेरो सोच विकास भएको छ |
भनिन्छ, इतिहास जित्नेहरुकै लेखिन्छ (पृष्ठ ४४) | जीवनोपयोगी शिक्षा | पढेपछि ज्ञान बढ्छ बढ्छ ! यी पुस्तकहरुप्रति पाठकहरुको बढ्दो रुची देख्दा अब पाठकहरु व्यावहारिक जीवन बुझ्न हेर्न चाहन्छन् न कि कोरा मनगढ़न्त काल्पनिक साहित्य |
२०७३ चैत १६, धरान
http://facebooklit.blogspot.com/
२०७३ चैत १६, धरान

Friday, February 17, 2017

(लघुलेख ) साहित्यकारको दायित्व

(लघुलेख )
साहित्यकारको दायित्व
सरण राई
अझै सामाजिक विकासमा द्वन्द छ | कोहि पुरानै यथावत रहोस भनेर जिउ छोडेर लागेका छन् | कोहि नयाँ उज्यालो सबै सबैको अनुहारमा पुगोस भनेर आफ्नो सम्पूर्ण शक्ति लगाईरहेका छन् | हामी साहित्यकारहरुले पनि नयाँ उज्यालोको पक्षमा रहेकाहरुको पक्षमा उभिनु पर्दछ | निहुराइएका , थिचिएका , पिसिएकाहरुलाई अझै निहुराउनु , थिच्नु , पिस्नु पर्छ भन्ने किसिमले लेख्नेहरु साहित्यिक क्षेत्रका कलङ्क हुन् . जानी नजानी तपाई कतै अग्रगमनको बिरुध्द उभिरहनु भएको छ कि ? जानी जानी उभिनु हुन्छ भने त त्यो तपाईको अडान हो | तर अन्जानमै कतै तपाई सर्वसाधारण / आम मान्छे विरोधी भएर लेख्तै हुनुहुन्छ कि !
अब सर्वसाधारण / आम मान्छे विरोधी राजनीतिज्ञ, वुध्दिजिवी वा अरु कसैको पनि खैरियत छैन | झन् साहित्यकारको त छँदै छैन |
परिमार्जन २०७३ फागुन ६ , धरान 

Monday, January 23, 2017

(लघुलेख ) आख्यान

(लघुलेख )
आख्यान


सरण राई 


हिजोका आख्यानहरु आज धार्मिक शास्र बनेका छन् | इश्वर , राक्षस , स्वर्ग , नरक , पाप, पुण्यले आज पनि आधुनिक भनाउँदा मान्छेहरुको दिमाग भरिएको छ | हिजोका आख्यानहरु आज धार्मिक शास्र बनेजस्तै आजका आख्यानहरु भोलि 'मनुवा जीवन संचालन गर्ने नीतिशास्र' बन्न सक्छन् |
अचम्भ लाग्दो कुरा ठुलाठुला अस्पतालहरुमा भगवानका फोटाहरु टाङिएका छन् | आधुनिक बैज्ञानिक मानव शरीरको अध्ययन गरेर उपचार गर्नेहरु झन् धेरै हिजोका आख्यानबाट प्रभावित देखिन्छन् वा इश्वर देखाएर आफ्नो त्रुटिपूर्ण उपचार, उपचारमा गरिने गल्ती छोप्ने प्रयत्न गरिरहेका छन् |
झन् धेरै पढेकाहरू  आख्यान र यथार्थ छुट्टाउँन नचाहने,   भ्रमहरुको अझ धेरै अन्ध समर्थक-संरक्षक देखिन्छन् |  संकुचित स्वार्थप्रेरित  उनीहरु ...
जेहोस् हिजोका आख्यानकारहरु आजका जीवन पध्दति नियन्त्रण गर्न पूर्ण सफल भएजस्तै आजका आख्यानकारहरुले पनि भोलिको मनुवा जीवन प्रभावित पार्न पूर्ण सफल हुने किसिमले लेख्नु पर्दछ !
२०७३ माघ ११,धरान
फेस्बुके साहित्य..

http://facebooklit.blogspot.com/

Wednesday, January 18, 2017

(लघुलेख) ने.झु.पा..

(लघुलेख)
ने.झु.पा..
सरण राई
ने .झु. पा .सत्तामा पुग्नका लागि जे पनि गर्छ | गुन्दागिरी, भ्रष्टाचार, धोकाधडी, राष्ट्रघात, झुठफरेवी अरु पनि लाजमर्दो कामहरु निर्लज्जतासाथ गर्छ | तर आफुलाई मात्र राष्ट्रवादी र जनताको हितकारी पार्टी हो भनेर सिरदेखि पैतालासम्मको बल निकालेर भ्रम छर्छ | आफै भ्रमित छ - लोकप्रिय पार्टी भएको छु भनेर | सिध्दान्तविहिन त्यो पार्टी पाटीमा परिणत भईसकेकोले सबै इमानदारहरुले त्यसलाई मृत सम्झेर छाडी सकेका छन् (किनकी सिध्दान्तबाट स्खलित पार्टी मृत हुन्छ )|
ने.झु.पा. भनेको --
ने .= नेपाल होइन नेता
झु .= झुर
पा. =पार्टी होइन पाटि जहाँ संगठित अपराध गरिरहनेअनैतिक, द्रव्यपिसाच, फटाहा, गुण्डा र बदमासहरुको बास छ
यसो भए पछी --
नेता झुर पाटि | नेता झुर पाटिको अवसान भए पछी मात्र असली जनताको पार्टीको उदय हुने छ | सबैले बुझेकै छन् |
२०७३ माघ ४ , धरान |
https://facebooklit.blogspot.com/

