Followers

Wednesday, March 10, 2021

(लघुअात्मालाप) केका लागि बाँच्ने?

 

(लघुअात्मालाप)
केका लागि बाँच्ने?
 
सरण राई 
 
युवा हुँदासम्म राजनीति जनता र देशकाे लागि हाे भन्दै राजनीतिमा पूर्णकालिन हुन नसके पनि राजनीति गरिब दुःखी र देशकाे उन्नतिका लागि हुनुपर्छ भन्ने अडानसाथ असल राजनीतिका लागि त्याे युवा काल समर्पित गरियाे ।
२००७ साल बाल्यकालमा भाेगियाे । त्यसबारे राम्ररी थाहा पाइएन । ००७साल पछिकाे बहुदलीय व्यवस्था नै मेराे राजनैतिक ज्ञान र प्रशिक्षणकाे अवधि रह्याे । २०१५ससालकाे पहिलाे अाम निर्वाचनमा पिता मछिन्द्रबहादुर राई भाेजपुरकाे उत्तरी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टिकाे तर्फबाट संसदकाे लागि उम्मेदवार हुनुले मलाइ वामपन्थी राजनीतितर्फ अाकृष्ट बनायाे ।
६०वर्षकाे उमेरसम्म मानव अधिकार, प्राज्ञिग स्वतन्त्रता र उन्नत राजनैतिक व्यवस्थाका लागि राजनीति बाँच्ने अाधार थियाे । त्यही लक्ष्य खातिर अाफ्नाे समय व्यतित गरियाे ।
अाफ्नै जीवन कालमा गणतन्त्र प्राप्ति हाेला भन्ने साेचेकाे ,अाश गरिएकाे पनि थिएन ।
गणतन्त्र पाइयाे । अनेक नदेखेका नसाेचेका कुराहरू भाेगिदै छ । गणतन्त्र नपाइन्जेल राजनीतिप्रति जुन राजनैतिक चासाे र सग्लनता थियाे समाप्त भयाे । राजनीति अहिले सर्वाधिक फाेहाेरी भएकाे छ ।अाकर्षण सकिएकाे छ ।
६१देखि ७१वर्षकाे उमेर पत्नी प्रेममा बित्याे जुन मेराे जीवनका सर्वाधिक रमाइला महत्वपूर्ण समय थियाे ।
पत्नीकाे देहावसानले अब ७१वर्ष पछिकाे मेराे जीवनबारे जटिल प्रश्न उत्पन्न गराएकाे छ । सायद मेराे साहित्यक मन र लगन नै मेराे बाँच्ने सहारा हुन्छ कि ?

२०७५।११।२६,धरान

 
 



Tuesday, March 9, 2021

(लघुसंस्मरण) तीनछाँङेका भलबाडी

 


(लघुसंस्मरण)
तीनछाँङेका भलबाडी
 
सरण राई 
 
८/९ वर्षकाे केटाे म दशैंमा अामासँग मावली जाँदा कपडाकाे जुत्ता लगाएर बिप्लाटेकाे उकालाे चढ्रदा सकस भएर जुत्ता खाेलेर खाली खुट्टा नै कुदिन्थ्याे । मावली पुग्ने बेला मात्र जुत्ता लगाइन्थ्याे धाक रवाफ देखाउनका लागि । नभए त वर्षभरि नै खाली खुट्टा ।
त्यति बेला राजा महाराजा, ठूला ठालुहरू बाहेक सबै खाली खुट्टा नै हुन्थे ।
हरिनाथले चरचरि चिरिएकाे खाली खुट्टातिर कसैकाे ध्यान जाँदैनथ्याे । कारण सबै जुत्ता बिना खाली खुट्टामा नै हुन्थे ।
मैले पनि कक्षा ८ मा पढ्ने भएपछि मात्र चप्पल लगाउन थालेकाे हुँ ।( गाउँ छाडेर भाेजपुरकाे बिद्दाेदय हाइ स्कूलमा पढ्न थाले पछि ।)
शुक्रबार भाेजपुरबाट घर छिनामखु अाउथ्याे र शनिबार फर्कन्थ्याे । वर्षायाममा अाफूजत्रै साथीहरू कुलबहादुर, खम्बप्रसादलाई तीनछाँङेका भलबाडी कटाएर खम्बाप्रसादका पिता पाैवाली फर्कन्थे ।त्यही भलबाडी तर्ने क्रममा त्यति बेला मलाई मन परेकाे सि. एस. सि.काे नयाँ माेडलकाे एउटा चप्पल तीनछाँङेले बगाउदा चित्त दुखेकाे थियाे ।
त्यो चप्पलको सम्झना अझै मनमा ताजै छ ।
 
२०७५।११।२५, धरान
 

 

Monday, March 8, 2021

(लघुसंस्मरण) चाैतारी, छहारी, र सिरसिरे बतास

 

(लघुसंस्मरण)
चाैतारी, छहारी, र सिरसिरे बतास
 
सरण राई 
 
प्रियसी, साथीभाइ भेट्न दाैडिदै उकालाे चढेर थाकेकाे बेला ढुङ्गे चाैतारीमा बरपिपलकाे छहारीमुनि सुस्ताउदा सिरसिरे बतास नचल्दा बतास बाेलाउन सुसेलेकाे...
सु.सु सु..अ् .. ,सु.सु सु..अ् ..
साँच्चै बतास चल्न थाल्छ,कस्ताे अानन्द अाउछ चिसाे बतासले स्पर्श गर्दा !
शरीरमा पुनः स्फूर्ति अाउछ ।
उकालाे, चाैतारी, छहारी, थकाइ र सिरसिरे बतास... कस्ता अानन्दका क्षणहरू थिए ।
अाज ती दिनहरू कहाँ गए ?
 
