Followers
Wednesday, June 9, 2021
(लघुलेख) आत्मनिर्भर
(लघुलेख)
आत्मनिर्भर
सरण राई
वर्तमान अवस्था र व्यवस्था अवलाेकन मूल्याङ्कन गरेर भावी दिशा निर्धारण गर्ने इमानदार बाैध्दिक संयन्त्र बन्नै नसक्ने परनिर्भर अवस्थाले करुण निरीह गरिब निमुखा देश - बिचरा भेडाे बनाईएका देशवासी !
देशवासीलाई भेडा निमुखा अदना निरीह भिखमङ्गा बनाउने काे ? दाेषी काे ?
आत्मनिर्भर क्षेत्र के छ ? के हुन सक्ला ? खाेइ विश्लेषण गर्ने स्वतन्त्र बुध्दिजीवी ?
दलेझाेले पहिलाकाे दरबारकाे भाइभारादार र भाटभन्दा कुन अर्थमा फरक छन र ?
यस्ताे अवस्था कसरी भयाे ? बुध्दि भुटिएकाे छ कि छैन ?
प्रश्न साेध्ने,साेच्ने र निष्कर्ष निकाल्ने बुध्दि बुध्दिमान दिमाग र देशवासीलाई रिमाेट सञ्चालित परनिर्भर राजनीतिले कुटुकुटु खाईरहेकाे छ , बुध्दि साेच र राष्ट्रियता निमिट्यान्न भएपछि देशसित के बाकि रहन्छ र ?
पहिलाे र अन्तिम सर्वकालिक सर्वशक्तिशाली सार्वभौम निष्कर्ष, रणनीति कार्यनीति सर्वजनहिताय, आत्मनिर्भर राजनीति !
आफ्नै माटाे सुहाउदाे आत्मनिर्भर माैलिक राजनीति !
🌹
२०७८ जेठ २७
🌹🌹
Saturday, April 17, 2021
लघुआत्मालाप) आज एक दिन
(
लघुआत्मालाप)
लघुआत्मालाप)
आज एक दिन
सरण राई
हिजो गइ सक्यो, हातबाट फुत्केको सम्पति , समय वा उम्केको माछाजस्तो । भोलि अनिश्चित छ । आज हातमा छ । के के गर्न सकिने आजको अहिले मात्र हो । अहिले गरिएन भने त्यो अहिले पनि अघि हुन्छ ,हिजो हुन्छ ।
आज मैले के गरेँ ? केलाउदै छु अहिले दिनभर गरेका कामहरू-- बिहान प्रातकालीन हिडाई. गमलाको फूलमा पानी लगाउने , केहि समय फेसबुक हेर्ने , विश्व प्रशिध्द कथा पढ्ने अनि पढ्दा पढदै तिनको एउटा कथा लेख्ने मुड भयो ।
आजको प्रमुख उपलब्धि तिनको मनमा रहेको पीडा ''के गर्न सकिन्छ र !?'' भन्ने कथा लेखेर व्यक्त गर्ने कोसिस गरेँ । .
यो कथा लेखनले मलाई आज एक प्रकारकाे सन्तुष्ठी दियाे, प्रसन्नता पनि दियाे । आगामि दिनहरूका लागि एउटा बाटाेमा बढ्ने निर्देशन पनि अङ्कित गरि दियाे । म अब निश्चित गन्तव्यका लागि अभ्यस्त हुन थालेकाे छु ।
आजको प्रमुख उपलब्धि -- ''के गर्न सकिन्छ र !?'' कथा लेखन ।
याे कथा लेखनले आजकाे दिन खेर गएन ।
Sunday, April 11, 2021
लघुलेख) आज देशकाे कुरा गराैँ
लघुलेख)
आज देशकाे कुरा गराैँ
सरण राई
देशकाे कुरा सर्वसाधारण आम मान्छेले गर्न हुन्छ कि हुँदैन ? देशका लागि चिन्तन गर्न हुन्छ कि हुँदैन ? याे साेध्ने र साेच्ने नै हाेईन । तर...