(लघुलेख ) गफ

(लघुलेख )
गफ
सरण राई
गफै गरेर खाने जमाना आएछ , गफै गरेर खाने बुध्दी फुराउनु पर्यो ..सोचेर गफ गर्न सिक्न पर्यो भनेर गफ गर्नकै लागि साथीभाईकहाँ गएँ | गफ थालेँ - साथीभाई सम्झेको उनीहरु त काङ्रेस, माओवादी , एमाले, फोरम वा अरु कुनै पार्टीको मान्छे भईसकेका रहेछन् | आफ्नो पार्टीको बाहेक कसैसँग बातै नमार्ने , गफै पनि नगर्ने | आफ्नो पार्टीको बाहेक अरुलाई मान्छे नै नगन्ने | गफ पनि आफ्नै बगम्फुसे नेताको मात्रै सुन्ने ! लौ ठिकै छ , राम्रै हो पार्टीको मान्छे हुनु ...नेताको गफ सुनेर 'होमा हो' मिलाउनु | यसो गर्दा उनीहरुलाई फायदै होला सम्झेँ | तर नेताले उनीहरुलाई मान्छे गन्दैन भेडा मात्र सम्झन्छ ...
धेरै नबोलौ , मैले त गफ गर्न सिक्नु परेको छ | तर समस्या .. मेरो गफ कसले सुन्ने ? साथी Shekhar Karkiले भनि हाल्नुभयो " गफै गरेर खान त ठूलै नेता हुनु पर्ला सरण जी सर्वसाधारणलाई त गारै होला ।"
लौ मेरा साथीभाई पार्टी र नेताप्रति त्यति धेरै वफादार छन् भने पक्कै पनि पार्टीमा वा उनीहरु रहेको कमिटीमा राम्रै हैसियत होला | बुझ्दा त दिनभरिको बैठकमा एकै शब्द बोल्न पाउदा रहेनछ्न् | लगातार एकोहोरो नेता बोलेको बोलेकै ..ट्वा परेर सुनेको सुनेकै | एकोहोरो सुन्दासुन्दा "टेप रिकर्ड " जस्तो भई सकेका रहेछन् | तल्लो कमिटीमा "टेप रिकर्ड " खोल्यो |
यो दलीय पद्धतिमा मान्छे "पार्टीको मान्छे' हुने दौडमा विवेकहीन , मगजविहीन अन्धा भएको रहेछ अनि कहाँ स्वतन्त्र विवेक नगुमाएको मान्छेले गफ गर्ने साथीभाई पाउनु ?
२०७३ माघ ५, धरान

Sunday, November 6, 2016

(लघुलेख ) मानसिकता

(लघुलेख )
मानसिकता
सरण राई
पंचायत कालभन्दा अगाडी जनता दोस्रो दर्जाका प्रजा वा रैती थिए | अहिले गणतन्त्र प्राप्तिपछि पनि केहीलाई आफु राजा महाराजाको उत्तराधिकारी भएको भ्रम परेको छ | राष्ट्रको ढ़िकुटिमा हालीमुहाली गर्ने यिनीहरु सबै नागरिकहरुलाई रैती सरह भएको भान दिलाउन बारम्बार उद्दत रहेको पाईन्छ |
जनताका सानो स्वार्थी तप्का आफ्नो स्वार्थका लागि उनीहरुलाई ख्वामित मानेर उनीहरुको दलालीमा लागेर जनतालाई दिग्भ्रमित पारिरहेका छन् | आज प्रश्न उठिरहेको छ -- आजका जनता बिजेता कि हरुवा ?
पहिला अथवा उहिले हरुवाहरु या त मारिन्थे वा दास बनाईन्थे | हार्नेहरुको कुनै स्थान हुदैनथ्यो | अहिलेको नेपाली नागरिकहरुले आफुलाई के सम्झने ? बिजेता कि हरुवा !
राष्ट्रको ढ़िकुटिमा हालीमुहाली गर्नेहरु नागरिकहरुलाई नागरिक मान्दैनन र नागरिक अधिकार दिन चाहदैनन् | उनीहरु बिजेता हुन् र सबै नागरिक उनीहरुका दास हुन् भनेझै व्यवहाररत छन् | सर्वस्वीकार्य संविधान चाहदैनन् | नागरिक अधिकार वहाली भएको देख्न चाहदैनन् | कस्तो विडम्बना !?
ए आजका नागरिक हुन् चाहने जनता ! लाखौको संख्यामा सडकमा उत्रेर , हजारौ सहिद भएर ल्याएको गणतन्त्र जनताले ल्याएको हो | जनताको लागि ल्याईएको हो | जनता बिजेता हो | बिजेता भएको जनताले कसैको दासको जस्तो मानसिकता बोकिरहनु ठीक हुँदैन |
(स्वतन्त्र विवेकशील भएर आफ्नो मालिक आफै हुनुहोस् ! देशको लागि र आफ्नो लागि आफै निर्णय गर्नुहोस् !)
२०७३ कार्तिक २०