२०७५-११-२४ , धरान
 
 
२०७५-११-२४ , धरान


 
२०७५-११-२४ , धरान

Saturday, February 27, 2021

(लघु लेख ) राजनैतिक विकासमा कार्यकर्ता

 

Public
(लघु लेख )
राजनैतिक विकासमा कार्यकर्ता
 
सरण राई 

 
राजनीति सर्वोपरी हुन्छ | मानिसको जन्मदेखि मरणसम्म प्रभावित पार्दछ | समाज, सभ्यता, सुख , सम्पन्नता आदि सबै कुरा राजनैतिक वातावरणले निर्धारण गर्दछ | राजनैतिक वातावरण राजनैतिक दलहरुको अवस्थाले निर्धारण गर्दछ | |राजनैतिक दलहरुको अवस्था यसका नेता र कार्यकर्ताहरुको स्थिति , मानसिकता , आचरण , आचार र व्यवहारले निर्धारण गर्दछ |
राजनैतिक दलहरुका नेताहरुका स्थिति , मानसिकता , आचरण , आचार र व्यवहार कार्यकर्ताहरुमाथि निर्भर हुन्छ | कार्यकर्ताहरु चनाखो छैनन् भने नेता निरङ्कुश हुन्छ | नेताको मनपरीले पार्टी बिग्रिन्छ , सिध्दान्त ,मुल्य, मान्यता र नीति ,नियमले पार्टी चल्दैन, नेताको सनकमा पार्टी चल्न थाल्छ |पार्टीहरुमा यो रोग फैलिएपछी राजनैतिक वातावरण बिग्रिन्छ | राजनीति बिग्रेर धमिलो पानीमा माछा मार्ने प्रवृति बढ्छ |
विकासोन्मुख देशका कार्यकर्ताहरु राजनीति राम्ररी बुझ्न नसक्ने अवस्थामा रहेको हुँदा नेताहरुले भ्रमको खेती गर्न थाल्छन् | गरिवी , अशिक्षा र अज्ञानताको अवस्थामा रहेको कार्यकर्ताहरुलाई चटकी कुरामा लोभ्याएर नेताहरुले फाइदा उठाउछन् |
राजनैतिक कार्यकर्ता हुनु भनेको आफ्नो सम्पूर्ण बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य धरौटी राखेर सेनाको सिपाहीजस्तो हुनु होइन | अन्ध समर्थक हुनु होइन , पार्टीको खेताला हुनु पनि होइन | आफ्नो अन्तरमनको पुकार नसुन्ने हुनु होइन | फटाहा नेता वा पार्टीको गलत कामको पनि वकालत गरिरहनु राजनैतिक कार्यकर्ताहरुको दायित्व हुँदै होइन |
राजनैतिक कार्यकर्ताहरुको चेतनाको स्तर जबसम्म न्यून रहन्छ , उनीहरु भेडाबाख्रा सरह नै हुन्छन् | चाकडी चाप्लुसीको बोलवाला पार्टीमा रही रहन्छ | सहि सैध्दान्तिक जगमा पार्टी निर्माण हुन सक्तैन |राजनैतिक कार्यकर्ताहरुको बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य पार्टीको जीवन्तताको सर्तहरु हुन् |
बिरोधीहरुको कुरै नसुन्ने , आफ्नो दलको मात्र सब कुरा ठीक भन्ने र सहि ढङ्गले सोच्न नसक्ने कार्यकर्ताहरुकोस्थितिले सहि राजनैतिक विकास हुन सक्तैन र असल राजनीतिको विकास पनि हुन सक्तैन | हामी सम्पूर्ण देशवासीहरु एउटै जहाजका यात्रीझैँ होँ , देश बने हामी बन्छौँ , देश बिग्रीए हामी सप्रने कुरै हुँदैन | जनतालाई बिभिन्न दलहरुमा भिभाजन गरेर भेडाबाख्राजस्तो आफ्नो निजि र दलगत स्वार्थ पूरा गर्ने वर्तमान परिपाटी देश र जनताको हित अनुकुल छैन , त्यस्तो परिपाटी समाप्त पार्ने दायित्व कार्यकर्ताहरुको हो |
लहै लहैमा स्यालको हुइयामा हिडाउने र हिडने कार्यकर्ता भइन्जेल देश उभो लाग्ने कुरै हुँदैन |कुनै दलको सदस्य हुनु भनेको आफु त्यस दलको नोकर, दास वा गुलाम हुनु कदापि होइन | | दलको सदस्यहरु पनि वैयक्तिक रुपले पूर्ण स्वतन्त्र छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरुले मात्र असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |
यस्तो विवेकशील स्वतन्त्र र सहि ढङ्गले सोच्न सक्ने असल कार्यकर्ताहरु आजको आवश्यकता हो | देश हामी सबैको हो , देश सप्रे हामी सबै सप्रन्छौ | कार्यकर्ताहरु देश र जनताका लागि हुन् | कुनै दल र नेताका लागि मात्र होइनन् | आफ्नो दलको कार्यकर्ताहरु आफै मालिक हुन्, दलहरुका खेताला, दास, नोकर होइनन् | रोबोट होइनन् | कार्यकर्ताहरुले आफ्नो महत्व आफै बुझेर देश र जनताकाे पक्षमा स्वनिर्णय गर्न सक्ने अवस्थामा पुग्नु जरुरी छ | यसो भएमा कार्यकर्ताहरुले असल राजनैतिक विकासमा अमुल्य योगदान गर्नेछन् |
२०७० पौष २२ , धरान

 

Wednesday, February 3, 2021

(लघुसंस्मरण) चार आनाकाे कुरा

 

