Followers

Wednesday, December 7, 2022

(लघुआत्मालाप) दिव्य ज्ञान)

 

(लघुआत्मालाप)
दिव्य ज्ञान)
 
सरण राई 
 
मलाई एउटा दिब्य ज्ञान प्राप्त भएको छ अहिले . पृथ्वी गोलो रहेछ |
म सुत्न लागेको छु , तर संसारको अर्को कुनाको मेरो साथी भर्खर उठ्न लागेको छ | मेरो निम्ति अहिले रात परिसकेको छ भने उसको लागि बिहान भएको छ |
वर्तमान त हामी दुवैको लागि सत्य हो . यथार्थ हो | र , साझ बिहान पनि यथार्थ हो | उसले अहिले बिहान हो भनेमा म कदापी मान्न सक्दिनँ ,त्यस्तै मैले साँझ हो भनेमा ऊ मान्न सक्दैन |
सत्य पनि जीवनको वास्तविक धरातलले निर्धारण गर्दो रहेछ , मेरो प्यारो साथी !
युध्दमा म मारिने सैनिक भए भने युध्द सम्पूर्ण मानव जातिको कलङ्क हो
युध्दमा म मार्ने सैनिक भए सम्पूर्ण मानव जातिको नयाँ युगको सुरुवाट हो
तसर्थ
म , तिमी , हामी कति निरीह रहेछौँ यो तुच्छ संसारमा .. . आफुले भोगेको , देखेको र बेहोरेको यथार्थ पनि सत्य हो भनेर सावित गर्न सक्दैनौँ |
( लौ मैले भन्ने कुरा भनि सकेँ , तपाईको भन्ने केहि छ ? हा हा हा ... एकछिन रमाइलो गरौँ हा ...हा ..हा.. .मरिलानु के छ र ..!.)
 

 

Saturday, October 8, 2022

(लघुआत्मालाप) उदेकलाग्दाे सत्य

 

(लघुआत्मालाप)
उदेकलाग्दाे सत्य
 
सरण राई
 
पछि २,३,४,५.... आउछन् । १ ठूलाे कि यसपछि आउने अङ्कहरू ?
आयु बन्द थैलीभित्र रहेकाे सिक्का रूपियाजस्तै रहेछ । बन्द थैली खाेलेर हेर्न सकिँदैन । कति छ थाहा हुँदैन । एउटा सिक्का (रूपिया)= १वर्षको मान्दा बढिमा १०० हुन सक्छ । थैलीभित्र थुप्रै छ भन्ने लाग्दा तन्नेरीकालमा लापरवाहीसाथ खर्च गरीन्छ।
बन्द थैलीमा कसैकाे पूरा १ पनि हुँदैन । कसैकाे १०भन्दा कम कसैकाे २०/ ३०/४०भन्दा पनि कम भएर तन्नेरी युवा कालमा मृत्यु हुँदा आफन्तहरू धेरै चिन्तित हुन्छन् । जब ६०भन्दा बढि खर्च हुन्छ अनि बाँकि कति हाेला ? मनमा खेल्न थाल्छ । फाराे गरि चलाउन पाए... लाग्न थाल्छ ।
जे जति बाँचिन्छ त्याे नै जीवन हाे ।बाँचुन्जेलकाे जीवन हाे । "मरेपछि लम्पसार ।" "मरेकाे भाेलिपल्ट दुई दिन ।" यस्ता कति उखान र भनाइ छन् जसले यथार्थ सम्झिरहन मद्दत गर्छ । तापनि मानिसभित्रकाे लाेभपाप मर्ने बेलासम्म पनि जस्ताकाे तस्तै रहिरहने देख्दा ... के भन्नू र !
तृष्णा कहिल्यै तृप्त हुँदैन । तृष्णाभन्दा वैराग्यमा सन्ताेष रहेछ । बुझेर पनि अजम्बरीझैँ तृष्णाकाे पछि लागिरहनु मानव स्वाभाव रहेछ ।
त्यसै भएर मान्छे बाँचुन्जेल के र कुन ठूलाे र के र कसकाे पछि लागेर जीवन सार्थक पार्ने ? अलमलमै रहनु र अलमलमै आनन्द लागिरहनु उदेकलाग्दाे सत्य रहेछ ।
🍎
२०७९असाेज १६,आइतबार, धरान
 

 

Wednesday, September 14, 2022

(लघुलेख) दास-लास

 

(लघुलेख)
दास-लास
सरण राई
दास मानसिकताकाे कारण नेता मालिक । नेता र दलकाे जीवनभर दास भयाे , मृत्युु पछि लास पनि पार्टीको झन्डा ओडाएर दास-लास हुने पध्दति नेपालका सिध्दान्तच्युत दलहरूले थालेका पालेका छन् ।
मरेपछि मुर्दा पनि पार्टिकाे मातहत कब्जामा । बिचरा जीवनभर पार्टीको दास रह्यो , मरेपछि पनि पार्टीको दासताबाट मुक्ति नपाउने । लास पनि दास । यस्तो दासहरू कति धेरै रहेछन् । सधै मानसिक दास , मरेपछि पनि लाश-दास ।
ठुलै याेगदान गरे राष्ट्रिय झन्डा ओडाउनु सम्मान हाेला तर पार्टीको थाेत्राे झन्डाकाे के तुक ?
देश भडखालाेमा हाल्नमा नेताभन्दा धेरै यी दास-कार्यकर्ता दाेषी छन् । यिनीहरू मरिसकेपछि पनि स्वत्रन्त्र हुँदैनन् । दास-लास बन्छन् ।
दासहरू भेडाजस्तै हुने भएकाले तिनीहरू न्याय , सत्य र सुन्दर भविष्यका पक्षमा साेच्न, बाेल्न र काम गर्ने नसक्ने भएकैले फाेहाेरी राजनीतिले तिनीहरूकाे जीवन अत्यन्त कष्टकर बनाएकाे छ । तर उनीहरू याे बुझ्दैनन् । अझ दु:खकाे कुरा उनीहरू बुझ्न चाहदैनन् ।
 
२०७४ मङ्सिर १७, धरान
 

 

लघुलेख— भाेटकाे कुरा

 