आम मान्छेहरू आज सबैभन्दा बढि बिचरा भएका छन् । अनेकन् उपभाेग्य वस्तुहरूकाे विकास, आर्थिक उन्नति, उपभाेक्तावादि संस्कृतिले विचरा सर्वसाधारण मान्छेहरू "सिसिफस" भएका छन् । कमाउने मेलाे राेजगार कम छ, चर्काे मूल्य, जीवन स्तर र डेमाेन्ट्रेसन एफेक्ट ! खाध्धान्न, लट्टाकपडा, उपचार खर्च,भाडा, यातायात, माेबाइल चार्ज, टेलिफाेन, इन्टरनेट, बिजुलि, मालपाेत, शुल्क , फेसन आदि अनेकन खर्च धान्न नसकेर आम मान्छे देशबारे साेच्ने,केही गर्ने अवस्थामा छैनन् । पहिलाे त गरेर खाने वातावरण छैन । केही गर्न सकिँदैन भन्ने मानसिकता चरमचुलिमा !सरकार आम मान्छेकाे हक,हित र उन्नयनकाे पक्षमा देखिदैन । समग्रमा कुनै दिर्घकालिन राष्ट्रिय सहमति छैन ।
आजसम्मकाे इतिहास केलाउदा जनता (जनार्दन भनी टाेपले पनि), सर्वसाधारण, आम मान्छे वा देशवासीहरूले देश आफ्नाे हाे र देशका मालिक जनता (सार्वभाैमिकता जनतामा रहेकाे संबिधानमा लेखिए पनि) हाैँ भन्ने हिसाबले कहिल्यै साेचेनन्, साेच्ने हैसियत पाउन सकेनन् ।
जहिले पनि दाल भात डुकुकाे समस्यामा अल्झाईएकाे जनतालाई देशकाे बारेमा साेच्न सक्ने अवस्था बनाउने प्रयत्न सरकार, दल र जान्नेबुझ्ने भनाउदाहरूले कहिल्यै गरेका छैनन् । ती तथाकथित जान्नेबुझ्ने भनाउदाहरू सदैव विदेशीकाे खेलाैना बने, गाेटि बने । देश बनाउने कुरामा यीनीहरूकाे ध्यान कहिल्यै गएन भएन । नकारात्मक साेच, नकारात्मक वातावरण, दुखद कहालिलाग्दाे अवस्था र दास मनाेवृत्ति अहिलेसम्मकाे फाेहाेरी राजनीतिकाे उपज भएकाे छ ।
अहिले सिध्दान्त,विचार आस्थाकाे ग्राइण्ड डिजाइन याेजनाबध्द ढङ्गले यति धैरै बेइज्जत भएकाे गराइएकाे छ कि राजनीति पनि सिध्दान्तमा आधारित हुन्छ भन्ने साेच्नै नसकिने मानसिकता तयार भएकाे छ। एउटा पूरै पुस्ता अराजनीतिक बन्दै छ, जुन पुस्तालाई नैतिकता, देश,सत्य, न्याय र अग्रगमनसित कुनै सराेकार छैन । सानै स्वार्थप्रेरित दलेझाेले, विवेकहिन दलेझाेले झुण्ड चारैतिर !