Saturday, July 16, 2016

(लघुलेख ) आजको सोच

(लघुलेख )
 आजको सोच
सरण राई
सर्वसाधारण आममान्छे अग्रगमनको पक्षमा उच्च सिध्दान्त विचारको पछी लाग्न चाहन्छन तर अहिले त्यस्तो सबै उच्च विचार ओझेलमा परेको अवस्था छ | सबै शक्तिसाली दलहरुले अङ्गिकार गरेका सिध्दान्त र विचार देखाउने दाँत र मानिस झुक्काउने चाल  र जाल मात्र रहेछ भन्ने निष्कर्समा पुग्न विवस भएका छन् उनीहरु ! अब देश र समाज अगाडि बढाउने उर्जा कुन सिध्दान्त र विचारको आधारमा सञ्चारण र सञ्चालन गर्ने जटिल प्रश्न उठ्न थाल्नु दुखद स्थिति हो | अब को, कसलाई र कुन विचारमाथि विश्वास गर्ने ?
पढेलेखेका जान्ने बुझ्ने भनेर मानिएका समाज अगाडि बढाउने बुध्दिजिविहरु पुरै जिविकावादी भएका छन् | उनीहरुको ज्ञान निहित स्वार्थका लागि अनुचित तवरले प्रयोग भईरहेको छ | उनीहरु समग्र मानव समुदायको लागि नभएर एउटा पौराणिक झुण्ड एउटा फटाहा भ्रष्टाचारी समुह र अर्को राष्ट्रघाती शक्तिद्वारा परिचालित भैरहनु देश र समाजका लागि निराशाजनक बनेको छ | अब त्यस्ताहरूबाट के  आश गर्नु ? अझै बहुसंख्यामा इमानदार बुध्दिजिविहरु आधुनिक उन्नत समाज निर्माणको पक्षमा रहेकाले नै समाज उन्नतिशील छ |
अहिलेको प्रमुख चुनौती फटाहाहरुले मैलाएका सिध्दान्त विचार र आस्थालाई कसरी पुन: स्थापित गरेर विश्वासको वातावरण बनाउने हो ? यो काम गर्ने जिम्मेवारी इमानदार बुध्दिजिवी र इमानदार राजनैतिक कार्यकर्ताको काँधमा आएको छ | यो जिम्मेवारी पुरा गर्ने इमानदार बुध्दिजिवी र इमानदार राजनैतिक कार्यकर्ताहरु यो युगका महान् सपुत हुनेछन् !
२०७३ साउन २ , धरान

Monday, June 20, 2016

.(लघुलेख ) बिध्यमान राजनीति

.(लघुलेख )
बिध्यमान राजनीति
सरण राई
बिध्यमान दल , सरकार र तथाकथित नेताहरुलाई जनताको दु:ख, , ज्यान ,जीवनसँग मतलव छैन , कुम्ल्याउनु जसरी पनि कुम्ल्याउनु ... कुम्ल्याएर कुम्लोकै भरमा राज गरिरहने रटना जपना सपना बोकेकाहरु ...यस्ताहरुले राज गरेसम्म जनताको जीवन सहज हुन सक्नेछैन | यो तथ्य बुझाउने पनि कल्ले र ! सबै जान्ने बुझ्ने झोले दलाल भएका छन् ... स्वार्थी भएका छन् !
जनताको साँचो सरकार नबनेसम्म सर्वसाधारण आममान्छेको जीवन दु:खप्रद नै रहिरहने भो ...
आफ्नो जीवन बनाउन सबै सर्वसाधारण आममान्छेहरु जाग्ने बेला भो , अहिलेका हुक्के आसेपासे , भरौटे दलालहरुको पछी लागिरहे झन् दु:खका दिन लम्बिने निश्चित छ |
झुटो आशामा अल्झिएर बल्सिमा पर्ने माछा जस्तो भएर ज्यान जीवन गुमाउनु मुर्खता सिवाय के हुन् सक्ला र !? यो बुझेर सहि धार, सहि पध्दति , सहि विचार, सहि कार्यको पछाडि लाग्नु सर्वसाधारण आममान्छेहरुको कर्तव्य हो ! ढिलो छिटो यो बुझ्दै छन् सर्वसाधारण आममान्छेहरुले | सत्य तथ्य छानविन गर्दैछन सर्वसाधारण आममान्छेहरु !
सर्वसाधारण आममान्छेहरु एकताबध्द भएर आफ्नो हितका लागि राजनीतिमा अग्रसर हुन् थालेपछी मात्र देशको मुहार फेरिनेछ तथा सर्वसाधारण आममान्छेहरुको दु:खका दिनहरु पनि समाप्त हुनेछ |

२०७३ असार ६ , धरान
(अफगानिस्तानको आत्मघाती बिस्फोटमा ज्यान गुमाउनुहुने सबै नेपालीहरुप्रति हार्दिक श्रद्धान्जली ! एवं यसको मूल जरो कहाँ छ ? आफ्नै देशभित्र खोज्नुपर्ने भएकोले यो लेख अनाहकमा मारिएका तिनीहरुप्रति समर्पित गर्दै देश बन्न सके फेरी अरुको ज्यान त्यसरी जादैनथ्यो | सब मिलेर समाधान खोजौँ !!!) 