(लघुलेख)
भोटको कुरा
सरण राई
"तपाई फटाहा, चोर, लुटेरा, भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती , सबैभन्दा दुःखदायी कुरा बेईमान हुनुहुन्छ !"
"कसरी ? म आफ्नो सुशेधन्दा गरेर खाने सर्वसाधारण मान्छे !"
"गएको चुनावमा फटाहा, चोर, लुटेरा, भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती नेता वा उम्मेदवारलाई तपाईले भोट दिनु भयो कि भएन ?"
" अरु साथि भाईले जसलाई भोट दिनु भने , त्यसैलाई दिएँ |"
"त्यही त गल्ति भयो | भोट भनेको लोकतन्त्रमा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघातीहरुका विरुध्द लड्ने हाम्रो सशक्त शक्ति र हतियार हो | तपाईले भोट दिएका व्याक्ति फटाहा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , दुई जिब्रे , राष्ट्रघाती भएमा स्वतः तपाई पनि ति कुराहरुमा सहभागी हुनुभएन , त्यसको हिस्सेदार हुनुभएन ?"
"त्यो त हो |"
" त्यसैले राम्ररी सोचेर आफ्नो मतको सदुपयोग गरौँ ! मासु, रक्सि र पैसामा नबिकौँ , झुटो आश्वासनमा नभुलियाैँ ! गुण्डाहरु अघि नझुकौँ ! फटाहा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती का विरुध्द प्रयोग गरौ !"
"कुरा त ठिकै गर्नुभयो , तर ..हामी लाचार सर्वासाधारणहरू ..जसले पनि फकाउने धम्क्याउने ..,हामी त दास नोकर जस्तै भएका छौ !"
" तपाई मतदाताहरु दास नोकर होइन , मालिक बन्नकालागि आफ्नो अमुल्य भोटको सदुपयोग गर्नुहोस है !"
"तर .." सर्वसाधारण मतदाता भन्छ |
कति अफ्ठ्यारो स्थितिमा हामी रहेछौ , वातावरण धमिलो छ |फटाहा भ्रष्टाचारी, पाखण्डी, विदेसी दलाल, दुई जिब्रेहरुको पकडमा राजनीति छ |राजनीति फोहोर भएको छ | कसरी राजनीतिलाई सङ्लो , असल , पवित्र ,कन्चन र सुन्दर बनाउन सकिएला ?
२०७० भदौ ३० , धरान

 

(लघुआत्मालाप) बाँचेकै छु

 

(लघुआत्मालाप)
बाँचेकै छु
सरण राई
पत्नीकाे देहान्तपछि (२०७५मंसिर २५) निरन्तर व्यायामकाे रूपमा माेर्निङ वाक गरिरहेक‌ै छु । त्यही वाकिङले मलाई बचाईरहेकाे छ । एकल जीवन । बाचुन्जेलकाे जीवन हाे ।आफूलाई बचाउनु वा जीवन पूरा उपभाेग गर्नु आफ्नै हातमा छ ।
मधुमेहले भेटेपछि गुलियाे संसारबाट टाढा हुनै पर्छ । खानाकाे परहेज । सब तागतिलाे खाने चिजहरू गुलिया हुन्छन् । मधुमेह, उच्च रक्तचाप र मुटुकाे राेग सँगसँगै बस्ने दिदीबहिनीहरू हुन् रे । अलिकति जीवन व्यवस्थापनमा तलमाथि भयाे कि राेगकाे गुड शरीर हुन्छ नै ।
जेजस्ताे भएर भए पनि बाँचिएकाे छ । कति दाैतेरीहरू गईसके । म घरबाट निस्केर हिँड्दा मलाई नमस्कार भनेर बाेलाउनेहरू ताराबहादुर गुरूङ, धनबहादुर श्रेष्ठ , बद्री पलिखे, अम्बिका रिजाल, भगवान श्रेष्ठ , हर्कबहादुर तुम्बाहाम्फे, इन्द्रबहादुर लिम्बू, इन्द्रहाङ लिम्बू, याेगेन्द्र सुब्बा, सूर्यकुमार राई आदि थुप्रैजना गईसके । ध्यानबहादुर राई, ध्रुवदेव राई, प्रेम माङ्माजुङे सेर्मा, अटलमान राई, लाेकेन्द्रप्रसाद आचार्य आदिकाे श्रध्दाञ्जली स्मृति रचना लेख लेखी सकियाे । पहिलाे पल्ट इटहरीका मभन्दा दुई वर्ष जेठा ७७वर्षिय लेखनाथ घिमिरेकाे अभिनन्दन रचना लेख्न पाउँनु अहाेभाग्य सम्झेकाे छु । बाँचेकैले याे सब लेख्न पाएकाे छु । बाँच्नु सबैभन्दा ठूलाे कुरा हाे ।
पेन्सन खान थालेकाे पनि पनि १५वर्ष भएछ अर्थात साहित्यमा पूर्णकालिन भएर लागेकाे पनि त्यति वर्ष न‌ै भयाे । म साहित्य बाहेक अरु केही गर्दीनँ। साहित्य बिचरा ! फाेहाेरी राजनीतिकाे फाेहाेरी सहयाेगी भएर आफ्नाे स्व गुमाएकाे फाेहाेरी गुठ उपगुठमा विभाजित निमुखा दासी भएकाे छ । यस्ताे अवस्थामा साहित्य जगतमा असलि साहित्यकाे अस्तित्व जाेगाउन असलि साहित्यकारहरू जन्मनु पर्ने भएकाे छ । स्वतन्त्र असलि साहित्यकार भएर बाँच्नु झनै गार्हाे रहेछ ।
जसलाई आफ्नाे सम्झियाे त्याे त कहिले कहिले मानसिक पतनकाे खाल्डाेमा फसिसकेकाे हुँदाेरहेछ र आफ्नाे स्वार्थ बाहेक केही नदेख्ने अन्धाेहरूबाट बाँच्नमा सहयाेगकाे आशा गर्नु भयङ्कर भुल हुन्छ । आत्मनिर्भर हुनु सुखी जीवनकाे पहिलाे आधार हाे ।आफैले आफूलाई खुसी राख्नु दाेस्राे आधार हाे ।
२०७९भदा‌‌ै २
क्रमश:

 

Thursday, June 23, 2022

जानकारी

 

(लघुकथा)
जानकारी
 
सरण राई
 
"काेपा (बाजे) एउटा कालाे किराले मलाई टाेक्याे । त्याे किरा काेठामा आउनासाथ काेठै पूरा गनायाे । किरा विषालु त हाेइन ?",
"दबाई दल, अहिले टाेकेकाे दु:खिराखेकाे छ ?"
"छैन, तर मलाई शंका लागिरहेकाे छ, किरा बिषालु हाे कि !"
"कालाे बिच्छी त हाेइन। साङ्लेजस्ताे थियाे ?"
"अँ, अलिक सानाे थियाे ।"
याे सुनेपछि ७५वर्षिय मलाईआफुले जानेका गनाउने किराहरूबारे केलाउन थाल्छु । गनाउने किरा खेतबारीमा हुने गनाउने किराहरू ...नाम सम्झन सक्दिनँ । पुरानाे मेमाेरीजस्तै चाहिएकाे बेला ट्वाक्क नआउने ।
झट्का मगजमा लगाउछु बल्लबल्ल सम्झन्छु-- पधेँरा।
"पधेँरा हाे । गन्धे । गनाउछ तर बिषालु हुँदैन ।धानका पातहरू खाने पधेँरा.."
भनिसकेपछि साेच्छु -- आजभाेलिका शहरिया केटाकेटी , माेबाइल र नेटमा भुलिनेहरू ! आवश्यक जानकारी र अनुभवकाे कमि । पधेँरा भन्ने नाम सम्झन मलाई पनि हम्मेहम्मे परेकाे सम्झेर आफूबारे गम्न पुग्छु !
बाल्यकालमा पधेँरा मुठ्ठीमा लुकाएर साथीहरूलाई सुघाएकाे चकचक पनि सम्झिन पुग्छु ।
🌿
२०७९/३/१०
🌿इन्द्रबहादुर राइ