देश विकास गर्ने नीति छैन, विदेशमा युवाशक्ति पलायन गराई निरंकुश शासन चलाउने श्रम नीति, दलहरूसित शिक्षा, सीप, विकास र राष्ट्रिय एकताबारे राष्ट्रिय सहमतिका एजेन्डा छैन ।
भाडाकाे सिपाही बनाईरहने नीति भएसम्म विचरा एक थरी सदैव राष्ट्रिय मूल प्रवाहबाट बाहिरै भईरहने छन् ।
दु:खका साथ भन्नुपर्दा देशकाे अल्पकालिन र दिर्घकालिन कार्यनिति र रणनीति छैन , त्यसताे राष्ट्रिय सअमतिमा आधारित राष्ट्रिय नीति बन्न सकेकाे वा बनाउने प्रयत्नपनि भएकाे छैन । साना ठूला सबै देशकाे देशलाईअगाडि बढाउनेबारे सर्वसम्मत राष्ट्रिय सहमति हुन्छ र सरकार जुनसुकै दलकाे बने पनि साे सहमतिअनुसार कार्य क्रियाकलाप गरीरहन्छ । तर हाम्राे देशमा सरकार, कर्मचारी प्रशासन, दल र नेता कार्यकर्ता झाेले, विदेशीद्वरा सञ्चालित दास विवेकहिन बिकेकाे र देश पनि बेच्न तयार भएकाहरू राष्ट्रिय सहमतिका लागि छलफल समेत गर्न नसक्ने फाेहाेरी गाेटि राजनीतिकाे कठपुतलि भएकाे दुर्भाग्यपूर्ण अवस्था देखिन्छ ।
यस्तै अवस्था सदैव रहिरहदैन । देशलेआफू सुरक्षित, अखण्ड र सार्वभाैम रहन राष्ट्रिय सहमतिका लागि सबै अट्ने साझा असल राष्ट्रिय राजनीतिकाे थालनी गर्ने नै छ । फाेहाेरी गाेटि राजनीतिकाे अन्त भएर सबैकाे साझा देश निर्माण हुनेछ, र हुँदै छ । असल राजनीतिले देश र देशवासीकाे मुहार फेर्नेछ, र फेरिदै छ ।
२०७७चैत २५, २७
Thursday, April 1, 2021
(लघुसस्मरण) पत्नी, म र कार
(लघुसस्मरण)
पत्नी, म र कार
सरण राई
"गाडि (कार) बेचेँ " भनेर छाेराले सूचना दियाे । कार हुँदा बेला बेला त चढिन्थ्याे नै ।
त्याे कार पत्नीकाे लागि नै किनेका थियाैँ । धरानबाट डायलाइसिस गर्न बिराटनगर जानुपर्ने । हप्तामा दुई पटक, पछिपछि त हप्तामा तीन पटक ।
धरानमै पनि अस्पताल छ तर डायलाइसिसकाे लागि पालाे नपाइने । पाए पनि हप्तामा एक पटक बढिमा तीन घण्टा । जब कि डायलाइसिस हप्तामा दुईपटक चार चार घण्टा गर्नु पर्दछ । त्यसैले बिराटनगर जानुपर्ने ।
बिहान पालाे पर्दा ७बजेदेखि ११बजे सकिने हुँदा बिहानै हिँड्नु पर्ने । ६.३० तिर पुग्न ४.००बजे बिहानै बस चढ्नु पर्ने । ४.००बजे बसपार्क पुग्न ३.१५भन्दा अगाडि नै हिँड्नु पर्ने, खाजा बनाएर बाेक्नु पर्ने हुँदा खाजा बनाउन २.०० बजे उठ्नु पर्ने । बाँच्नका लागि हामी पति पत्नी २.००बजे नै उठेर तयार हुने गर्थ्याे ।
घडेरी बेचेपछि छाेराले नै सेकेन्डहेन्ड गाडि उसकै नाममा नामसारी गरेर किनेर ल्यायाे । गाडि भएपछि ५.००बजे हिड्दा हुने भयाे, बसकाे घुइचाे धक्काधक्की पनि बेहाेर्न परेन ।
काठमाडौंमा पनि डायलाइसिस गर्दा टेक्सीकाे झमेलाबाट मुक्त भयाैँ । सिकिस्त भइन् भने अस्पताल पुग्न सजिलाे भयाे । कारले ठूलै काम दियाे बिरामी पत्नीलाई स्याहार्न ।
कारसँग फाेटाे कहिल्यै खिचिनँ । कार बेचेकाे कुरा सुनेपछि त्याे कारसित फाेटाे खिच्न मन लागेर ग्यारेजमा जान्छु तर कार नभएकाे रित्ताे ग्यारेज पत्नी नभएकाे मजस्तै । अब कहाँ फाेटाे खिच्न पाउनु र!