(लघुसंस्मरण)
चार आनाकाे कुरा
 
सरण राई
 
याे कुरा २०१८/१९ सालतिरकाे हाे । आैलाे उन्मुलन कार्य चालू थियाे । घरघरमा डिडिटि पाउडर छरिएकाेले बिरालाे, साङ्ले र किराफट्याङ्रा पनि मरेका थिए । बिरालाेकाे जनसंख्या घटेकाे थियाे भने मान्छेकाे जनसंख्या चाहिँ बढ्दै थियाे ।
पहाडबाट झरेकाे म १४/१५ वर्षे ठिटाे धरानकाे पब्लिक हाई स्कुलमा ९ कक्षामा पढ्दै थिएँ । पहाडबाट झरेकाे, गर्मीले जीउभरि घमाैराे गर्मी खप्न नसकेर छटछटी भए पनि नयाँ नयाँ माेटर गाडि, साइकल, वातावरण र मान्छे र सभ्यता संस्कार चलन ... सबै नाैलाे लागिरहेकाे हुन्थ्याे ।
सिनेमा पहिलाे पल्ट धरानमा हेरियाे । बिजुली नभएकाेले जेनरेटर चलाएर फिल्म देखाइन्थ्याे । नेपाली चलचित्र पनि थिएन । हिन्दी देखाइन्थ्याे । हिन्दी बुझिद‌ैनथ्याे तर नाचगान , घटना हेरेर मक्खै परिन्थ्याे । पछिदेखि हिन्दी डायलाग पनि बुझ्न थालियाे । त्यतिबेला सिनेमाभने पछि सबै हुरूक्कै हुन्थे । सिनेमा हल नगई सिनेमा हेर्न पाइदैनथ्याे ।
सिनेमाकाे प्रभाव बिराटनगरका केटाकेटीहरू त हिन्दीमै बात करते थे ।
तराइमा भा.रु.काे चलन थियाे । माे.रु. एक रुपियालाई दस आनी भन्थे । १०पैसा= १ आना अर्थात १०आना= १ रुपिया माे.रु. ।
२/३ दिनकाे स्कुल छुट्टि भए २/-बसमा तिरेर धरानबाट दुहबी गयाे । त्यहाँबाट माेतिपुर हुँदै हिँडेर बाेराबान पुगिन्थ्याे । त्यहि क्रममा दुहवीबाट बाेराबान जाँदा पेन्ट खाेलेर चप्पल हातमा बाेकेर हिलाे बाटाेमा हिड्दा एउटा कालाे गगल्स भेटेँ । गगल्स लगाएर पेन्ट काँधमा झुन्डाएर हिड्दै गाउँकाे चिया पसल पुगे । तीन रूपिया बाेकेर हिडेकाे २/- बसमा भाडा तिरी हालियाे बाँकि एक रूपियाकाे ढ्याक पेन्टकाे खल्तिमा राखेकाे थिएँ । देहातमा बजारमा २आना पर्ने एक कप चिया १आनामा पाइन्थ्याे । काेकिस १आना गाेटा । भेटेकाे कालाे गगल्स लगाएर सिनेमाकाे हिराे जस्ताे भएर पाेज दिदै २आनाकाे काेकिस र १आनाकाे चिया खाईसकेपछि पेन्टकाे खाेजीबाट पैसा निकाल्न छाम्छु । उधाेमुन्टे हुँदा गाेजीबाट पैसा अघि नै खसेछ ।
कालाे निलाे भएर भनेँ-- "पैसा हराएछ, पैसा छैन ।"
चिया पसलेले रिसाएर हेर्नासाथ वरिपरीकाे चिया खाँदै बसेका मान्छेहरू पनि जर्याकजुरुक उठ्न थाले । तीन आनाकाे खाकाे अब कथालाे समातेर कति गाेदाइ खाईने भयाे ? तै एउटा बुध्दी पलाएछ र भनेँ- "याे गगल्स धिताे राखिराख्नाेस्, फर्किदा तीन आनाकाे सट्टा चार आना तिरेर चस्मा उकासाैला ।"
भेटेकाे गगल्स बुझाएर छाला जाेगाइयाे । त्याे गगल्स उकास्ने मन पनि भएन । फर्किदा अर्क‌ै बाटाेबाट फर्किएँ ।
तर त्याे घट्नाले जिन्दगीभरी काम लाग्ने एउटा पाठ सिकायाे " हाेटलमा खानुभन्दा पहिला गाेजि छाम्नु र मात्र खानु । खाएकाे खाने चिजकाे पैसा तिर्न सकिएन भने त तात्तातै छदाउछन् गाँठे ! "
(काेकिस निक‌ै समय हराएकाे थियाे । अहिले भने फेरि आउन थालेछ । खाजामा नातिनीले काेकिस खान दिँदा त्याे घटना सम्झन पुगेँ र आज आनाकाे कुरा नभएकाे बेला एक छिन सम्झेकाे त्याे फर्केर नआउने समय ! समय ... सम्झदा आफैलाई आश्चर्य लाग्छ ।)
🌺
२०७७/९/१६
🌻

🌻

Monday, November 30, 2020

(लघुआत्मालाप) अमर कृति

 

(लघुआत्मालाप)
अमर कृति
 
सरण राई
 
तपाईं कस्ताे कृति रुचाउनु हुन्छ ?
अमर कृति !
अमर कृति कस्ताे हुन्छ ?
जसले सुन्दर सृष्टि संरक्षण गर्छ । मन, मुटु र मगजलाई साैन्दर्यतर्फ लैजान्छ ।
अनि साैन्दर्य ?
साैन्दर्य सत्य, न्याय र समानतामा बास गर्छ ।
याे त काेरा कल्पना हाेइन र ?
हरेक कुराहरू कल्पनाबाट नै सिर्जित हुन्छन् । कल्पना जुन आँसु, रगत र पसिनाद्वारा यथार्थमा रूपान्तरित हुन्छन् । जसले जीवित मानिसहरूकाे साेच, स्फुर्ति र स्व साैन्दर्यतर्फ डाेराउँछ ।
फेरि काेरा भावुुवकता ?
हाे, पसिना, रगत र आँसुबाट निर्मित अमर कृतिले भावुकता जन्माउँछ, त्यही भावुकतामाथि टेकेर कठाेर अमर त्याग प्रेमीहरू गरिरहेकाे हुन्छन् र बन्छन् अमर कृतिजस्ताे प्रेमिल मनुष्यजन !
🌿☘️🍀

२०७७ मंसिर १३
🌹
🌷

🥀

Sunday, November 22, 2020

(लघुसंस्मरण) जन संघर्ष जारी छ

 (लघुसंस्मरण)