🌿

Monday, June 20, 2022

(लघुलेख) स्थानिय निर्वाचनपछिकाे राजनैतिक विश्लेषण

 

(लघुलेख)
स्थानिय निर्वाचनपछिकाे राजनैतिक विश्लेषण 
 
सरण राई
 
 
बाँचुन्जेलकाे अनुभूति म लेखेर प्रकट गरिरहेकै छु । बिग मेडियामा पहुच छैन । फेसबुक र सामाजिक सञ्जालहरूलाई नै कर्मथलाे बनाएर दुईचार कुरा भनिरहेकै छु । स्थानिय चुनावकाे परिणाम पछि फेसबुक र सञ्जाल पनि चुनावमय भएकाे छ ।
जनताकाे असन्तुष्टि चुनावका केही स्थानहरूमा देखिएकाे छ । चुनावकाे समग्र परिणाम हेर्दा देश छिटाेछिटाे युक्रेन बन्ने बाटाेमा अग्रसर देखिन्छ । दलहरूसँग राष्ट्रिय भिजन छैन । भिजनकाे अभावमा राष्ट्रिय सहमति छैन । राष्ट्रिय सहमति नभएपछि राष्ट्रिय गन्तव्य हुने कुरै भएन । संसदमा रहेका दलहरूले अनेकओलि नाटक मञ्चन गरेर एमसीसी पास गरिसकेपछि संविधान काेमामा गएकाे छ । असंग्लग्न राष्ट्र तीन चित । विदेशीहरूद्वारा अदृश्य पालितपाेसित
जेलेन्स्कीकाे जन्म छिट्टै हुने देखिन्छ ।
साेचकाे अभाव । राष्ट्रिय साेचकाे अभाव भेकुएम भएपछि अवाञ्चित साेचहरूकाे कालाे मण्डराउनु । जेलेन्स्की जन्माउने रिहर्सल सफल भई सकेकाे छ ।
सिध्दान्तहीन राजनीति । अराजनीतिक युवा झुण्ड तयार भएकाे देखिन्छ । खाउ पिउ माेज गर दाउमा रहेकाहरू । देशकाे भविषबारे साेचकाे अभावले राष्ट्रवादि शक्ति कमजाेर बनेकाे देखिन्छ । राष्ट्रियताकाे कुराे स्थानिय चुनावमा कतै सुनिएन ।
अझै समय छ , सचेत बनाैँ । सही र असल राजनीतिले मात्र जनअभिलाषा पूरा गर्न सक्छ । देश बनाउन र जाेगाउन सक्छ ।
🌿
२०७९ जेठ१०
🌿

🌿

Sunday, June 12, 2022

(लघुलेख) सम्झनामा मात्र

 

(लघुलेख)
सम्झनामा मात्र
 
सरण राई
 
कतिपय बस्तु र कुराहरू विस्थापित भईसके ।
सानाे छदा पहिलाे पल्ट "यताउता लर्बराउदा मुतमा भिज्याे जाङ्गे, ए साली , ज्यु भेनाज्यु" गीत ग्रामाेफाेनमा सुन्दा आश्चर्य ,सन्ताेष र असिम आनन्दकाे अनुभव । ग्रामाेफाेनभित्र मसिना मान्छेहरू हुन्छन् र तिनीहरूले गाएका रे। घाेप्टि घाेप्टि हेरिन्थ्याे कतै देखि हालिन्छ कि !
रेडियाे आयाे, टेप रिकर्डर आयाे । सि. डि. प्लेयर , ठूला ठूला साउण्ड बक्स । चक्का,रिकर्ड, क्यासेट,सि.डि हरायाे । अहिलेकाे कम्प्युटर, ल्यापटपमा सि.डि प्लेयर नै छैन । इन्टरनेटले जेलिएकाे विश्व ।
रङ्गिन दुनिया । ब्लाक एण्ड वाइट जमानामा जन्मेका हामी, नबाेल्ने सिनेमा, बाेल्ने तर श्यामश्वेत सिनेमा, पछि रङ्गिन सिनेमा । सिनेमा हलमा नगई सिनेमा हेर्न पाइदैनथ्याे । सिनेमा साेल्टिसित भेट्ने ठाउँ । अहिले सिनेमा त हातकाे माेबाइलमा (जुन जतिबेला चाहे पनि) ।
इन्साइक्लाेपेडिया ब्रिटानिका किताबकाे रूपमा छापिनै छाडेकाे छ । नेटमा फ्रि विल्किपेडिया । जे खाेज्याे ,साेध्याे टुप्लुक्क हाजिर ।
मैले देखेका चलाएका र उपभाेग गरेका धेरै कुराहरू--
एक पैसा माना घ्यु खाएकाे हात सुङ् सुङ्
एक पैसा माना त हाेइन, डेड रूपिया धार्नी सिकार , ४२रू ताेला सुन, १२५/- बिराटनगर काठमाडौं हवाइजहाजभाडा हुँदा बिध्दार्थी सहुलियतमा १०७/-मा हवाईजहाज पहिलाेपल्ट चढेकाे आदि कैयाै कुराहरू सम्झनामा मात्र ।
माना, पाथी, ढक तराजु, तुलाे, ढिकिजाँताे, पेरूङ्गाे,ढाकर ताेक्मा, हर्पे,ठेकी मदानी, गाग्री, लाेटा करूवा, डाडुपुनिउ, सिलाैटाेलाेहाेराेजस्ता कतिपय वस्तुहरू हराइ सके । घाेडा घरघरमा पालिन्थ्याे, घाेडाचडिकाे इज्जत थियाे । घाेडा आवश्यकता पनि (यातायातकाे विकास नभएकाे अवस्थामा) थियाे । साईकल बसले घाेडालाई विस्थापन गर्याे । घाेडा त अहिले तस्वीर खिच्ने मात्र । गाेरूकाे अवस्था पनि ट्रेक्टर आएपछि घाेडाकै जस्ताे हुन थालेकाे छ । कहाँ गाेरू जाेत्ने र गाेरूगाडा?
मान्छेले अरू जानवरहरूलाई जितेपछि मान्छेकाे विकास युध्दमा केन्द्रीत भयाे ।
उहिले दुइ सय वर्षसम्म दुई देशहरूले युध्द लडेका ईतिहास छ । डाल तरवारदेखि परमाणु बम, क्षेप्यास्र । युध्दकाे आकार रूप र विनास फेरिएकाे मात्र हैन भयानक भएकाे छ । पृथ्वीलाई सयाैचाेटि नष्ट गर्ने हतियार भण्डार छ रे !
डायनासाेरजस्त‌ै आफैले बनाएकाे हतियारले मानवलाई पनि सम्झनामा मात्र सिमीत नपाराेस् ...! युध्दउन्मादिहरूकै बाेलबाला छ । पृथ्वी मात्र नभएर मान्छे मास्ने मान्छेले नै बनाएकाे ध्वंसात्मक हातहतियार परमाणु बमहरूबाट बाँच्ने कसरी ... ? कसरी !??
🐲
२०७९/२/२८र ३०
🌹🌹

🌹

Tuesday, June 7, 2022

(लघुलेख) मान्छेकाे सभ्यता ?