त्याेकारबाटै हाम्राे (पत्नी, म र कार चलाउने छाेरा)धरानबाट काठमाडौंकाे अन्तिम यात्रा पनि भएकाेले कारसित नजानिदाे आत्मीयता गाँसिनु स्वभाविक थियाे र म त्यसप्रति कृतज्ञ पनि थिएँ । कारमा पत्नीले कतै जान मलाई पर्खिरहेकी छिन् कि भनेर झुक्किएर (तिनी नभएकाे बिर्सेर) कारलाई हेर्थे !
काठमाडौंकाे सुमेरु अस्पतालमा पत्नीकाे देहान्त भएपछि शववाहनमा तिनकाे लास धरान ल्याउदा सिन्धुली बजार काटेपछि शववाहन र माेटरसाइकल ठाेक्कियाे । माेटर साइकल चालकलाई केही नभए पनि माेटरसाइकल भने क्षतिग्रस्त भएकाे थियाे । त्याे घटनापछि सिन्धुली जिल्ला प्रहरी ठानामा शववाहन एक घण्टा राखिएकाेले धरान राति ८.३०बजे मात्र पुगेकाे थियाैँ । लासवाहनलाई पछ्याउदै त्याे कारमा साली र बहिनीहरू आएकाेले त्यसले मेरी पत्नीकाे अन्तिम संस्कारसम्म पनि साथ दिएकाेले कारलाई सायद म कृतज्ञतास्वरूप सुम्सुमाएर बिदा दिन सक्थेँ । तर त्यसाे गर्न पाइनँ ।
पत्नी नै नभएपछि कारकाे के काम ! चित्त बुझाउछु ।
त्याे कार देख्दा दिवङ्गत पत्नीसँग कारमा बसेर काठमाडौं, अस्पताल गएकाे दृश्यहरू आँखामा देखिँदा मन कुटुक्क खान्थ्याे ता पनि त्याे कार बेच्नेबारे सल्लाह नगरि बेचिसकेकाे सूचनाले मलाई अदृश्य झट्का लाग्छ । तर अब यस्ता झट्काहरू २०७२सालकाे बैसाख १२ काे महाभूकम्पकाे सबैभन्दा ठूला झट्कापछि ६ महिनासम्म आएकाे परकम्पकाे झट्काझैँ लाग्छ ।
झट्काबारे साेच्दा सँगसँगै काम गरेका एकजना समकालिनले अस्पतालमा आफ्नाे पत्नीकाे देहान्तकाे अकल्पनीय असहनीय ठूलाे मूल झट्का सहन नसकेर विषसेवन गरि आत्महत्या गरेकाे कुरा सम्झन पुग्छु ।
मैले पनि असहनीय अकल्पनीय मूल झट्का त सहिसकेकाे छु । अब मुल झट्का पछि आईरहने यस्ता झट्काहरू मैले बेहाेरी रहनुपर्छ, जुन दिन बेहाेर्न सक्तिनँ... जीवनबाट बिदा लिनु पर्दछ !
२०७७ चैत १७
Thursday, March 25, 2021
(लघुलेख) आज देशकाे कुरा गराैँ
(लघुलेख)
आज देशकाे कुरा गराैँ
सरण राई
देश नभए देशवासी हुने कुरै भएन । उहिलेजस्ताे युध्दमा पराजित गरेर अर्काकाे देश सक्ने अवस्था आज छैन ।
तापनि देशहरू सिमानामा युध्दरत छन् । देशकाे कुरा आउनासाथ देश कसरी बलियाे, शान्त र उन्नत बनाउन सकिन्छ भन्ने कुरा उठ्छ । देश शक्तिसाली भएनभने छिमेकी र अरूहरूकाे हेपाइ र पेलाइ खप्नु पर्ने यथार्थ छर्लङ्ग छ ।
देश कसरी उन्नत र शक्तिसाली हुन्छ ?