Friday, June 17, 2016

(लघुलेख ) असल प्रिय राजनीति

(लघुलेख )
असल प्रिय राजनीति
सरण राई
सानो चित्तले राजनीति हुँदैन |
मुलुक हाँक्ने , देश चलाउने ठुलो कुरा छाँटेर ' सानो चित्त माछाको पित्त ' भनेझैँ सानो चित्तले राजनीति हुँदैन |
'सानो चित्तले बोसो पाक्दैन ' भनिएझैँ सबैलाई समेट्न नसक्ने राजनीति दिर्घकालिन र असल राजनीति हुन सक्तैन |
सबै अट्ने असल राजनीति हाम्रो चाहना हो |
असल राजनीति--
असल सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक व्यवस्था --
असल शिक्षा र सिकाई --
 असल मानवीय आचरण --
 फेरी असल राजनीति....
( अर्थशास्रको गरिबीको चक्रझैँ यो चक्र दोहोरिन्छ ,कुनै एउटा मात्र --राजनीति -- सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक व्यवस्था -- शिक्षा र सिकाई -- मानवीय आचरणमध्ये एउटा मात्र पनि  असल भयो भने सबै असल हुन्छन् |)
यी सबै असल नभएसम्म राजनीति प्रिय र कन्चन हुँदैन |असल, कन्चन र प्रिय राजनीतिले मात्र हाम्रो जीवन सहज र रमणीय पार्न सक्छ |
असल, कन्चन र प्रिय राजनीतिका लागि हामी दु:खि.अपहेलित, सिमान्तिकृत, इमानदार सर्वसाधारण आममान्छेहरु सबै जुरुक्क उठ्नु पर्दछ ! सक्रिय हुनुपर्दछ ! खराबको पछी लागेर असल बन्न सकिँदैन | प्लेटोले भनेझैँ " तपाईँ आफुलाई असल सम्झनुहुन्छ भने सक्रिय हुनुहोस्, निष्क्रिय भएर ठाउँ खाली छाड्नुभयो भने त्यो ठाउँ खराबहरुले भर्नेछन् |"

२०७३ असार ३, धरान

Tuesday, June 14, 2016

(लघुलेख) नेपाली जनता

(लघुलेख)
नेपाली जनता
सरण राई
एकजना प्रसिध्द व्यक्तिले भनेको महावाणी सम्झन्छु - मलाई कसैले एक चोटी ठग्छ वा झुक्याउछ भने उसलाई धिक्कार छ तर फेरी उसैले दोस्रो चोटी पनि ठग्छ वा झुक्याउछ भने म आफुलाई धिक्कार छ | तर अब त मलाई बारम्बार ठगिने वा झुक्किने नेपाली जनता महान् छन् भन्ने पो लाग्न थालेको छ | झुक्किएजस्तो नाटक गरेर प्रत्येक पल्ट तथाकथित राजनेता भनाउदाहरुलाई गुल्दुङ खुवाएका छन् |
राजालाई लागेको थियो - जनतालाई भेडाबाख्रा सरह बनाएको छु, जे गरे नि हुन्छ | राणाहरुलाई पनि त्यस्तै लागेको थियो | बहुदले नेताहरुलाई पनि त्यस्तै लागेको थियो | तर उचित समय आए पछी ती सबैलाई गुल्दुङ खुवाए |
अहिले पनि गणतन्त्रवादी , क्रान्तिकारी, बहुरुपी छद्मभेषी पाखण्डी र विदेशी प्रभुको इशारामाा नाच्ने तथाकथित नेताहरु, बिस्तारवादीहरु , नवउपनिवेषवादिहरु, साम्राज्यवादीहरु जनतालाई भेडाबाख्रा सरह सम्झेर अनेक तिकडम गरिरहेका छन् |आफु अत्यन्त बुध्दिमान भएको र जनतालाई भेडाबाख्रा सम्झेर अनेकौ भ्रम छरिरहेका छन् | झुक्किएजस्तो गरेर जनता तिनीहरुका नौटंकी हेरिरहेका छन् |
उचित समय आए पछी ती सबैलाई गुल्दुङ खुवाएर आफ्नो भाग्य आफै निर्माण गर्नेछन् र आफ्नो मालिक आफै बन्ने छन् |
२०७३ असार १ , धरान

Sunday, May 15, 2016

(लघु लेख ) असल राजनीति



(लघु लेख )
असल राजनीति
सरण राई
तथाकथित वुध्दिजिवी, साहित्यकार ,कर्मचारी , पत्रकार आदि सबैले सबभन्दा बढी जातको पार्टिको र क्षुद्र स्वार्थको चस्मा लगाएका छन् |षडयन्त्रकारि राजनीतिले उनीहरुलाई त्यो चस्मा सधै लगाई रहने भेडाजस्तो बनाएको छ | उनीहरु जेलाई पनि हेर्दा त्यहि चस्माले हेर्ने हुँदा सत्य तथ्य देख्दैनन्, देख्छन् त्यो आफ्नो जातको हो कि होइन ? आफ्नो पार्टीको हो कि होइन ? आफ्नो क्षुद्र स्वार्थको अनुकुल छ कि छैन ?
सिध्दान्त , विचार आस्था गौण बनाएर आफ्नै जातको कुरा गरेर सरकारमा पुगिन्छ भने किन नगर्ने ? पार्टीको नाम लिने कुरा 'सुगरकोटेड' जातीय 'सुप्रिमेसी " कायम राख्नका लागि हो | जनता फ़ुटाऊ , राज गर | त्यति मात्र होइन पार्टी पनि फ़ुटाऊ अनि नेतालाई मन नपरेकाहरुलाई आन्दोलनमा धकेल |'सुगरकोटेड' जातीय 'सुप्रिमेसी " पार्टिभित्र कायम गर !
सिध्दान्त , विचार आस्थामा विश्वास हुनेहरु लड्न मर्न तयार थिए , अझै तयार छन् | जनयुध्द लडेका लडाकुहरु धेरै धेरै सहिद भए , बाँचेकाहरु कोहि शिबिर , कोहि कता परे , धेरै बेपत्ता ! सिध्दान्त , विचार आस्था स्वार्थले खाई दियो | षडयन्त्र गर्न जान्नेको लागि सिध्दान्त , विचार आस्था देखाउने दाँत भयो | सिध्दान्त , विचार आस्था अब राजनीतिमा बिक्ने एउटा चिज बनाइयो | तापनि सिध्दान्त , विचार आस्था मर्ने नासिने क्षणभङ्गूर कुरा होइन |
सिध्दान्त , विचार आस्थालाई कुना लगाइएको वर्तमान अवस्थामा जनताको भागमा पीडैपिडा ! षडयन्त्रकारिहरुको भागमा भोजैभोज मोजैमोज ! षडयन्त्रै षडयन्त्रकाे स्वार्थ राजनीति !
यस्तो राजनीतिले निकास देला ? जनताको सपना साकार पार्ला ?
षडयन्त्रकारिहरुले नचाहदानचाहदै पनि "असल राजनीति " प्रस्फुटन हुन थालेको छ | मुलुक "असल राजनीति " को प्रतीक्षामा छ !
२०७३ जेठ ३ , धरान
http://facebooklit.blogspot.com/