 

(लघुलेख)
मान्छेकाे सभ्यता ?
 
सरण राई
 
सभ्यता? सभ्यता मान्छेकाे ।
आज मानिस आफूलाई सभ्य ठान्छ । याे सभ्यता सर्भाइबलकाे सभ्यता हाे । शारिरीक रूपमा निर्धाे उसले अरू जानवरहरूसित लड्दा उसले आविष्कार गरेकाे हतियार उल्लेख्य भएकाे छ र आज मानिस मात्रकाे एकछत्र राज्य विश्वमा कायम भएकाे छ ।
मानिसकाे आदिम प्रवृत्ति युध्द पनि रहेछ । ठूला,साना र विश्वयुध्दका डरलाग्दा घट्नाहरूले ईतिहास लेखिएकाे छ ।हार्नेहरू मासिएका छन्, जित्नेहरूकाे मर्यादा सभ्यता भएकाे छ । अहिले पनि रूस युक्रेन युध्दले तेस्राे विश्वयुध्द ल्याउने सम्भावना देखिदै छ ।
अहिले आणविक हतियार, क्षेप्यास्र र अन्य भयानक हतियारहरूका आतंककाे चपेटामा विश्व छ । हतियार माफियाहरू हतियार बेचेर अकुत सम्पत्ति कमाइरहेका छन् ।
हतियार नभई देशकाे अस्तित्त्व नै नरहला कि ! हतियार किन्ने थुपार्ने बनाउने हाेडवाजी शिखरमा पुगेकाे छ ।
शस्रअस्रकाे अगाडि असल कुराहरू ओझेलमा पर्दै छ । काेविद १९ले घटाउन नसकेकाे विश्व जनसंख्या युध्दले घटाउने हाे कि ? मानव जाति नै डायनासाेरझैँ मासिने हाे कि ! कहाँ छन् शान्तिका लागि कार्यरत संस्थाहरू , चिन्तकहरू र शान्तिका दर्शनहरू !
सभ्यताकाे आरम्भदेखि नै युध्द र शान्ति, खराब र असल सँगसँगै निरन्तर सतत बगिरहेकै छन् ।धेरैजसाे असलकाे जितले सभ्यता थामेकाे छ । अझै आशा गराैँ सत्य, न्याय, शान्ति र असलक‌‌ै जित हुने छ । असलका जितका लागि खेल्न सकिने भुमिका के हाेला ? छलफल गरेर निष्कर्ष निकाल्दै मानव सभ्यता जाेगाउने दायित्त्व अहिले मानव जातिकाे दायित्त्व भएकाे छ । याे दायित्त्व पूरा गरेमा मानिस मानिस भई बाँच्न सक्ने छ ।
🌿
२०७९जेठ २४
🌿


🌿

Saturday, May 14, 2022

(लघुसंस्मरण) हात मिलाउनु

 

(लघुसंस्मरण)
हात मिलाउनु
 
सरण राई
 
एम.ए.पढ्दै गर्दा काठमाडौंकाे रङ्गशालामा ब्याटमिन्टन प्रतियाेगिताकाे पुरस्कार वितरण समाराेहकाे सम्झना अविस्मरणीय भएकाे छ दुईवटा परिदृश्यले ।
साेम्याच चाइनिज र नेपाली महिला खेलाडिले खेलेका थिए, खेलमा एउटी चाइनिज खेलाडिले सर्कसमाझैँ तिघ्रा भुँइमा टसाएर झरिसकेकाे कर्क फर्काएकी थिईन् ।
पुरस्कार वितरण तात्कालिन बडामहारानी ऐश्वर्यले गरेकी थिइन् । बडामहारानीले विदेशी खेलाडीलाई पुरस्कार दिएपछि हात मिलाउथिन् भने नेपाली खेलाडीले भने पुरस्कार थापेपछि हात मिलाउने कुरा त परै रह्याे स्वास्ती गर्दै फर्कनु पर्ने देख्दा च्वस्स मनमा बिझेकाे थियाे । रैती नेपाली ।
गणतन्त्र आयाे । एउटा कार्यक्रममा मन्त्री प्रमुख अतिथी थिए । मन्त्रीकाे स्वागतमा स्वादेशी विदेशी लामबध्द उभिए । मन्त्रीले विदेशीहरूसँग हात मिलाए, स्वदेशीसँग हात नमिलाई मंञ्चतिर लागे । नागरिक हुन नसकेका रैतीकै अवस्थामा नेपाली जनता ।
🌿
२०७८बैशाख ३०,धरान
🍀

🍀

Monday, May 9, 2022

(लघुलेख) अब मलाई के चाहिन्छ ?

 

(लघुलेख)
अब मलाई के चाहिन्छ ?
 
सरण राई
 
७४वर्ष एक महिना पूरा गरेपछि याे प्रश्न मनमा उठ्न थालेकाे छ । मान्छे परिस्थितिकाे दास भन्छन् ,हाे रहेछ ।
उमेरकाे हिसाबले दस दस वर्षको अवधि आआफ्नो विशेषता बाेकेर आउँदाे रहेछ । दस वर्षको उमेरसम्म केटाकेटी ! दस वर्षको उमेरभित्र पनि पाँच पाँच वर्षकाे अवधिकाे अर्कै फरक गुणहरू जस्ताे पाँच वर्ष मुनिकाे बालक ।६ वर्ष पछि अलिक अर्कै -- नयाँनाैलाे सिक्ने उमेर । त्यस्तै २०-२९/ ३०-३९/४०-४९/५०-५९/६०-६९/७०-७९/८०-८९/९०-९९/उमेर अवधि ...
७५भन्दा अगाडिका सबै भाेगियाे । थाहा पाइयाे । यसबारे भन्नै परे-- मैले मेराे प्रकाशित १३वटा पुस्तक, ब्लग र युट्युबमा भनिसकेकाे छु ।सुन्नु नसुन्नु आआफ्नै खुसी हाे ।
अब भावि दिनबारे
म के चाहन्छु ? समयले अर्थात वृद्ध उमेरले मानिसलाई खुम्चाउदै लादाे रहेछ । "असिमीत चाहना सिमीत साधन" अर्थशास्त्रमा खुब पढियाे भनियाे ४०वर्ष पढाइयाे । चाहना त अझै असिमीत छ तर उमेरले इच्छा पनि खुम्चाउदाे रहेछ । अब मलाई चाहिने के हाेला?
अनुत्तरित ! अब प्राय सबै भाेगियाे कुवाकै भ्यागुताे भएर भएपनि । कुवा नै भ्यागुताकाे संसार हाे ।
मान्छेकाे स्वभाव आजभाेलि १००% यान्त्रिक भएकाे छ । ± भएकाे छ । याे मेराे बुझाइ एकलकाटे हुनसक्छ । सधै सुविधा सुविधैमा जीवन काट्ने र सर्वसाधारण आममान्छे भएर जीवन गुजार्ने मेराे निष्कर्ष मिल्दैन नै ।
सर्वसाधारण भई बाँचेर सर्वसाधारणकै लागि सक्दाे गरेर बाँचेकाेमा मलाई याे बचाइप्रति गाैरव छ । अझै म बाँचुन्जेल सर्वसाधारणकै बचाइ चाहन्छु । सर्वसाधारण भएरै मृत्युु वरण गर्न मन पराउछु जुन मृत्यु जिउँदाे मानिसकाे हातमा (इच्छामा) हुँदैन ।
जाे जतिले अनेक तिकडम षड्यन्त्र जालझेल धुर्तता गरेर सांसारिक सम्पत्तिका सुखभाेग गरे पनि तिनीहरू पनि कालका निम्ति समान छन् । तिनीहरूकाे झुठाे घमण्ड...
Death the Leveller भन्ने उहिले ९/१०कक्षामा पढेकाे कविताले भनेझैँ मृत्युले सबलाई समान बनाइ दिन्छ । मृत्युपछि सब समान !
🌿
२०७९बैशाख २६,धरान
🌿