देश बनाउन र बचाउन अनेकाैं आधारहरू हुन्छन् । प्राकृतिक स्राेतसाधन, जनशक्ति, लाेकप्रिय सरकार र राष्ट्रिय एकताका साथै देशवासीहरूकाे सहि साेच प्रमुख हुन्छ नै ।
प्राकृतिक साधनस्राेत के कति छ ? अन्वेशन नभएकाे भए पनि सुन, फलाम,काेइला, तामादेखि बहुमूल्य ढुङ्गा (टरमालिन् र अन्य), लगायत जलस्राेत (विश्वकै दाेस्राे ठूलाे देश), सुनभन्दा २००गुणा महङ्गाे युरेनियम आदि अनेकाै छन् । तर ती स्राेत देशका लागि परिचालन हुन सकेकाे छैन । प्रत्येक पल्ट यी साधनस्राेतलाई धिताे राखेर राष्ट्रघाती नेताहरू सरकारमा गएका छन् र याे राष्ट्रघाती प्रचलन राजनीतिकाे जग बन्नाले नेपालमा राष्ट्रियता क्षयउन्मुख भई रहेझैँ देखिन्छ । प्राकृतिक साधनस्राेत देशका लागि भनेर साेच्ने र त्यसलाई परिचालन गर्ने नीति नहुनु प्रमुख समस्या हाे । यी साधनस्राेत र भुबनाेट(दुई ठूला देशका बीच) र भूपरिवेष्टित हुनुले स्वतन्त्र राष्ट्रवादि राजनैतिक दृष्टि र चिन्तन जन्मिन नसक्नु देशकाे सार्वभाैमिकताका लागि दिर्घकालिन रूपमा दु:खदायी हुन सक्छ ।
जनशक्ति नै देशकाे लागि साँचाे शक्ति हाे । नेपालकाे जनशक्तिबारे अन्तिम निष्कर्षमा पुग्न जरुरी छ । जनसंख्याको सार तत्त्त्व केलाएर जनशक्ति अधिकतम उपयाेग गर्न सके नेपालीकाे जीवनमा आमुल परिवर्तन आई विश्वमा शिर ठाडाे पारेर गाैरवाम्वित हुन सक्छाैँ । सम्मान पाउन सक्छाैँ !
राष्ट्रिय महत्त्वकाे कुनै विषयमा पनि राष्ट्रिय सहमति भएकाे छैन । जनशक्ति परिचालनबारे त छलफल भएकै छैन । यस्ताे हुनुमा सर्वशक्तिमान दलहरूमा आफ्नो देश बनाउनुभन्दा छिमेकी र शक्तिशाली देशहरूका भराैटे भई सरकारमा पुग्ने र टिकिरहने गलत साेच प्रमुख रहेकाे छ । यस्ताे साेचले काम गरिरहेसम्म राष्ट्रिय सहमति हुने कुरै हुँदैन ।
नेपालकाे हर क्षेत्रकाे सानाठूला हरेक महत्त्वपूर्ण कुराहरूका समस्त तथ्यहरू केलाएर छिमेकीहरू नेपाललाई मुठ्ठीमा राख्न सफल छन् । नेता, कार्यकर्ता, सर्वसाधारण जनता सबकाे मानसिक साेच भत्काउने बनाउने देखि लिएर आन्तरिक कलहमा फसाउने , (धर्म, क्षेत्र, जातिभाषा, संस्कारआदिका आधारमा ) विभाजित गरि एकतावध्द हुन नदिई राष्ट्रिय साेचकाे विकास हुन नदिनेजस्ता अनेकाैं खेल साेझै देखिने ... तर कसैले भन्न नसक्ने ! हामी आफू हाैँ कि हाेईनाैँ ? आफू स्वाभिमानी भई सबै नेपाली एकताबध्द रहि आफ्नो अवस्था कसरी उकास्ने- साेच्न नथाले हामीसित के रहला र ?!
