राजनैतिक विकासमा कार्यकर्ता
राजनीति सर्वोपरी हुन्छ | मानिसको जन्मदेखि मरणसम्म प्रभावित पार्दछ |
समाज, सभ्यता, सुख , सम्पन्नता आदि सबै कुरा राजनैतिक वातावरणले निर्धारण
गर्दछ | राजनैतिक वातावरण राजनैतिक दलहरुको अवस्थाले निर्धारण गर्दछ |
|राजनैतिक दलहरुको अवस्था यसका नेता र कार्यकर्ताहरुको स्थिति , मानसिकता ,
आचरण , आचार र व्यवहारले निर्धारण गर्दछ |
राजनैतिक दलहरुका नेताहरुका स्थिति , मानसिकता ,
आचरण , आचार र व्यवहार कार्यकर्ताहरुमाथि निर्भर हुन्छ | कार्यकर्ताहरु
चनाखो छैनन् भने नेता निरङ्कुश हुन्छ | नेताको मनपरीले पार्टी बिग्रिन्छ ,
सिध्दान्त ,मुल्य, मान्यता र नीति ,नियमले पार्टी चल्दैन, नेताको सनकमा
पार्टी चल्न थाल्छ |पार्टीहरुमा यो रोग फैलिएपछी राजनैतिक वातावरण
बिग्रिन्छ | राजनीति बिग्रेर धमिलो पानीमा माछा मार्ने प्रवृति बढ्छ |
विकासोन्मुख देशका कार्यकर्ताहरु राजनीति राम्ररी बुझ्न नसक्ने अवस्थामा
रहेको हुँदा नेताहरुले भ्रमको खेती गर्न थाल्छन् | गरिवी , अशिक्षा र
अज्ञानताको अवस्थामा रहेको कार्यकर्ताहरुलाई चटकी कुरामा लोभ्याएर
नेताहरुले फाइदा उठाउछन् |
राजनैतिक कार्यकर्ता हुनु भनेको आफ्नो
सम्पूर्ण बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य धरौटी राखेर
सेनाको सिपाहीजस्तो हुनु होइन | अन्ध समर्थक हुनु होइन , पार्टीको खेताला
हुनु पनि होइन | आफ्नो अन्तरमनको पुकार नसुन्ने हुनु होइन | फटाहा नेता वा
पार्टीको गलत कामको पनि वकालत गरिरहनु राजनैतिक कार्यकर्ताहरुको दायित्व
हुँदै होइन |
राजनैतिक कार्यकर्ताहरुको चेतनाको स्तर जबसम्म
न्यून रहन्छ , उनीहरु भेडाबाख्रा सरह नै हुन्छन् | चाकडी चाप्लुसीको
बोलवाला पार्टीमा रही रहन्छ | सहि सैध्दान्तिक जगमा पार्टी निर्माण हुन
सक्तैन |राजनैतिक कार्यकर्ताहरुको बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता
,सोच र सामर्थ्य पार्टीको जीवन्तताको सर्तहरु हुन् |
बिरोधीहरुको
कुरै नसुन्ने , आफ्नो दलको मात्र सब कुरा ठीक भन्ने र सहि ढङ्गले सोच्न
नसक्ने कार्यकर्ताहरुकोस्थितिले सहि राजनैतिक विकास हुन सक्तैन र असल
राजनीतिको विकास पनि हुन सक्तैन | हामी सम्पूर्ण देशवासीहरु एउटै जहाजका
यात्रीझै होँ , देश बने हामी बन्छौँ , देश बिग्रीए हामी सप्रने कुरै हुँदैन
| जनतालाई बिभिन्न दलहरुमा भिभाजन गरेर भेडाबाख्राजस्तो आफ्नो निजि र दलगत
स्वार्थ पूरा गर्ने वर्तमान परिपाटी देश र जनताको हित अनुकुल छैन ,
त्यस्तो परिपाटी समाप्त पार्ने दायित्व कार्यकर्ताहरुको हो |
लहै
लहैमा स्यालको हुइयामा हिडाउने र हिडने कार्यकर्ता भइन्जेल देश उभो लाग्ने
कुरै हुदैन |कुनै दलको सदस्य हुनु भनेको आफु त्यस दलको नोकर, दास वा गुलाम
हुनु कदापि होइन | | दलको सदस्यहरु पनि वैयक्तिक रुपले पूर्ण स्वतन्त्र
छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरुले मात्र
असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |
यस्तो विवेकशील
स्वतन्त्र र सहि ढङ्गले सोच्न सक्ने असल कार्यकर्ताहरु आजको आवश्यकता हो |
देश हामी सबैको हो , देश सप्रे हामी सबै सप्रन्छौ | कार्यकर्ताहरु देश र
जनताका लागि हुन् | कुनै दल र नेताका लागि मात्र होइनन् | आफ्नो दलको
कार्यकर्ताहरु आफै मालिक हुन्, दलहरुका खेताला, दास, नोकर होइनन् | रोबोट
होइनन् | कार्यकर्ताहरुले आफ्नो महत्व आफै बुझेर देश र जनताकाे पक्षमा
स्वनिर्णय गर्न सक्ने अवस्थामा पुग्नु जरुरी छ | यसो भएमा कार्यकर्ताहरुले
असल राजनैतिक विकासमा अमुल्य योगदान गर्नेछन् |
२०७० पौष २२ , धरान