🌿

Thursday, October 14, 2021

(लघुनिबन्ध) लिएर जाने केही छैन

 

(लघुनिबन्ध)
लिएर जाने केही छैन 
 
सरण राई
 
जीवनका सुरुका समयहरूमा जुट्दै अाउछन्- बलबैश, तागत , जाेशजाँगर, साथीसँगी, पदप्रतिस्था, धनसम्पत्ति साथै साथदिने जीवन साथी, छाेराछा्ेरी,ज्वाँइबुहारी ,नातिनातिना अादि अादि । सबैतिरबाट साथ पाईन्छ । साथ समयले पनि दिन्छ उमेर छउन्जेल ।
जब उमेर ढल्कदै जान्छ उपराेक्त कुराहरूले
क्रमश: छाड्न थाल्छ । सबैभन्दा पहिला स्वार्थी साथीहरूले, बलबैंश तागतले अनि अाफना भनिनेहरूले पनि साथ छाेड्छन् । सबै अाफूलाई मन परेकाे वस्तुहरू, मनाेरञ्जन,साैन्दर्य र सुन्दर चिजहरू अन्तमा स्वास्थ्यले पनि छाेड्न थाल्छ ।एक एक कुराहरू छुट्दै जान्छ । रमाइलो संसार पनि एक दिन छुट्छ । बाँकि अाफूसित के रहन्छ र ?
अाफ्नाे अन्तिम क्षणमा मनमा सन्तोष रहनु ठूलाे कुराे हाे । बाचुन्जेल अन्याय , अत्याचार र असत्य काम गरीएन भने अाेठमा अप्रतिम मुस्कान बाेकेर गाैतम बुध्दझैँ सन्ताेषसाथ मर्न सकिन्छ ।
अर्कालाई थिचोमिचो , अन्याय असति काम गरेर जतिसुकै धन थुपारेकाे भए पनि लान पाइने हाेइन । अाखिर लिएर जाने केही हाेइन ।
लिअाे टाल्सटायले भनेझै "जबसम्म मसँग दुई जाेर लुगा र दुई छाक खाना हुन्छ , म संसारमा निरन्तर चलिरहेकाे पाप कार्यमा सरीक भईरहेकाे हुन्छु ।"
अाखिर लिएर जाने केही हाेइन भने किन संसारमा निरन्तर चलिरहेकाे पापमा सरीक हुने ?
 
२०७५असाेज २६,सुमेरु अस्पताल
 

 

Monday, October 11, 2021

(लधुलेख) हारकाे मजा

 


(लधुलेख)
हारकाे मजा
 
सरण राई
 
जनतामार्काका हामी हारमा आनन्द पाउछाै । राम्रो काम गर्नेलाई छाडेर नराम्राेलाई राेज्छाैँ ।
अन्धभक्त अन्धपिछलग्गु हुन विवेक बुध्दि धराैटि राखेर खाटि जनतामार्का मतदाता बन्छाैँ ।
नराम्रो राेजेपछि राम्रो आशे भजने भक्त बन्छाै र दुर्घगन्धित फाेहाेर रसातललाई रमणीय स्थान सम्झने महामुर्ख हुन्छाैँ ।
यस्ता हामी किनबेचकाे पशुमा रूपान्तरण भएकैले बारम्बार थाहै नपाई (धेरैजसाे थाहा पाईपाई) बेचिन्छाैँ । बेच्नेलाई महान् मान्नु र उसैकाे दास बन्नु पाैरख बहादुरी । इमानदार हुनु रे आफै बेचिएर ।
बेचिनेले माेल पाउने कुरै हुँदैन । बेचिनेहरू सदैव हरिकङ्गाल गरिब रहने हुनाले सदैव किनबेच हुने नै भयाे । यस्तो स्थिति रहेसम्म बेचिनेहरू हारमा आनन्द लिने यन्त्रमानव हुन्छन् । यसै भएकाेले प्रजातन्त्र , लाेकतन्त्र, गणतन्त्र नाैटङ्की बन्दैछ ।
यस्तो पीडाबाट वच्न के गर्नुपर्ला ? यन्त्रमानवहरूले नै साेच्ने बेला भएको छ। तर यन्त्रमानवहरू साेच्न सक्तैनन्, चाहदैनन्। यस्ताे अवस्थामा कसरी सुधार ल्याउन सकिएला ?
सजिलाे उपाय -- यदि तपाईं देश समाजकाे भलाइ चाहनुहुन्छ भने यन्त्रमानव नबन्ने, आफ्नाे दायित्त्व पूर्णरूपमा निर्वाह गर्ने र बुध्दि विवेक स्वतन्त्र भई प्रयाेग गरेर खराबलाई परास्त गर्न असलकाे पछि लाग्ने वा असल बन्न निरन्तर प्रयत्न गर्दै सबैलाई यही मार्ग अवलम्बन गर्न प्रेरित गरिरहे फटाहाहरूकाे राज समाप्त भई हामी सर्वसाधारण आममान्छेले चाहेकाे सुनाैलाे दिन आउने छ ।
जय सर्वसाधारण आममान्छे !
🌿
२०७५ असाेज २४.
थपथाप २०७८ असाेज २४
🌹

🌹

Thursday, July 15, 2021

(लघुआत्मालाप) बाँच्नुकाे तुक

 