Thursday, September 3, 2015

(आवश्यक/अनावश्यक लधु चिन्तन) नेपाली राजनीति र साहित्य

(आवश्यक/अनावश्यक लधु चिन्तन)
नेपाली राजनीति र साहित्य
सरण राई
नेपाली राजनीति र साहित्य तिन प्रकारको रहेछ |
१.मन्त्र राजनीति र साहित्य
२. यन्त्र राजनीति र साहित्य
३.तन्त्र राजनीति र साहित्य
१.मन्त्र राजनीति र साहित्यको हालीमुहाली र ढलिमली
परापुर्वकालदेखि अहिले सम्म नै चलिरहेको छ | मन्त्र राजनीति भनेको खुसुक्क एउटाले अर्को नेताको कानमा सुनाउने र नेतालाई सिध्दान्त्च्युत गराउने अचुक मन्त्र प्रयोग गर्ने राजनीति हो | उदाहरणका लागि गिरिजाले प्रचण्ड को कानमा त्यस्तो मन्त्र सुनाए कि नेपालको जनयुध्दका सबै आकांक्षा र उद्धेश्यहरु ध्यस्तमात्र भएनन् कि यथास्थितिको प्रखर पहरेदारको रूपमा क्रान्तिकारी नेताहरु प्रकट भए |त्यो मन्त्रको प्रभावबाट अब नेताहरु मुक्त हुने छन् भनि आश गर्नु निरर्थक छ |यति उदाहरणले नै मन्त्र राजनीति कति डरलाग्दो हुन्छ भन्ने थाहा भईसकेको छ | तसर्थ मन्त्र राजनीतिको काट मन्त्र राजनीति नै हो भन्ने पनि बुझ्न आवश्यक छ |अब नचाहिने मन्त्र नसुनेर मुलुक र जनहित हुने नयाँ मन्त्र जप्ने वा सुनाउने बेला भएको छ | त्यो मन्त्र हो "नयाँ राजनैतिक शक्तिलाई साथ दिएर पुराना सढ़े गलेका पतित शक्तिहरुलाई पाखा लगाएर देशको नव निर्माण गर्ने |"
मन्त्र राजनीतिबारे कुरा गरिसकेपछि मन्त्र साहित्यबारे कुरा गर्दा नेपाली साहित्यको आकार विकास नै मन्त्रभित्र खुम्चिएर रहेको पाईन्छ | 'रामायण ' देखि 'माधवी', 'राधा' 'सेतो धरती' सबै मन्त्र साहित्य हुन् यति बुझिसकेपछि तिनीहरुले कसको प्रतिनिधित्व गर्छन र कसको सेवा गर्छन स्पष्ट छ | संकुचित मन्त्रवालाहरुको | मन्त्रवाला साहित्य अब युगपरिवर्तन सापेक्ष नभएकोले 'नयाँ साहित्य'को आवश्यकता भएको हो | संकीर्ण मानसिकता बोक्नेहरुले जति नोक्सान पुर्याए पुर्याए अब तिनीहरुलाई परास्त गरेर नयाँ सोचको राजनीति र साहित्यको विकास गर्नु पर्ने बेला भएको छ |
२. यन्त्र राजनीति र साहित्य- आजको युग यन्त्र युग हो | यन्त्रको विकास, प्रयोग र उपलब्धिले गर्दा विकसित देशहरु सम्पन्न भएका छन् र प्रगतिको उकालोमा निरन्तर उक्लिरहेका छन् | आधुनिक यन्त्र र प्राविधि नेपाली राजनीति र साहित्यमा पनि प्रवेश गराएर यन्त्र राजनीति र साहित्यको विकासद्वारा नेपालको पनि आधुनिकीकरण गर्दै पुरानो मानसिकताबाट उठेर नयाँ बैज्ञानिक सोच बोकेका नेपाली जनता आजको आवश्यकता भएको छ | यन्त्र राजनीति र साहित्यले यो आवश्यकता पुरा गर्ने छ |
३.तन्त्र राजनीति र साहित्य - तन्त्र भनेको पध्दति,नियम, सभ्यता विकास वा सभ्य राजनैतिक , सांस्कृतिक , सामाजिक र आर्थिक अनुशासनभित्र बाधिएको व्यवस्था (तन्त्र ) हो |सभ्य राजनैतिक , सांस्कृतिक , सामाजिक र आर्थिक अनुशासनभित्र बाधिएको व्यवस्था (तन्त्र ) हाम्रो देशमा पनि लागु होस् , हामी चाहन्छौँ , त्यसका लागि हामी सबै प्रयत्नरत छौँ |
सभ्य राजनैतिक , सांस्कृतिक , सामाजिक र आर्थिक अनुशासनभित्र बाधिएको व्यवस्था (तन्त्र ) हामीले नै ल्याउनु पर्दछ , त्यो व्यवस्था (तन्त्र ) हामी तन्त्र राजनीति र साहित्यको सुरुवात गरेर प्राप्त गर्न सक्छौँ |
समय बलवान हुन्छ समयलाई चिनौँ | हामीलाई थिचिरहेको सामन्ती निरंकुशताको आकाश सकिएर गणतान्त्रिक व्यवस्था हाम्रा निम्ति हामीले ल्याएका छौँ , यो कुनै नेताको इच्छाले आएको होइन | यसको सदुपयोग हाम्रा लागि हामी आफैले गर्नु पर्दछ |
('आवश्यक/अनावश्यक लधु चिन्तन'का आवश्यक चिन्तन स्विकार्ने र लागु गर्ने , अनावश्यक चिन्तन भए खण्डन गर्दै बहिस्कार गर्ने विवेकशिल पाठकहरुलाई हार्दिक स्वागत छ !)
२०७० भदौ १९