स्वतन्त्र सम्प्रभुतासम्पन्न देश भएपनि देशवासीहरूकाे साेच परतन्त्रमुखी, दास, हीनताग्रस्त र परामुखी बनाईदै छ । केही गर्न नसक्ने वा सक्तैनाैँ भन्ने मानसिकताकाे विकास गराउन विदेशी दलालहरू भरमग्दुर प्रयासरत छन् । सहयाेगी भूमिकामा बिकेका बुध्दिजीवी, बिकेका नेता र तिनका दलेझाेलेहरू रहेका छन् । याे बुझ्न नसके हाम्राे भविष्य अन्याैलग्रष्ट हुने भएकाे हुँदा बेलैमा सचेत हुन जरुरी छ !
धर्ममा भक्त हुन्छ, अन्धअनुयायी र कट्टरपन हुन्छ ।केही साेच्न परेन , सब भगवानकाे मर्जी !
वर्तमान राजनीतिमा पनि धर्मकै त्याे रूप देखिन्छ । कार्यकर्ता साेच-चेतना विहीन,अन्धसमर्थक झाेले अझ मुर्ख दलेझाेले ! दलेझाेले !! अध्ययन छैन । बहस,छलफल छैन ।
विश्वमा भएकाे इन्टरनेट र सामाजिक सञ्जालकाे अभुतपूर्व विकास विस्तारले आज अविकसित देशका युवाहरूलाई अराजनैतिक त बनायाे बनायाे, माेजमज्जा बाहेक केही नदेख्ने लज्जाहीन पिढी बनाउन सक्ने देखिन्छ । न देश, न राजनीति, न समाजकाे चिन्ता छ । छ त चिन्ता एउटै कसरी कमाउने र माेजमस्ती गर्ने । यस्ताे साेचले देश बन्ला ?
नेपालकाे ईतिहास हेर्दा सुगाैली सन्धीपछि देशकाे ठूलाे भूभाग गुम्नका साथै नेपालका केही लडाकु जातिहरू विदेशीलाई बेचेर राेयल्टी खाने र शासकहरूले आफूखुसी माेज गरेर साशनसत्ता चलाउने (युवाहरू विदेश गएपछि बिराेध गर्ने युवा कम भएकाेले) तानाशाहीकाे जन्म भयाे । सरकार कहिल्यै जनताकाे लागि भएन । सर्वसाधारण जहिल्यै शाेषण र दमनमा परिरहे । अझै त्याे स्थिति कायमै छ । दमनबाट जाेगिन दलेझाेले हुने क्रम बढ्दाे छ । दलेझाेले भएपछि दमनबाट वच्न सकिन्छ भन्ने भ्रम व्यापक भईरहेकाे छ ।
सिध्दान्त, आस्था,विश्वास थला पारिएकाे छ , देशप्रेम छियाछिया पारिएकाे छ । मुलुक सिध्दाउने खेलमा बिकेका विदेशीले किनेका राष्ट्रघातीहरू खुलेआम लागिरहेछन् ।राष्ट्रियताका सबै आधार जग भत्काउने काेसिसमा राष्ट्रघातीहरूलाई सफल हुन नदिन नेपालीपनमा आधारित शक्ति निर्माण गर्नु देशप्रेमी देशभक्तहरूकाे कर्तव्य हुन्छ । सही असल राजनीतिले देश सम्वृध्द, उन्नत र सफल बन्छ । फाेहाेरी राजनीतिकाे अन्त गरि असल राजनीतिकाे प्रार्दुभाव, संरक्षण र विकास मात्र देश बचाउने र बनाउने उपाय हाे ।
२०७७ चैत ८,९,१०,११
Friday, March 19, 2021
(फेस्बुके रोचक /घोचक ) नयाँ नेपालका नेपाली नेताहरु
(फेस्बुके रोचक /घोचक )
नयाँ नेपालका नेपाली नेताहरु
सरण राई
थुप्रै नेताहरुसंग संगत गरियो , मनमोहन देखि नौलोमोहन सम्मको | संगत के उनीहरुको धुपौरे भइयो | उनीहरुको दास भइयो |
नेताले मलाई चिन्छ भनेर मख्ख परियो | नेता आउँदा फुलमाला , अबिर , खादा लिएर उभियो | तालि पिटर स्वागत गरियो , जय जयकारले आकाश गुन्जाइयो |
नेतालाई ठूला देखाउन अनेक प्रयास गरियो |
नेता होइन नयाँ मालिक ,नयाँ सामन्त जन्माईएछ | नेताको एकतर्फी कुरा खुब सुनियो | आफ्नो दास, धुपौरे अथवा कार्यकर्ताहरुको कुरा सुन्ने नेपाली नेताहरुको चलनै छैन | कुरा भन्न पाईएन , भनेरै पनि के हुन्थ्यो र ! भेट्न जानुपर्ने | चन्दा उठाएर टक्राउनु पर्ने , उनकै कुरामा सहि थाप्नु पर्ने | फोन पनि आफुले मात्र गर्नु पर्ने | राणा श्री ३ लाई जत्तिकै चाकडी गर्नु पर्ने ... हे भगवान , कस्ता कस्ता नेपाली नेताहरु नयाँ नेपालका !