(लघुआत्मालाप)
बाँच्नुकाे तुक
 
सरण राई
 
बाँच्नु सबैभन्दा ठूलाे हाे । बाँचुन्जेलकाे जीवन हाे । बाचुन्जेल मात्र भाेग्न गर्न देख्न लेख्न जे चाहेकाे हाे गर्न सकिन्छ ।
बाँच्नु पूरा आफ्नाे हातमा नभए पनि ७५प्रतिशत चाहिँ आफ्नाे हातमा हुन्छ । बाँच्ने कसरी ? कसका लागि र केका लागि बाँच्ने ?
कतिपय अवस्था आफ्नाे हातमा हुँदैन । निरंकुश सरकार, व्यवस्था र साेच भए सर्वसाधारण आम मान्छेकाे कुनै मानेमाेल हुँदैन । सर्वसाधारण आममान्छेहरू शासकहरूका फगत नाेकर दास शाेषणका पात्र मात्र हुन्छन् । यसरी राजनैतिक व्यवस्था-प्रणाली मानिसहरूका बचाइका प्रमुख मुलजग हुन्छ ।
बाल्यकाल र केटाकेटीकाल परिवार र समाजआस्रित अवस्था हुनाले पारिवारिक सामाजिक राजनैतिक अवस्थाले निर्धारण गर्छ । राज्यले बालक केटाकेटी कसरी हुर्कुन्? कस्ताे शिक्षा,तालिम र स्वास्थ सुबिधा पाउन् ? भन्ने चाहन्छ र दिन्छ त्यसले बालक र केटाकेटीकाे हुर्काइ निर्धारण हुने हुन्छ ।
युवाकालमा पाइने शिक्षा, तालिमले मान्छे के बन्ने हाे निर्धारण गर्छ । पढ्ने अवसर पाए प्राध्यापक, शिक्षक, डाक्टर, नर्स, इन्जिनियर, कुनै बिषयकाे विशेषज्ञ, प्रशासक हाकिम, कर्मचारीआदि हुने हुन्छ । पढ्न नपाए कुल्ली, तल्लाे तहकाे श्रमिक किसान मजदुर हुन्छ ।
मान्छे कति उमेरसम्म बाँच्छ ? स्वास्थ्यसुविधा खानपान आचार व्यवहार मानसिक अवस्था र राजनैतिक परिपाटि , युध्द वा शान्तिकाे अवस्था विकास आदिमाथि निर्भर रहन्छ ।याे अवस्था २५ प्रतिशत भए पनि आधारभूत अवस्था हाे जसमाथि व्यक्तिकाे नियन्त्रण हुँदैन र याे अवस्था नस्वीकारी धरै छ‌ैन ।
अब मान्छेकाे आफ्नाे हातमा रहेकाे ७५प्रतिशत के के हाे त ? ऊ कति मिहेनत गर्छ, उसकाे आचार विचार आहार व्ववहार र साेच माथि २५प्रतिशत बचाइ निर्भर हुन्छ भने बाँकि ५० प्रतिशत ऊ कसका लागि र केका लागि बाँच्छ ? भन्नेमा निर्भर रहन्छ ।
समाजसेवा जनसेवा वा देशकाे उत्थानका लागि सत्य र न्यायकाे पक्षमा उभिएर बाँचेमा ऊ मृत्युपछाडि पनि जिउँदा मानिसहरूका हृदयभित्र बाँच्छ ।
यी माथिका व्याख्याहरू खान पाउनेहरूमाथि मात्र लागु हुन्छ । भाेकाहरू -- पेट भर्न पाए बाँच्नेहरूका र अघाएकाहरूका समस्या एक‌ै प्रकारका हुँदैनन् । भाेकाहरूकाे सम्पुर्ण ध्यान खानामा रहन्छ र खानाकाे आश देखाएर अघाएकाहरूले उनीहरूलाई नाेकर चाकर अराैटे भराैटे बनाएका हुन्छन् ।यस्ता बिचराहरू केका लागि बाँच्ने भन्ने साेच्न सक्ने अवस्थामा नै हुँदैनन् । यस्ताे व्यवस्था अवस्था अघाएकाहरू सधैं राखिरहन प्रयासरत रहन्छन् । भाेकाहरूले यस्ताे अवस्था बदल्न नसके उनीहरू बाँचेकाे मरेकाे कुनै तुक हुँदैन ।
राष्ट्रघाती, जनद्राेही र भ्रष्टाचारीहरू तामझामसाथ बाँचिरहेकाजस्ता देखिए पनि ती त जिउँदा लाससरह हुन् । उनीहरू बाँच्नुकाे के तुक ? तसर्थ बाँच्नुकाे सार्थकता चाहनेले राष्ट्रघात जनघात कदापि गर्न हुँदैन । सत्य र न्यायकाे पक्षमा इमानदारीसाथ बाँचे मात्र बाँचेकाे मानिन्छ ।
आफू किन ? केका लागि ? कसका लागि ? बाँच्ने भन्ने निर्क्याैल गरेर इमानदारीसाथ दायित्त्व निर्वाह गरेर बाँचेकाे सार्थक हुन्छ ।
जीवनमा दस दस वर्षकाे जीवनावधिले जीवनकाे फरक फरक रूप धारण गर्दाे रहेछ । दस वर्षकाे उमेर सम्म एक प्रकारकाे, एघार देखि बीस वर्षको अवधि, २१-३०,३१- ४०, ४१-५०, ५१-६०, ६१-७० का जीवन अवधि स्वत: फरक फरक किसिमका हुँदा रहेछन् ।
७१ भन्दा माथिकाे उमेर समूहका मान्छेहरू केही न केही काम कुरामा विशेषज्ञ हुने भएकाले मानव सम्पत्ति हुन् भन्दा अत्युत्ति हुन्न । धेरै मानिसहरू त ७१ मुनिकै उमेरमा गईसकेका हुन्छन् । ७१ माथि बाँच्नेहरू साैभाग्यशालीहरू हुन् । अविकसित पिछाैटे हाम्राे समाजमा तिनीहरूलाई "काम नलाग्ने बुढा" भन्ने चलन छ ।
यस्ताे समाजमा मजस्ता ७१काटेकाहरूले आफ्नाे उपादेयता र आैचित्य पुष्टि गर्न आफ्नाे रुचि विशेषताकाे विषयमा केही न केही गरीरहेमा बाँचेकाे तुक रहन्छ । समाजले मान्यता दिओस् नदिओस् त्याे समाजकै चिन्ताको विषय हाे । कर्मण्य वाधिकारस्य माफलेसु कदाचन । अस्तु ।
🌹
२०७८ असार ३१
🌹

🌹

27 Comments

Sunday, July 11, 2021

(लघुआत्मालाप) काल पर्खदा

 