जन संघर्ष जारी छ


सरण राई

बिहानै प्रभातकालिन हिडाइ हिँडिरहदा २०४७ सालकाे जनजाति उत्थान मञ्चले धरानमा आयाेजना गरेकाे जुलुस र आमसभा सम्झन पुग्छु ।
त्याे कार्यक्रमका सक्रिय सहभागिहरू सभाकाे सभापतित्व गर्ने मे.थाम बहादुर राई स्व. भई सके । सभामा उद्घाेषण गर्ने स्व. ध्यान बहादुर राई, जुलुस र कार्यक्रमका सक्रिय सहभागी स्व. इन्द्रहाङ लिम्बू, स्व. प्रेमसिंह लिम्बू, स्व मे. इन्द्रजित लिम्बू,प्रमुख वक्ता स्व.पध्मरत्न तुलाधर ,काेषाध्यक्ष स्व. सालिक किरात,स्व. प्रसाद थेवे आदिलाई त्याे कार्यक्रमकाे नेतृत्व जनजाति उत्थान मञ्चकाे सचिवकाे हैसियतले मैले नै नेतृत्व गरेकाे हुँदा ती सबैलाई भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछु ।
साे जुलुस र आमसभा संविधानमा धर्म निरपेक्षता, मातृभाषाहरूलाई राष्ट्रिय भाषाकाे मान्यता, जनजाति , महिला,दलित,मधेसी र पिछडिएकाहरूका लागि आरक्षणकाे संवैधानिक व्ववस्था आदि कायम हाेस् भन्ने मागका साथ संविधान सुझाव आयाेगकाे स्व. भरतमाेहन अधिकारीकाे धरानमा सुझाव संकलन गर्दै २०४७असार १७ गते आएकाे टाेलीमा १०,०००जनाकाे हस्ताक्षर सहितकाे लिखित सुझाव पेश गर्न आयाेजना गरीएकाे थियाे ।
जुलुस भूतपुर्व सैनिक भवनबाट सुरु भएर महेन्द्र क्याम्पसमा रहेकाे टाेलीलाई जुलुस सहित सुझाव हस्तान्तरण गरेर अनुशासित दुई पक्तिबध्द प्लेकार्ड बाेकेका २५,०००भन्दा बढि मानिसहरूकाे माैन जुलुसले भानुचाैक, देसिलाइन, पुरानाे बजार, सिंहदेवी चाैक , छाता चा‌ैक भएर बजार परिक्रमा गरिसके पछि पब्लिक हाई स्कूलकाे मैदानमा आमसभामा परिणत भएकाे थियाे । आमसभामा पचासाै हजार मानिसकाे उपस्थितिले त्याे आमसभा धरानकाे सब‌ैभन्दा ठूलाे आमसभा भएकाे थियाे ।बजार परिक्रमामा माइकबाट एनाउन्स गर्ने कार्य हङकङ रानाले गर्नु भएकाे थियाे ।
जुलुस र आमसभा गर्ने निर्णय गरे पश्च्यात सबै सदस्यहरू र सामाजिक संघसंस्था र धार्मिक संस्थाहरूलाई पनि सहभागिताकाे लागि पत्राचार गरियाे । डर थियाे कम मानिस भए लाजमर्दाे भइएला । २०० भन्दा बढि भए इज्जत जाेगिएला । तर जनजातिहरूकाे व्यापक सहभागिता , इसाइहरू नै ६/७ हजार , बाैध्दहरू त्यही हाराहारीमा,मुस्लिमहरू पनि उल्लेख्यरूपमा उपश्थित भएकाेले जुलुसकाे पहिलाे भाग भानुचाैक पुग्दा पनि सैनिक भवनबाट अझ मानिसहरू निस्किरहेका थिए । जुलुसमा सहभागी प्रा.सूर्यकुमार राई,प्रा. बिजया लिम्बू, प्रा.दुर्घाधन राई, माेतीराज ताम्राकार, ज्याेती ताम्राकार ,वर्तमान सुब्बा, राजेश फाेम्बाे , लक्ष्मी राई, सुदेश राई , गंगा राई लगायत थुप्रै प्राध्यापक, शिक्षक , बिध्दार्थी, गृहिणी महिलाहरूकाे सहभागिता अनमाेल थियाे । अँध्याराेबाट उज्यालाेमा आउने प्रयत्न थियाे त्याे ।गिरीराज आचार्य , ताङहाङ लिम्बू लगायत सक्रिय राजनैतिक कार्यकर्ता हरू पनि जुलुसमा पूरै सहभागी हुनु भएकाे थियाे ।
आमसभामा वक्ताहरू प्रमुख अतिथि तिलविक्रम नेम्वाङ, प्रमुख वक्ता पध्मरत्न तुलाधर, अशाेककुमार राई, सीताराम तामाङ, सुवाश नेम्वाङ, आनन्द सन्ताेषी राई, टङ्क राई हुनुहुन्थ्यो भने मैले जुलुस र आमसभाकाे उद्देश्य साथै संविधानमा समावेश गरिनुपर्ने मागहरू प्रश्तुत गरेकाे थिएँ । त्याे सभामा डा. हर्क गुरुङ पनि आउने कुरा प्रचार गरिएकाे थियाे । मैले नै उहाँसँग फाेनमा कुरा गरेर निश्चित गरेकाे थिएँ तर उहाँ आउन सक्नु भएन ।
जेहाेस् त्याे जनसङ्घर्षकै एउटा अभिन्न अङ्ग जनजाति आन्दाेलन र अभियानकाे एउटा अमिट ऐतिहासिक जुलुस र आमसभा हुन सक्याे । त्याे जुलुस र आमसभाले तत्कालिन संविधान निर्माण र राजनीतिमा महत्त्वपूर्ण प्रभाव पारेकाे थियाे ।
संविधान धर्म निरपेक्ष, मातृभाषा राष्ट्रिय भाषा भयाे, आरक्षणकाे कुरा नीति निर्देशक सिध्दान्तमा पारीयाे आदि सकारात्मक प्रभावहरू पर्याे भने नकारात्मक प्रभाव पनि जन्मियाे । सत्तासिनहरूले सदैव जनजातिहरूलाई दुश्मन देख्न थाले , दमन गर्ने कुरामा एकमत भएर अगाडि बढ्न थाले । फलस्वरूप जनआन्दाेलनबाट सबैले पाउने उपलब्धी र फायदा संकुचित हुन पुग्याे र अझै उत्पीडित, जनजाति, दलित, मधेसी, महिलाहरूले जनसङ्घर्ष गरिरहनु पर्ने अवस्था जन्मिन पुग्याे ।
अझै जनता पूर्णरूपमा सार्वभाैम बन्न न्यायप्रेमी जनताकाे जन सङ्घर्ष जारी रहि रहेकै छ ।
🌼
२०७७मंसिर ६