Thursday, July 23, 2015

मौलिक नेपालीपन — नेपालको जग

 लघु लेख
( नेपालीपनको  घोषणा पत्र )
मौलिक नेपालीपन — नेपालको जग

सरण राई

सार्वभौम स्वतन्त्र नेपालका  नेपालीहरूको अरु देशका नागरिकहरूको भन्दा फरक मौलिक नेपाली चरीत्र, चाल र चिनारी हुनु नेपालीपन हो, गौरव हो । नेपालको जग हो ।
नेपाली मौलिक चरीत्र, चाल र चिनारी चिनेर त्यसलाई सुदृढ पारेसम्म हामी नेपाली विश्वमा चिनिन्छौँ । नेपालीपनले एकताको सुत्रमा बाँधिएका नेपालीहरू बाँच्छौँ, गौरवसाथ बाँच्छौँ । नेपालीपन जोगाई रहन्छौँ ।
पोसाक, पेसा र पारिवारीक (नेपाल र विश्वमा छरिएर रहेका सबै नेपाली एउटै परिवार हो) संरचनामा नेपालीहरूको आफ्नै मौलिक नेपालीपन छ । त्यो हाम्रो आफ्नै हो । खाना नाना हाम्रो आफ्नै छ । भाषा, बोली व्यवहार आफ्नै छ ।  विविध जातजाति धर्मावलम्वीहरू मिसिएर नेपालीपन बनेको छ । विविध विचार, साहित्य, कला, संस्कार , संस्कृति नेपालीपनमा ठडिएको छ । हाम्रा आफ्ना मौलिक नेपालीपनमा आधारित राजनैतिक, सामाजिक, आर्थिक व्यवस्था हाम्रो रहेको छ । यसैको आधारमा हामी निरन्तर प्रगति गरिरहेका छौँ ।
यी हाम्रा मौलिक नेपालीपन नेपालीहरूले जोगाई राख्नु नेपाली दायित्व हो । मौलिक नेपालीपनको नेपाल । नेपाली मुटुमा स्थापित मौलिक नेपालीपनको जगमा ठडिएको नेपाल नेपालीहरूको प्राण हो ।  जीवन हो ।


२०७२ साउन ८, सुकेधारा, काठमाडौं

.(व्यापक छलफलका लागि प्रस्तुत.... सहमति जनाउन Like /Comment गर्नुहोला,फरक मत भएमा आफ्नो मत टिप्पणीमा लेख्नुहोला  | जो कोहीले पनि  share गर्न सक्नु हुुन्छ ।)

Friday, July 17, 2015

मुक्तक

  • मुक्तक


    सरण राई

    १.बबुरो जनता

    "बाटो न घाटो दगुर्छ लाटो' भएछन्
    खाएर गलगिध्द नेता मोटाएको हेरेर
    ' खान पाइन्छ कि' भ्रम पालेछन्
    भ्रान्तिमा महाआसे बबुरो भएछन् |

    २ .मगन्ते जन्माऊ

    भूकम्पको नाम गरि खरबौ अरबौ रुपिया आएको छ
    सिप इलम पिडितलाई नसिकाई मगन्ते बनाएको छ
    पी. आर .ग्रिनकार्डवालालाई नेपालीको के माया हुन्छ
    अरुको देश कङ्गाल बनाई आफ्नो बैक एकाउन्ट भर्नु छ |

    ३ .सजाय दलालहरुलाई

    'आकाशको फल आँखा तरी मर' मुलुकको विकाश बनाए
    पी.आर.,ग्रिनकार्डवालाले राष्ट्रीय सम्पति निकास लगाए
    भूकम्पको राहत सहयोग रकम समेत खाइ अघाई पचाए
    जागेका जनताले विदेशी दलाल राष्ट्रघातीहरुलाई तुर्लुङ्ग झुन्डाए |