(लघुआत्मालाप)
काल पर्खदा
 
सरण राई
 
आफना नजिकका साथीभाइकाे देहावसानले भित्र जरैदेखि हल्लाएर झन् जर्जर पार्छ । जीवनसाथीकाे दुई वर्ष सात महिना अघि भएकाे निधनले अकस्मात नाैरङ्गी एकल जीवनमा पछारेपछि मज्जालि कहाँ हाँस्न बाँच्न सकिएकाे छ र ! तर पनि बाँचिएकाे छ । बाँच्नु सबैभन्दा ठूलाे कुरा रहेछ ।
बाँच्नका लागि कुनै न कुनै गन्तव्य धेय चाहिन्छ र आफू बाँचेकाे प्रयाेजन अरूका आँखामा पनि देखाउने काेसिसमा जीवन बाेझ नहुन सक्छ । तर पनि वृध्दावस्थामा काल पर्खन त्यति सहज हुँदैन । मनका विविध अन्तर तहहरूमा अनेकन अशुभ नमीठा दु:खदायी तरङ्गहरू तरङ्गीत भईरहन्छ । विगतकाे सम्झनाले पाेल्छ, आगतकाे कहालीलाग्दाे दृश्य नचाहदा नचाहदै पनि झलझली देखा पर्दा हरेश लाग्छ, त्याे बेला सहारा मनले खाेज्छ। तनले स्याहार खाेज्छ । काल पर्खिनु कति मुस्किल !
मृत्युका विविध रूपहरू देखियाे । प्रियजनकाे विछाेडले छियाछिया पारेकाे मुटु दुख्दा जस्तै कठाेर हुँ भन्नेकाे पनि आँसु चुहुन्छ तरतरी । सप्तरङ्गी जीवनभर हाँसेकाे हाँसाे सुख आनन्द साँच्चै थियाे त ? बुढेसकालमा लाग्न थाल्छ ।
पत्नीकाे वियाेगले पाेल्दा देड वर्षकाे अवधिमा "नाैरङ्गी" एक सय एक लघुकथा र "फुली" कथा सङ्ग्रह जन्मियाे, वह तह लगाउदा र मृत्युबाेध हुँदा । मृत्यु र जीवनबारेका अनुभूतिहरू मेरा लेखनमा इमानदारीसाथ पाेखेकाे छु । बाँचुन्जेलकाे जीवन हाे । मरेपछि रहने त सम्झना र समाजमा उसले दिएकाे विचार याेगदान र कृतीहरू मात्र रहने भएकाे हुँदा मरिसकेका ठूला असल मान्छेहरूलाई जिउँदाझैँ सम्मान र श्रध्दा गर्छाै ।
काल पर्खिने याे अवधि स्वर्णिम सर्वाेच्च बिट मार्ने (finishing touch) काे कसिमा घाेटिने अग्निकुण्ड पनि भएकाेले यही अवधिमा धेर‌ैजसाे चम्किने कि मैलिएर पत्तुर हुने हाे ? डरलाग्दाे परीक्षाकाे छाेटाे तर महत्त्वपूर्ण मृत्यु नजिककाे अन्तिम माैका पनि रहेछ । कतिपयलाई याे माैका उपलब्ध हुँदैन (दुर्घटना अल्पायुमा मर्नेहरूलाई)।
मैले भने याे बिट मार्ने अवधि पाएकाे छु । जीवनकाे अधिकांश अनुभव भाेगेकाे छु । पत्नीभन्दा अगाडि मरेकाे भए नाैरङ्गी जीवनकाे अनुभूति मलाई थाहा हुँदैनथ्याे । जति भाेगिन्छ थाहा पाइन्छ त्यति नै आफ्नाे पूर्ण अनभूति मान्नु पर्ने बाध्यता हुँदाे रहेछ । याे पनि जीवनकाे नियम रहेछ । एकल नाैरङी जीवनमा प्रवेश गरेपछि मैले जीवनका तितामीठा पूर्ण स्वाद चाखेँ । पीडा पीर वेदना आँसु चाखेँ । त्यसैले पनि "नाैरङ्गी" र "फुली" यथार्थपरक चित्रण बन्न सफल भएकाे छ ।
"उछिनपाछिन दाैड जीवनकाे
मृत्यु छ प्राणसँग सधै टाँसिएकाे"
काे कति बेला जान्छ थाहा नहुनु जीवनकाे खेल झेल का‌ैतुक रहस्य हुनाले बाँचुन्जेल अन्याय उत्पीडन नगरि सत्य र न्यायकाे पक्षमा उभिएकाे खण्डमा अन्तिम पलसम्म पनि बाँचेकाे सार्थक हुन्छ । मर्नु त पर्छ नै । तर सत्य र न्यायकाे पक्षमा उभिनेलाई मर्ने बेला कुनै पछुताे हुँदैन ।
🌹
२०७८ असार २५,२६
🌹

🌹

Wednesday, June 9, 2021

(लघुलेख) आत्मनिर्भर

(लघुलेख) आत्मनिर्भर सरण राई वर्तमान अवस्था र व्यवस्था अवलाेकन मूल्याङ्कन गरेर भावी दिशा निर्धारण गर्ने इमानदार बाैध्दिक संयन्त्र बन्नै नसक्ने परनिर्भर अवस्थाले करुण निरीह गरिब निमुखा देश - बिचरा भेडाे बनाईएका देशवासी ! देशवासीलाई भेडा निमुखा अदना निरीह भिखमङ्गा बनाउने काे ? दाेषी काे ? आत्मनिर्भर क्षेत्र के छ ? के हुन सक्ला ? खाेइ विश्लेषण गर्ने स्वतन्त्र बुध्दिजीवी ? दलेझाेले पहिलाकाे दरबारकाे भाइभारादार र भाटभन्दा कुन अर्थमा फरक छन र ? यस्ताे अवस्था कसरी भयाे ? बुध्दि भुटिएकाे छ कि छैन ? प्रश्न साेध्ने,साेच्ने र निष्कर्ष निकाल्ने बुध्दि बुध्दिमान दिमाग र देशवासीलाई रिमाेट सञ्चालित परनिर्भर राजनीतिले कुटुकुटु खाईरहेकाे छ , बुध्दि साेच र राष्ट्रियता निमिट्यान्न भएपछि देशसित के बाकि रहन्छ र ? पहिलाे र अन्तिम सर्वकालिक सर्वशक्तिशाली सार्वभौम निष्कर्ष, रणनीति कार्यनीति सर्वजनहिताय, आत्मनिर्भर राजनीति ! आफ्नै माटाे सुहाउदाे आत्मनिर्भर माैलिक राजनीति ! 🌹 २०७८ जेठ २७ 🌹🌹

Saturday, April 17, 2021

लघुआत्मालाप) आज एक दिन

 