Friday, September 25, 2020

(लघुआत्मालाप) म पास भएँ

लघुआत्मालाप)
म पास भएँ
 
सरण राई
 
जीवनको हर घडि
परीक्षाको घडि
 
म अहिले जीवनको बिट मार्ने (फिनिसिङ टच दिने) क्रममा छु । आजसम्म मैले छोडेका अधुरा अपूरा कामहरू सक्ने र गरिसकेका कामहरूको स्वमूल्याङ्कन गरिरहेको छु ।
त्यसै क्रममा मैले लेखेको १७वटा कथाहरूको सङ्ग्रह “अन्तिम आयाम” भर्खरै मात्र पढिसकेको छु । पहिलो कथा ‘नाति’ त उत्कृष्ट कथाहरूको पङ्तिमा उत्तिर्ण हुन्छ भन्ने मेरो विश्वास थियो । कारण त्यो कथा लेखिसकेपछि मेरो धर्मपत्नी लक्ष्मी राईलाई पहिलो श्रोताको रूपमा कथा पढेर सुनाई सकेपछि तिनको प्रतिक्रिया थियो— “आँसु आउने खालको छ ।” त्यो कथा ‘गरिमा’मा प्रकाशनार्थ पठाएको एक महिनामा नै प्रकाशित पनि भएको थियो । जतिजनाले पढे, सबैले मन पराएकाले त्यो उत्कृष्ट हुन्छ भन्ने मलाई लागेको हुन्छ । नभन्दै धेरै समयपछि पढ्दा चित्त बुझ्यो ।
दोस्रो कथा ‘अर्को उज्यालो’ पढ्दा धुकचुक लागिरहेको थियो । कथाकार म स्वयं नै परिक्षक भएकोले ‘के होला ? के होला ?’‘ भन्दै पढिसक्दा म प्रसन्न हुन्छु ।अर्को उज्यालो’ कथा सन्देशमूलक हुन सकेकाे रहेछ ।
त्यसपछिका कथाहरू— के जीवन नाटक हो ?, गाढा प्रेम, तपश्वी महात्मा महामानव, सहीद परिवार, विस्थापित मुटु, राजनैतिक कार्यकर्ता, आमाको मन, आफ्नै कथा–ब्यथा, परकम्प, असामयिक निधन, प्याजी फूल, अन्तिम आयाम, दुई दिनको पाहुना, र शान्तिधाम पढ्दा पनि मलाई लागिरह्यो स्तरहीन कथा भए ती कथाहरू उत्कृष्ट हुने छैनन् र म कथाकारको रूपमा अनुत्तिर्ण हुने छु ।
दिनका दिन दिनको एक वटा मात्र कथा पढ्ने गरेँ ।
'दुई दिनको पाहुना' मैले लेखेका कथाहरूमध्ये सबैभन्दा बढी पात्र रहेकाे कथा हाे । यस कथामा ३६जना पात्रहरूकाे कथा छ । बढी पात्र भएर कथा अस्पष्ट भयाे कि भन्ने डर लागिरहेकाे थियाे । तर कथा सलल नै बगेकाे रहेछ ।
'आमाको मन मैले साहित्य क्षेत्रमा लागेर मलाई पुरस्कार दिलाउने कथा हाे । भानु पत्रिकाले पत्रिकामा बर्षभरि प्रकाशित 'गद्य रचना पुरस्कार २०७२' यस कथालाइ प्रदान गरेकाे छ । यसरी याे कथामा पाएकाे पुरस्कार नै मैले साहित्यमा लागेर पाएकाे एक मात्र पुरस्कार हाे । पुरस्कारका लागि म लेख्दिनँ तापनि 'देउती जगाउनै सकिएन' भन्थ्याै खेलहरू खेल्दा बाल्यकालमा । पुरस्कारकाे क्षेत्रमा याे कथाले मेराे देउती जगाएकाे छ ।
'शान्तिधाम' आफ्नै प्रकारकाे कथा भएकाेले पाठकलाई बुझ्न अस्पष्ट भएजस्ताे लागे पनि जति पाठकले पढ्दा बुझ्छन् वा पाठकलाई कस्ताे अनुभूति हुन्छ त्याे नै पर्याप्त रहेछ । कथा सफल नै रहेछ ।
एक पछि अर्काे कथा उत्तिर्ण हुँदै गए । अझै एउटा कथा ‘सुनको पलङ’ बाँकि छ । के कसो होला ? यो कथा मैले लेखेका सबैभन्दा लामो कथा हो । पाठकहरूले कथा लामो भएका कारण बिचैमा पढ्न छाडेभने कथा अनुत्तिर्ण हुने छ र कथा सङ्ग्रह नै असफल हुन्छ कि भन्दै कथा पढन थालेँ । कथा पढ्न थालेपछि कथाका प्रसङ्गहरूले पाठकमा जिज्ञासा पैदा गरेर कथा नसकुन्जेल पढ्न प्रेरित गर्ने शक्ति यस कथामा पनि रहेछ र नजानिदो पाराले शिक्षा दिन पनि सक्षम भएको रहेछ ‘सुनको पलङ’ । यस कथाले पनि उत्कृष्टता प्राप्त गरेपछि “अन्तिम आयाम” कथा सङ्ग्रह नै उत्कृष्ट हुन पुगेको स्वमूल्याङ्कनले म पनि आफूलाई सार्थक जीवन गुजारेको मिठास अनुभव गर्न पुग्छु ।
जेहाेस् “अन्तिम आयाम” कथा सङ्ग्रह उत्कृष्ट हुन सफल हुँदा कथा क्षेत्रमा म पास भएकाे महसुस गर्न पुग्छु ।
🔴
२०७७ असोज ९ शुक्रबार, धरान
परिमार्जन २०७७असाेज १२
🙏🙏
पुनश्चः— यो कथा सङ्ग्रह पढ्न चाहनु हुन्छ भने प्रकाशक पाँचपोखरी प्रकाशन गृह न्यूरोड काठमाडौंमा उपलब्ध छ । मेरा पुस्तकहरू
१. अन्तिम आयाम –कथा सङग्रह
२. नौरङ्गी – एक सय एक लघुकथा
३. मानव संसार–उपन्यास
पाँचपोखरी प्रकाशनमा उपलब्ध छ । होम डेलिभरीको पनि व्यवस्था छ । होम डेलिभरीका लागि सम्पर्क फोन —९८४११७१०८५ र ९८४१३५५८६५फोनमै अर्डर गर्नुहोस् वा उक्त नं.मा आफ्नो फोन नंं टिपाउनु होस् ।
🙏🔥🙏'''
 

 

Thursday, August 27, 2020

(लघुलेख)नेपाली राजनीति र साहित्य

 

नेपाली राजनीति र साहित्य तीन प्रकारको रहेछ |
१.मन्त्र राजनीति र साहित्य
२. यन्त्र राजनीति र साहित्य
३.तन्त्र राजनीति र साहित्य
१.मन्त्र राजनीति र साहित्यको हालीमुहाली र ढलिमली
परापुर्वकालदेखि अहिले सम्म नै चलिरहेको छ | मन्त्र राजनीति भनेको खुसुक्क एउटाले अर्को नेताको कानमा सुनाउने र नेतालाई सिध्दान्तच्युत गराउने अचुक मन्त्र प्रयोग गर्ने राजनीति हो | उदाहरणका लागि गिरिजाले प्रचण्ड को कानमा त्यस्तो मन्त्र सुनाए कि नेपालको जनयुध्दका सबै आकांक्षा र उद्धेश्यहरु ध्यस्त मात्र भएनन् कि यथास्थितिको प्रखर पहरेदारको रूपमा क्रान्तिकारी नेताहरु प्रकट भए | त्यो मन्त्रको प्रभावबाट अब नेताहरु मुक्त हुने छन् भनि आश गर्नु निरर्थक छ | यति उदाहरणले नै मन्त्र राजनीति कति डरलाग्दो हुन्छ भन्ने थाहा भईसकेको छ | तसर्थ मन्त्र राजनीतिको काट मन्त्र राजनीति नै हो भन्ने पनि बुझ्न आवश्यक छ | अब नचाहिने मन्त्र नसुनेर मुलुक र जनहित हुने नयाँ मन्त्र जप्ने वा सुनाउने बेला भएको छ | त्यो मन्त्र हो "नयाँ राजनैतिक शक्तिलाई साथ दिएर पुराना सढ़े गलेका पतित शक्तिहरुलाई पाखा लगाएर देशको नव निर्माण गर्ने |"
मन्त्र राजनीतिबारे कुरा गरिसकेपछि मन्त्र साहित्यबारे कुरा गर्दा नेपाली साहित्यको आकार विकास नै मन्त्रभित्र खुम्चिएर रहेको पाईन्छ | 'रामायण ' देखि 'माधवी', 'राधा' 'सेतो धरती' सबै मन्त्र साहित्य हुन् यति बुझिसकेपछि तिनीहरुले कसको प्रतिनिधित्व गर्छन र कसको सेवा गर्छन स्पष्ट छ | संकुचित मन्त्रवालाहरुको | मन्त्रवाला साहित्य अब युगपरिवर्तन सापेक्ष नभएकोले 'नयाँ साहित्य'को आवश्यकता भएको हो | संकीर्ण मानसिकता बोक्नेहरुले जति नोक्सान पुर्याए पुर्याए अब तिनीहरुलाई परास्त गरेर नयाँ सोचको राजनीति र साहित्यको विकास गर्नु पर्ने बेला भएको छ |
समय बलवान हुन्छ समयलाई चिनौ |हामीलाई थिचिरहेको सामन्ती निरंकुशताको आकाश सकिएर गणतान्त्रीक व्यवस्था हाम्रा निम्ति हामीले ल्याएका छौ , यो कुनै नेताको इच्छाले आएको होइन | यसको सदुपयोग हाम्रा लागि हामी आफैले गर्नु पर्दछ |
 