    🔴
    क्रमश:
    (पढ्दा आफ्नो सुबिधानुसार पढ्नुहोला , असुबिधा भए प्रिन्ट/टाइप मिस्टेक सम्झनु भएमा भुक्तककार अनुगृहीत् हुनेछ |कति सिरियस मात्र हुने ? कहिले हल्काफुल्का मजाक गर्दा के फरक पर्ला र ! )






  • Sita Thapa sir muktak ta vuktak po vayechhe
    muktak ramro chha. sir

    • Sarankumar Rai धन्यवाद |मुक्तकको बहिनि भुक्तक ; याने भुक्तक= आफै भुक्तभोगी भइ भोगेको अनुभूति | व्यक्त गर्न नियम छन्दआदिले रोक्दैन | जसरी व्यक्त गरे पनि हुने -- भुक्तक
  • Dil Kumar Upreti मीठो अनि यथार्थपरक मुक्तक सर

Thursday, April 30, 2015

(लघु लेख ) महाभूकम्प र सुअवसर

(लघु लेख )
महाभूकम्प र सुअवसर
सरण राई
संकटले नै महान् मानिसहरुको परीक्षा लिन्छ | यस्तो परीक्षामा हाम्रा अधिकांस नेताहरु परीक्षाभन्दा पहिला नै फेल भैसकेका छन् |अहिले उनीहरुको नजर विदेशबाट भूकम्पपीडितका लागि आउने रकममा केन्द्रित रहेकोले उनीहरुका कार्यकर्ताहरु पार्टीको झण्डा लिएर चन्दा संकलनमा सडकमा ,सहरमा र गाउँ घरमा निस्किएका छैनन् | भूकम्पपीडितका लागि आउने रकम कसरी बढीभन्दा बढी कुम्ल्याउन सकिन्छ भन्ने कुरामा भ्रस्ट नेताहरु केन्द्रित छन् |यसको उदाहरण सिराहाको नेताले रोगले मरेका दुइ मानिसहरुको नाम पनि भूकम्पले मरेका मानिसहरुको सुचिमा राख्न प्रहरीलाई दवाव दिनु हो (कान्तिपुरमा प्रकाशित समाचार अनुसार)|
अब जनता सचेत हुने बेला भएको छ | सरकारको कामकारवाही चनाखो भएर अवलोकन गर्नु पर्ने भएको छ | राजनैतिक कार्यकर्ताले नेताको अन्धभक्त नभएर सहि राजनीति कस्तो हुन्छ बुझ्नु पर्ने बेला भएको छ | जनता /नागरिक नेता र दलहरुका दास होइनन भन्ने प्रमाणित गर्ने अवसर यो विनासकारी महाभूकम्पले प्रदान गरेको छ | सरकार,दल र नेताहरुको परीक्षा यो महाभूकम्पको संकटले लिइरहेको छ | उनीहरुको नैतिकताको परीक्षा भईरहेको छ | यो परिक्षामा फेल हुने नेता र दल सधैको लागि फेल हुनेछ |
यो महाभूकम्पको संकटले जनता/ सर्वसाधारण आम मान्छे सबै बुध्दिजिवी, ब्यापारी,राजनैतिक कार्यकर्ता आदि सबैको परीक्षा लिईरहेको छ | को कति नैतिकवान, धैर्यवान र इमानदार छ ,जांची रहेको छ | यो घडीमा हामी सबै नेपालीहरुले नैतिकवान, धैर्यवान र इमानदार भएर राजनीति,जातजाति,धर्म र निजि स्वार्थभन्दा माथि उठेर अभूतपूर्व एकता प्रदर्शन गर्दै यो संकटको सामना गर्न सक्यो भने मात्र हामी परिक्षामा उतिर्ण हुनेछौ |
यो पुस्ताले अनेकौ संकटको सामना गर्दै युग परिवर्तनको दायित्व पनि वहन गरी सकेको छ |अहिले त हामी एक्लै छैनौ , विश्वले साथ दिईरहेको छ |हामीले निर्वाह गर्नुपर्ने दायीत्व हामी सहजताका साथ पुरा गर्ने छौ | त्यसका लागि हामीले भ्रष्टहरुलाई चिनेर सधैका लागि पाखा लाउने यो एउटा सुनौलो अवसर हो |महाविपत्तिलाई शुसासन, सुव्यवस्था र कल्याणकारी राज्यको उदय र समग्र बिकाशको अवसरमा बदल्न सक्यौ भने हामीले भूकम्पलाई जित्ने छौ , भूकम्प हार्ने छ | सधैको लागि जित हाम्रो हुनेछ !
२०७२ बैसाख १८,सुकेधारा