(
लघुआत्मालाप)
आज एक दिन 
 
सरण राई 
 
हिजो गइ सक्यो, हातबाट फुत्केको सम्पति , समय वा उम्केको माछाजस्तो । भोलि अनिश्चित छ । आज हातमा छ । के के गर्न सकिने आजको अहिले मात्र हो । अहिले गरिएन भने त्यो अहिले पनि अघि हुन्छ ,हिजो हुन्छ ।
आज मैले के गरेँ ? केलाउदै छु अहिले दिनभर गरेका कामहरू-- बिहान प्रातकालीन हिडाई. गमलाको फूलमा पानी लगाउने , केहि समय फेसबुक हेर्ने , विश्व प्रशिध्द कथा पढ्ने अनि पढ्दा पढदै तिनको एउटा कथा लेख्ने मुड भयो ।
आजको प्रमुख उपलब्धि तिनको मनमा रहेको पीडा ''के गर्न सकिन्छ र !?'' भन्ने कथा लेखेर व्यक्त गर्ने कोसिस गरेँ । .
यो कथा लेखनले मलाई आज एक प्रकारकाे सन्तुष्ठी दियाे, प्रसन्नता पनि दियाे । आगामि दिनहरूका लागि एउटा बाटाेमा बढ्ने निर्देशन पनि अङ्कित गरि दियाे । म अब निश्चित गन्तव्यका लागि अभ्यस्त हुन थालेकाे छु ।
आजको प्रमुख उपलब्धि -- ''के गर्न सकिन्छ र !?'' कथा लेखन ।
याे कथा लेखनले आजकाे दिन खेर गएन ।
🔴
२०७५चैत १७, धरान

Sunday, April 11, 2021

लघुलेख) आज देशकाे कुरा गरा‌ैँ

 

लघुलेख)
आज देशकाे कुरा गरा‌ैँ
 
सरण राई
 
देशकाे कुरा सर्वसाधारण आम मान्छेले गर्न हुन्छ कि हुँदैन ? देशका लागि चिन्तन गर्न हुन्छ कि हुँदैन ? याे साेध्ने र साेच्ने नै हाेईन । तर...
आम मान्छेहरू आज सबैभन्दा बढि बिचरा भएका छन् । अनेकन् उपभाेग्य वस्तुहरूकाे विकास, आर्थिक उन्नति, उपभाेक्तावादि संस्कृतिले विचरा सर्वसाधारण मान्छेहरू "सिसिफस" भएका छन् । कमाउने मेलाे राेजगार कम छ, चर्काे मूल्य, जीवन स्तर र डेमाेन्ट्रेसन एफेक्ट ! खाध्धान्न, लट्टाकपडा, उपचार खर्च,भाडा, यातायात, माेबाइल चार्ज, टेलिफाेन, इन्टरनेट, बिजुलि, मालपाेत, शुल्क , फेसन आदि अनेकन खर्च धान्न नसकेर आम मान्छे देशबारे साेच्ने,केही गर्ने अवस्थामा छैनन् । पहिलाे त गरेर खाने वातावरण छैन । केही गर्न सकिँदैन भन्ने मानसिकता चरमचुलिमा !सरकार आम मान्छेकाे हक,हित र उन्नयनकाे पक्षमा देखिदैन । समग्रमा कुनै दिर्घकालिन राष्ट्रिय सहमति छैन ।
आजसम्मकाे इतिहास केलाउदा जनता (जनार्दन भनी टाेपले पनि), सर्वसाधारण, आम मान्छे वा देशवासीहरूले देश आफ्नाे हाे र देशका मालिक जनता (सार्वभाैमिकता जनतामा रहेकाे संबिधानमा लेखिए पनि) हाैँ भन्ने हिसाबले कहिल्यै साेचेनन्, साेच्ने हैसियत पाउन सकेनन् ।
जहिले पनि दाल भात डुकुकाे समस्यामा अल्झाईएकाे जनतालाई देशकाे बारेमा साेच्न सक्ने अवस्था बनाउने प्रयत्न सरकार, दल र जान्नेबुझ्ने भनाउदाहरूले कहिल्यै गरेका छैनन् । ती तथाकथित जान्नेबुझ्ने भनाउदाहरू सदैव विदेशीकाे खेलाैना बने, गाेटि बने । देश बनाउने कुरामा यीनीहरूकाे ध्यान कहिल्यै गएन भएन । नकारात्मक साेच, नकारात्मक वातावरण, दुखद कहालिलाग्दाे अवस्था र दास मनाेवृत्ति अहिलेसम्मकाे फाेहाेरी राजनीतिकाे उपज भएकाे छ ।
अहिले सिध्दान्त,विचार आस्थाकाे ग्राइण्ड डिजाइन याेजनाबध्द ढङ्गले यति धैरै बेइज्जत भएकाे गराइएकाे छ कि राजनीति पनि सिध्दान्तमा आधारित हुन्छ भन्ने साेच्नै नसकिने मानसिकता तयार भएकाे छ। एउटा पूरै पुस्ता अराजनीतिक बन्दै छ, जुन पुस्तालाई नैतिकता, देश,सत्य, न्याय र अग्रगमनसित कुनै सराेकार छैन । सानै स्वार्थप्रेरित दलेझाेले, विवेकहिन दलेझाेले झुण्ड चारैतिर !
देश विकास गर्ने नीति छैन, विदेशमा युवाशक्ति पलायन गराई निरंकुश शासन चलाउने श्रम नीति, दलहरूसित शिक्षा, सीप, विकास र राष्ट्रिय एकताबारे राष्ट्रिय सहमतिका एजेन्डा छैन ।
भाडाकाे सिपाही बनाईरहने नीति भएसम्म विचरा एक थरी सदैव राष्ट्रिय मूल प्रवाहबाट बाहिरै भईरहने छन् ।
दु:खका साथ भन्नुपर्दा देशकाे अल्पकालिन र दिर्घकालिन कार्यनिति र रणनीति छैन , त्यसताे राष्ट्रिय सअमतिमा आधारित राष्ट्रिय नीति बन्न सकेकाे वा बनाउने प्रयत्नपनि भएकाे छैन । साना ठूला सबै देशकाे देशलाईअगाडि बढाउनेबारे सर्वसम्मत राष्ट्रिय सहमति हुन्छ र सरकार जुनसुकै दलकाे बने पनि साे सहमतिअनुसार कार्य क्रियाकलाप गरीरहन्छ । तर हाम्राे देशमा सरकार, कर्मचारी प्रशासन, दल र नेता कार्यकर्ता झाेले, विदेशीद्वरा सञ्चालित दास विवेकहिन बिकेकाे र देश पनि बेच्न तयार भएकाहरू राष्ट्रिय सहमतिका लागि छलफल समेत गर्न नसक्ने फाेहाेरी गाेटि राजनीतिकाे कठपुतलि भएकाे दुर्भाग्यपूर्ण अवस्था देखिन्छ ।
यस्तै अवस्था सदैव रहिरहदैन । देशलेआफू सुरक्षित, अखण्ड र सार्वभाैम रहन राष्ट्रिय सहमतिका लागि सबै अट्ने साझा असल राष्ट्रिय राजनीतिकाे थालनी गर्ने नै छ । फाेहाेरी गाेटि राजनीतिकाे अन्त भएर सबैकाे साझा देश निर्माण हुनेछ, र हुँदै छ । असल राजनीतिले देश र देशवासीकाे मुहार फेर्नेछ, र फेरिदै छ ।
🌻
२०७७च‌ैत २५, २७
💐💐💐💐💐💐💐💐💐🌺🌺💐💐💐💐

💐