(लघुआत्मालाप)
बाँचेकै छु
सरण राई
पत्नीकाे देहान्तपछि (२०७५मंसिर २५) निरन्तर व्यायामकाे रूपमा माेर्निङ वाक गरिरहेकै छु । त्यही वाकिङले मलाई बचाईरहेकाे छ । एकल जीवन । बाचुन्जेलकाे जीवन हाे ।आफूलाई बचाउनु वा जीवन पूरा उपभाेग गर्नु आफ्नै हातमा छ ।
मधुमेहले भेटेपछि गुलियाे संसारबाट टाढा हुनै पर्छ । खानाकाे परहेज । सब तागतिलाे खाने चिजहरू गुलिया हुन्छन् । मधुमेह, उच्च रक्तचाप र मुटुकाे राेग सँगसँगै बस्ने दिदीबहिनीहरू हुन् रे । अलिकति जीवन व्यवस्थापनमा तलमाथि भयाे कि राेगकाे गुड शरीर हुन्छ नै ।
जेजस्ताे भएर भए पनि बाँचिएकाे छ । कति दाैतेरीहरू गईसके । म घरबाट निस्केर हिँड्दा मलाई नमस्कार भनेर बाेलाउनेहरू ताराबहादुर गुरूङ, धनबहादुर श्रेष्ठ , बद्री पलिखे, अम्बिका रिजाल, भगवान श्रेष्ठ , हर्कबहादुर तुम्बाहाम्फे, इन्द्रबहादुर लिम्बू, इन्द्रहाङ लिम्बू, याेगेन्द्र सुब्बा, सूर्यकुमार राई आदि थुप्रैजना गईसके । ध्यानबहादुर राई, ध्रुवदेव राई, प्रेम माङ्माजुङे सेर्मा, अटलमान राई, लाेकेन्द्रप्रसाद आचार्य आदिकाे श्रध्दाञ्जली स्मृति रचना लेख लेखी सकियाे । पहिलाे पल्ट इटहरीका मभन्दा दुई वर्ष जेठा ७७वर्षिय लेखनाथ घिमिरेकाे अभिनन्दन रचना लेख्न पाउँनु अहाेभाग्य सम्झेकाे छु । बाँचेकैले याे सब लेख्न पाएकाे छु । बाँच्नु सबैभन्दा ठूलाे कुरा हाे ।
पेन्सन खान थालेकाे पनि पनि १५वर्ष भएछ अर्थात साहित्यमा पूर्णकालिन भएर लागेकाे पनि त्यति वर्ष नै भयाे । म साहित्य बाहेक अरु केही गर्दीनँ। साहित्य बिचरा ! फाेहाेरी राजनीतिकाे फाेहाेरी सहयाेगी भएर आफ्नाे स्व गुमाएकाे फाेहाेरी गुठ उपगुठमा विभाजित निमुखा दासी भएकाे छ । यस्ताे अवस्थामा साहित्य जगतमा असलि साहित्यकाे अस्तित्व जाेगाउन असलि साहित्यकारहरू जन्मनु पर्ने भएकाे छ । स्वतन्त्र असलि साहित्यकार भएर बाँच्नु झनै गार्हाे रहेछ ।
जसलाई आफ्नाे सम्झियाे त्याे त कहिले कहिले मानसिक पतनकाे खाल्डाेमा फसिसकेकाे हुँदाेरहेछ र आफ्नाे स्वार्थ बाहेक केही नदेख्ने अन्धाेहरूबाट बाँच्नमा सहयाेगकाे आशा गर्नु भयङ्कर भुल हुन्छ । आत्मनिर्भर हुनु सुखी जीवनकाे पहिलाे आधार हाे ।आफैले आफूलाई खुसी राख्नु दाेस्राे आधार हाे ।
No comments:
Post a Comment