क्रमशः

Thursday, August 20, 2020

सरण राईका प्रेरक भनाइ

   सरण राईका प्रेरक भनाइ

 

**

 

--सबैभन्दा घृणास्पद - अर्काकाे दिमाग कब्जा गरेर रजाइ गर्नु  !

****
-- अर्कालाई आफ्नाे बुध्दिकाे साँचाे बुझाएपछि मान्छे मान्छे रहदैन !
 
****

सांसारिक जीवनकाे साैन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य !
 
**** 
 
 

( लघुसंस्मरण ) हार्नहार्न लागेको बेला

 

( लघुसंस्मरण )
हार्नहार्न लागेको बेला
 
सरण राई
 
कृष्ण धरावासी 'समस्ति'को सम्पादक भएका बेला एउटा रचना दिन गएको थिएँ | वहाले उमेर सोधेर ६० नाघेको भनेपछि संस्मरण लेख्नुहोस् भनेका थिए | मजस्तो सर्वसाधारणको सस्मरंणको के अर्थ होला र ? भनेर लेख्ने मन कहिल्यै गरिनँ |
आज म अवकाशप्राप्त सहप्राध्यापक , जागिर , काम धन्धा नभएको , त्यसो भएपछी साथीभाई पनि नभएको अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुग्न लागेको मान्छे कसरि बाँचिरहेको हुँला ? प्रश्न उब्जिन्छ मनभरी |
जीवनका कैयो उतार चडाव, उकाली ओराली , आरोह अवरोहमा हतोत्साहित नभई जीवन गुजार्ने मैले आफ्नो गोप्य गन्तव्य बनाएको थिएँ | त्यही गन्तव्यका लागि बाँचियो | त्यो गन्तव्य समय र उमेर अनुसार परिवर्तन भएको छ तर मूल ध्येय 'मानव सेवा'भने अपरिवर्तनीय नै रहेको छ |
मानव सेवाको लागि कुनै समय सामाजिक सेवा , राजनीति , शिक्षा आदि माध्यमहरु अपनाइयो | सफलता असफलता दुवै भोगियो र अनुभव बटुलियो जुन अनुभव 'कपाल नभएको मानिसको लागि काइयो' जस्तै भएको छ |
अवकाशप्राप्त भएपछी साहित्य लेखनको धुन चड्यो | कम्प्युटर टाइप गराउन पसल पसल चाहर्नु पर्ने भयो | आफै सिक्ने विचार गरेँ , एकजना साथीलाई पनि भने "के को कम्प्युटर ? २० ,२१ उमेरका केटाहरुको काम !" तर मैले सिक्न छोडिनँ र आज यो अवकाशप्राप्त एक्लो जीवनमा काम लागिरहेको छ |यो कम्प्युटर, फेसबुक , ब्लग , ट्वीटर , गुगल्स , याहु आदि नभएको भए म के गरिरहेको हुन्थे होला ? ५२ पत्तीमा हुने धेरै सम्भावना थियो जसमा मेरा धेरै साथीहरु लागेका छन् |
अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुगेको म बेला बेला निरास , हतोत्साहित हुनु स्वाभाविक हो | यसरी हतास भएको बेला आफैले आफ्नो मनलाई सम्झाउँछु 'अब आफ्ना कामहरूको (फिनिसिङ् टच दिने ) बिट मार्ने ' र 'नयाँ कुरा सिक्ने जाँगर भइन्जेल मानिस बुढो हुदैन ' भनेझैँ नयाँ कुरा सिक्ने कोसिस गरिरहने |त्यही सिक्ने क्रममा यो संस्मरण सोझै फेसबुकमा लेखिरहेको छु , लेख्न सिकिरहेको छु |
हार्नहार्न लागेको बेला म आफ्नो हार स्वीकार्न चाहन्नँ र हारलाई जितमा बदल्न आफ्नो गन्तव्य , ध्येय र मेरो जीवनको मुल्य के हो आफैसँग सोध्ने गर्छु ? संस्मरण लेख्ने बिचार मनमा आउँछ , यो लेखनले मलाई केही दिन एक्लोपनबाट निश्चित रूपमा टाढ़ा राख्नेछ,हार्नहार्न लागेको बेला जितको अनुभूति दिलाउनेछ |
 
क्रमशः
 
क्रमश :

Thursday, August 13, 2020

(लघुसंस्मरण) मासिएकाहरू

 

(लघुसंस्मरण)
मासिएकाहरू 
 
सरण राई
 
करिब १३ वर्षको उमेरमा गाउँघरका २५/३० जवान लाठेहरू हिङखुवा खाेलामा बिहानै माछा मार्न गएका थियाैँ । केटाकेटी मसमेत तीनचार जना मात्र थियाैँ । म पिताज्युसँग र अरुहरू पनि ठूला अविभावकसँग गएकाले त्याे माछा मार्ने टाेलीमा समावेश हुन पाएका थियाैँ । यसभन्दा अगाडि याङटाङ खाेलामा पनि दुवाली फर्काएर माछा मारेकाे देखेकाे थिएँ । याङटाङ जाँदा ७/८ जना भए हुन्थ्याे । तर हिङ्खुवा जाँदा भने २५/३० जना भएरै जानुपर्ने कारण खाेला ठूलाे र माछा पनि धेरै पाइने भएर नै थियाे ।
 