Thursday, January 29, 2015

(लघु कथन ) सपना र जीवन

साहित्यमा नयाँ बिधा
(लघु कथन )
सपना र जीवन
सरण राई
....मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ | ऊ धार्मिक कथाको राक्षस , भुत वा डाका लुटेरा हुनसक्छ | हातमा नाङ्गो खुकुरी छ | म चारैतिर कोहि छ कि भनेर हेर्छु , कोहि मद्दत गर्ने मानिस छैन | म भागिरहेको छु , भागिरहेको छु ...ऊ खेदिरहेको छ , खेदिरहेको छ | भाग्दा भाग्दै भीरको छेउमा पुग्छु | अब भाग्ने ठाँउ छैन | ज्यान जाने नै भयो , म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लडन तयार हुन्छु | लड्दालड्दै पछाडी सर्दा भीरबाट झर्छु |
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु | मेरा प्राध्यापक साथीहरु पनि थुप्रै छन् | सम्मेलनबाट फर्किरहेका रे | तल सडकमा हेरेको... 'बन्द' रे | पुलिस र बन्दकर्ताहरु भिडिरहेका छन् | अलिक शान्त भएपछी ओर्लन्छौँ | रात परि सकेको छ | कोहि कता कोहि कता जान लागे | म चाहीँ अब कता जाऊ | अन्यौलमा थिए | " एक छिन पर्खिदै गर्नुहोस है " भनेर गएका हरि सर आउनु भएको छैन | यो परदेसको ठाँउमा रात कता बिताउने होला ? चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ | हरि सर आउनु हुन्न  | अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ |
अचानक आँखा खुल्छ |
टेन्सन समाप्त | आनन्द लाग्छ | अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ | आँखा खोलिनासाथ सपनाको दु:ख, सुख, रमाइलो ,नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दु:ख -सुख , चिन्ता- पीडा, हर्ष-आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष-आनन्द का साथ पीडा दु:ख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!

२०७१ माघ १६ बिहिबार , धरान |

Thursday, January 22, 2015

(लघु कथा ) नोकरहरुको लडाई

(लघु कथा )
नोकरहरुको लडाई
सरण राई
मालिकलाई आफ्ना गाउँलेहरु एकापसमा मिलेर सुख र शान्तिसग बसेको मन पर्दैनथ्यो | त्यसरी बसे भने उसले चाहेको कुराहरु पुरा हुन सक्तैनथ्यो | उसको दबदबा पनि कायम हुन सक्तैनथ्यो | उनीहरुलाई जुधाएर , उक्साएर र चर्को ब्याजमा ऋण सापटी दिएर मुद्दा मामिला गर्न लगाउथ्यो |
गाउँलेहरुले यी झगडा फसाद, गरिबी र अशान्तिको जड अशिक्षा हो भन्ने ठानेर एउटा पाठशाला खोल्ने सल्लाह गरे |
पाठशाला जस्तो कुरोको विरोध गर्न हुदैनथ्यो -- मालिकले जुक्ति निकाल्यो | पाठशाला खोल्ने कुरा मालिकलाई मन परेको थिएन | दुइजना नोकरहरुलाई गाउँ पठायो | पहिलो नोकरले पाठशाला डाडामा हुनुपर्छ भनेर प्रचार गर्यो | दोस्रोले गहिरामा हुनुपर्छ भनेर आधि गाउँलेहरुलाई 'कन्भिन्स ' गर्यो | मालिकसँग सल्लाह र सहयोग माग्ने भनेर उनको घरमा सबै गाउँलेहरु जम्मा भए पछी मालिकले सोध्यो - "पाठशाला कहाँ  खोल्ने ?"
"डाँडामा "पहिलो नोकरका साथै केहि गाउँलेले भने |
"गहिरामा " दोस्रो नोकरका साथै केहि गाउँलेले भने |
पाठशाला खोलिनु अगाडी नै डाँडामा खोल्ने र गहिरामा खोल्ने दुइ दलमा गाउँलेहरु विभक्त भैसकेका थिए | दुवै दलका नेताहरु भने मालिकका नोकरहरु नै भएका थिए |
डाँडामा कि गहिरामा ? वाद विवाद पछी गाउँलेहरु हात हालाहालकै अवस्थामा पुगे | गाउँलेहरु दुइ समुहमा बाड़िएर लडाई झगडा हुन् थाल्यो |
पाठशालाको कुरा हरायो | यो देखेर मालिक भने आनन्दले मुस्कुराउँन थालेको थियो |
२०७१ माघ ८

Monday, November 17, 2014

(फेस्बुके निबन्ध ) बुध्दी

(फेस्बुके निबन्ध )
बुध्दी

सरण राई


संसारमा चार प्रकारको बुध्दी पाइन्छन् | ती हुन् :-|
१.घोर बुध्दी
२.थोर बुध्दी
३.चोर बुध्दी ,र
४.फोर बुध्दी
घोर बुध्दिमा - बैज्ञानिक,आविष्कारक ,विध्द्वान ,दार्शनिक,लेखक आदि पर्छन् |
थोर बुध्दीमा - सर्वसाधारण आममान्छे ,राजनैतिक कार्यकर्ता (पार्टीका चौवन्नी सदस्यहरु ), सामान्य पाठक र दर्शकहरु आदि पर्छन्|
चोर बुध्दीमा - नेताहरु ,चाकडीवाज साहित्यकार ,ठेकदार , व्यापारीहरु आदि .पर्छन्|
फोर बुध्दीमा -हिंशा वा बल प्रयोगद्वारा अर्काको टाउको फुटाउने बलावानहरू ,.पार्टी फुटाउने नेताहरु ,जनताको टाउको फुटाएर शासन गर्ने तानाशाही सरकारहरु, आदि पर्छन् |
हाम्रो देशमा भने घोर बुध्दिबाहेक अरु तिनै थरिका .थोर बुध्दी .चोर बुध्दी ,र .फोर बुध्दी प्रशस्त मात्रामा पाइन्छ | हाम्रो देशमा पनि जुन दिनदेखि घोर बुध्दी पाउन थालिन्छ ,त्यस पछि मात्र देश सुन्दर बन्नेछ |

२०७१ मार्ग १ ,धरान |