खाेला पुगेपछि दुवाली फर्काउनै निकै समय लाग्याे । त्यसपछि माछा मार्ने काम सुरू भयाे । दहमा पनि ठूलाे ढुङ्गाकाे कुर छेकेर माैवा र तितेपाती कुटेर पिसेर बनाएकाे माछाकाे बिष हालियाे । केही बिषले भेटेर पल्टिएका माछा लाठेहरूले समाते । अझै कुरमा भएका माछाहरूलाई पनि पूरा हात पाखुरासम्म हुलाएर समाते । पछि भाग लगाउदा एक जनाकाे भागमा एक किलाे जति परेकाे थियाे ।
 
त्यसकाे केही समय पछि धरान झरेँ । धरानबाट बाेराबानकाे खेती जाँदा स्थानीय जातकाे माछाहरू हिले, गराइ,पैया, टेङ्ग्रा,गराइ, बुहालि,सिङ्गे, पाेथी आदि अनेकाैं जातका माछाहरू प्रसस्तै खाइयाे । भान्सामा भाँडा बसाएर खेतकाे आलीमा थापेकाे ढाेडियामा परेकाे माछा ल्यायाे, पकायाे,खायाे । त्याे बेला मधेसमा २०१८ देखि ४४/४५ सालसम्म खाेला, पैनी, खेत पाेखरी जताततै माछा पाइन्थ्याे । आफ्नाे पैनीकाे मुहान पनि आफ्नै नीजि हुन्थ्याे । एक पल्ट मुहानकाे माछा ८/९ टिन मैले नै अरुलाई अधिया मार्न लगाएर जम्मा गरेकाे थिएँ ।
 
कुलझाेडामा प्रधानाध्यापक हुँदा शनिबारकाे दिन त्यहाँका लाेकल मानिसहरूसँग पैनी थुनेर पानी उक्साएर माछा मार्न थाले पछि मैले एउटा निकै ठूलाे माछा समातेकाे थिएँ । त्याे देखे पछि सबै तरूनी तन्नेरीहरूले मलाई पानीले छ्यापे । छक्क परेँ । पछि पाे मलाई थाहा भयाे थारू, धिमाल वा रैथाने मानिसहरूकाे चलनअनुसार ठूलाे माछा समात्नेलाई पानी छेपेर सम्मान गरेका रहेछन् ।
 
त्यति बेला माछा किन्न पर्दैनथ्याे । निशुल्क नै भना‌ैं पाइन्थ्याे ।तर जनसंख्याकाे बृध्दिसँगै लाेकल जातका माछाहरूका बीउ न‌ै मासियाे । बिष हालेर माछा मार्दा बच्चै समेत मर्याे । बिजुली, ब्लाष्टले त अण्डै समेत सकियाे । बीउ नै मासिए पछि मधेशमा लाेकल माछा मासियाे । पहाडमा पनि त्यहि हाल भयाे ।अब निशुल्क माछा ... कल्पनै नगरे हुन्छ ।
 
पानी खान हुन्थ्याे सबै खाेलाकाे । फेवा तालकाे पानी उघाइ उघाइ खाने म छँदैछु । अहिले त्याे तालकाे पानी कहाँ खान सकिन्छ र !
 
हरेक निशुल्क पाईने कुरा अब शुल्क नतिरी पाइदैन । स्थानीय कुकुरकाे छाउराे माग्दा निशुल्क पाइन्छ अहिलेसम्म । रेबिजकाे डर देखाएर नगरपालिकाले धेरै कुकुर मार्याे । अहिले प्रायजसाेकाे बन्ध्याकरण भइसक्याे । अबकाे दस/ बीस वर्षपछि हाम्रा स्थानीय जातका कुकुर मासिइसकेका हुन्छन् । भाेटे कुकुर अहिले सम्म कतैकतै हाेला कि ! भाेटे कुकुर एल्सेसियन कुकुरभन्दा के मा कमि छ र ? बिरालाे, कुखुरा, हाँस, गाइगाेरु,घाेडा, हात्ती,जीवजन्तुकाे अवस्था पनि त्यस्तै छ । दस बीस वर्षपछि कुकुर पाल्न मन लागे विदेशीसँग किन्न बाहेक अरु विकल्प हुने छैन ।
 
स्थानीय जाँड रक्सि मास्न अभियान न‌ै चलाएका छन् । स्थानिय साधनस्राेत सकिएपछि स्वतः परनिर्भर हुनुपर्ने हुन्छ । स्थानीय प्रविधी, सीप मासि सकेपछि स्थानीय मान्छे पनि मास्ने अभियान षडयन्त्रकारीहरूले गर्न सक्छन् , सचेत बनाैँ ।
वंशहत्या " जेनाेसाइड" !
 
🔴
२०७७ साउन २९
🔥☯️

Wednesday, August 12, 2020

(लघुलेख) दाैतेरीहरू

 

(लघुलेख)
दाैतेरीहरू

सरण राई

दाैतेरीहरू भनेपछि समकालिन भनिरहनु परेन । एकछेका कुनै न कुनै रूपमा समयकाे हुण्डरी बतास सिरसिरे एकसाथ बेहाेरेकाे दाैतेरीहरूकाे सम्झना अाउनु र सम्झनु उनीहरूलाई...दाैतेरीपनकाे अानन्द ।
धेरै समय भेट नहुँदा ,उनीबारे केही नसुन्दा शङ्का उब्जिनु स्वाभाविक हुन्छ र भेट्दा भन्न पुगिँदाे रहेछ ,"तपाईं पनि हुनुहुन्छ?"
हाे पनि क्षणभङ्गुर चाेला मानिसकाे!
पत्रपत्रिका , रेडियोकाे समाचारबाट धेरै दाैतेरीहरूबारे थाहा हुन्छ ।फलानाे क्लासफ्रेण्ड मन्त्री भएछ - म भन्छु ।ऊ मन्त्री भएर के गर्नु ? मलाई चिन्दैन ।म मन्त्री भएकाे भए उसले मेराे क्लासफ्रेन्ड मन्त्री भएछ भन्थ्याे । र , म चिन्दिनथिएँ ।

धेरै समयसम्म जुन साथी दाैतेरीकाे बारेमा केही सुनिएकाे थिएन, ऊ विदेशकाे सुखसयलकाे नियात्रा पत्रिकामा छापेर देखा पर्दा खुसी लाग्याे साथै अाफूलाई त्यस्तो सुखसयल नजुरेकाेमा सम्झन्छु फटाहा, छट्टुहरूले खाएकाे देश... खलनायकहरू नायक भएकाे व्यवस्था अवस्था ।
देख्छु माथि पुगेका दाैतेरीहरूकाे रवाफ ! अनैतिक अवैध अमर्यादित सिडी उक्लि छिट्टै माथि गएकाले अन्तरमनभित्र अत्तालिएका हराएका ! त्यसाे हुँदा मनकाे शान्ति हराएर छिट्टै माथी गएका ।
सर्वसाधारण अाममान्छे भएर बाँच्न सकेकाेमा सन्तुष्ट छु ।कमसेकम अन्तरमन त पवित्र छ ।
माथि पुग्ने दाैतेरीहरू नै छिट्टै माथि पुगेका छन् ।तलै रहेर अधुरा कामहरूका फिनिसिङ टच दिन पाऊँ !

२०७५साउन २६,सुमेरू अस्पताल

 

Friday, August 7, 2020

(लघुलेख) नयाँ शक्ति

 

(लघुलेख)
नयाँ शक्ति

सरण राई

हरेक पल्ट हारेर पनि कहिल्यै नहार्ने जनता हुन् । हरेक पल्ट दुष्ट निकृष्टहरूले जनताकाे सपना तुहाएर अाफ्नाे स्वार्थ पूरा गरेका छन् ।
पुराना शक्तिहरुले बारम्बार देश र जनतालाई धोका दिएपछि नयाँ शक्तिको उदय स्वागतयोग्य हुन्छ | देशलाई नै नयाँ शक्तिको जरुरी छ ।
देशको आवश्यकतालाई हेरेर होइन आफ्नो जातलाई केन्द्रमा राखेर हेर्ने परिपाटीले गर्दा आजसम्मका तथाकथित विचारक, विश्लेषक हुँ भन्नेहरु र नेता र दलहरु पनि असफल भई सकेको अवस्था छ |
मुलुक जोगाउने नयाँ शक्ति देशले नै जन्माउने छ आफ्नो रक्षाको लागि ,सार्बभौम सत्ता जोगाउनकालागी | अब एकलकाटे सोच काम लाग्दैन , सबै उदांग भैसकेका छन् |
अाजसम्मकाे विश्व दर्शन षड्यन्त्रको दर्शन रहेकाे छ । मरेपछि पाइने स्वर्ग, माेक्ष, परमात्मा, काल्पनिक शास्र , पूर्वजन्मकाे फल, पुनर्जन्म अादिकाे चक्करमा फसाइएकाे सर्वसाधारण ! उनीहरूकाे श्रममा माेज गर्ने नेता, अगुवाहरू । अल्मलाउने सैध्दान्तिक छलकपटमा भुलिएका पिछलग्गुहरू ।
सही ज्ञान, चिन्तन र बैज्ञानिक साेचकाे अभावमा जनताजनार्दनलाई लाटाे गाेजाङ्ग्राे बनाईएकाे छ र "लाटाेकाे देशमा गडाहा तन्नेरी !"
विवेक मरेकाे अवस्था ; भ्रमात्मक झुठाे नामधारी ज्ञानकाे भुलभुलैया ! यस्ता भुलभुलैयाले अग्रगामी शक्तिकाे जन्म हुन नदिन अनेकाैं प्रपञ्च रचिरहेकाे भए पनि अग्रगामी नयाँ शक्ति जन्मिन्छ नै । त्यस शक्तिले मात्र अहिलेकाे भयानक षड्यन्त्रकारी राष्ट्रघाती निकृष्ट दुष्टहरूकाे चङ्गुलबाट देश र निमुखा बनाइएका जनता जनार्दनलाई बचाएर देशकाे नव निर्माण र विकास गर्न सक्छ ।
र, नयाँ शक्तिकाे उदयले सबै सपनाहरू पूरा हुने छ । अशावादी सबै ! केही समय वर्तमान अँध्याराे - मिरमिरे बिहान अाउन लाग्दा । नयाँ शक्ति उज्यालाे प्रखर सुखकाे बिहान !
🔴
२०७७ साउन २३

🔥☯️🔥

काेपा ह: कुलमर्दन राई र काेमा कृष्णकुमारी राई

 

 

Tuesday, August 4, 2020

(लघुआत्मालाप) हुँदा / नहुँदा

(लघुआत्मालाप)
हुँदा / नहुँदा

सरण राई

सरण राईले आफू हुँदा/ नहुँदाकाे कथा (मानिसले भाेगेका/भाेग्ने ब्यथा) लेख्न थालेका रहेछन् । कस्ताे लेख्छन् हाेला ?
अहिले त उनी बाँचेका छन् र आफू हुँदाकाे अनुभव अनुभूति सुख दु: खका कुरा प्लट मिलाएर लेख्न सक्छन् । त्याे चाखिलाे हुने नहुने पनि भन्न सकिदैन ।
उनले नभएका गइर्सकेका उनका पत्नी र अरूका कथा लेखेका छन् । उनी हुँदाकाे कथा त उनैले लेख्लान्, तर उनी नहुँदाकाे कथा उनले लेख्न सक्छन् र ! लेखेभने पनि त्याे काल्पनिक फाेस्सा हुन्छ । उनी जस्तै अरबाै जन्मेर गईसके, ती सबकाे कथा पढेर साध्य हुन्छ ? एक समयका रङ्गरवास मलिन झकिझकाउ---क्षणिक झाेक्का !
अहिले भएकाहरू पनि त्यस्तै हाेइनन् र ? सदा रहने त काेही रहेनछन् । तापनि भएकाहरूका लागि हाे सबथाेक !
कालान्तरमा सब क्षणभङ्गुर सावित हुने नै छन् । भएता पनि कसरी याे कथा लेखन गर्दा उद्देश्यमूलक हाेला, सार्थक हाेला ? सल्लाह दिन सकिन्छ तसर्थ यस्ताे लेख्नुहाेस् भनेर सल्लाह, सुझाव खाेजिरहेका छन् , बिचरा अदना ! कथा लेख्न खाेज्ने सरण ।
अस्ताउनु भन्दा पहिले चम्किने किरण ! जेजस्ताे भए नि किरण हाे । त्याे किरणलाई सम्मान गर्नु निभ्न लागेका दियाेलाई हावाहुन्डरीबाट केहीबेर भए पनि बचाउनु सरह हाे ।
जिउँदाे हुँदाकाे जिवन्त कथा लेख्न दिनुहाेस् । अन्तिम किरण चम्किन दिनुहाेस् । गईसकेपछि त " ला बाबै केरा खा" जस्तै हाे ।
अस्ताउनुभन्दा निमेष अगाडिसम्म पनि चम्कन चाहन्छ/ चम्किरहन्छ मानिस ! त्यस्तै एक उनी पनि ...!
🔴
२०७७ साउन २३

🔥🌹🌹🔥🔥