सिध्दान्तको कुरो त 'उहिलेको कुरो खुइले ' भएछ नयाँ नेपालमा | कुनै नेताको पछी लाग्नु भनेको त उसको दास, नोकर, रखैल हुनु जस्तै पो भएछ नयाँ नेपालमा !
हरे ,अब कसरी राजनीति बुझ्ने वा गर्ने होला नयाँ नेपालमा !?
Wednesday, March 17, 2021
(लघुआत्मालाप) फिनिसिङ् टच
(लघुआत्मालाप)
फिनिसिङ् टच
सरण राई
उत्कर्ष जीवनकाे !
चैत २४देखि ७४ लाग्छु । एकल जीवन । जीवन साथीकाे साथ नभएकाे "नाैरङ्गी" जीवन । अन्तिम "फिनिसिङ् टच" अर्थात जीवन बुनाइ भाेगाइकाे बिट मार्ने क्रममा म छु ।
नाैरङ्गी एकल जीवनले एक प्रकारकाे पूर्णता प्राप्तिमा सबै प्रकारका जीवन-रसस्वादन गरियाे झैँ लाग्दै छ ।
"जीवनकाे पूर्ण स्वाद थाहा पाउन
हजार ययातिकाे जीवन पनि अपर्याप्त हुन्छ ।"
मेराे नवाै साहित्यिक कृति कथा सङ्ग्रह केही दिनभित्र बजारमा आउँदै छ । कथालेखनकाे बिट माराैनी यही "फुली" हाे । नेपाली कथालाई यस कथाले थप उचाइमा पुराएकाे छ ।
राजनीतिमा पनि हाम्राे पुस्ता सफल पुस्ता हाे । म पनि ११वर्षकै उमेरदेखि (२०१५सालकाे आमचुनावमा भाेजपुरकाे उत्तरी क्षेत्रमा पिता मछिन्द्र बहादुर राई नेपाल कम्युनिष्ट पार्टिकाे उम्मेद्वार हुनुभएकाले बाल भाेलिन्टियर भएर राजनीतिमा लागेकाे) ५२ वर्ष सम्म गणतन्त्र नआईन्जेलसम्म सक्रिय भइयाे। राजनीतिमा सर्वसाधारण भएरै भए पनि इमानदारीसाथ केही याेगदान गरियाे र सन्ताेषै लागेकाे छ ।गणतन्त्र ल्याउन सफल याे पुस्ता! गणतन्त्र नआएकाे भए पशुतुल्य जीवन भाेगाइमा नै हुन्थे भावी पुस्ता पनि ।
अबआफ्नै कुरा- लघुकथा एक सय एक लघुकथाकाे "नाैरङ्गी" पछि १०२ लघुकथा भएकाे "नाैरङ्गी-२:फुली" काे पाण्डुलिपी तयार छ । लघुकथाकाे बिट मराैनी !
अहिले कविता सङ्ग्रह "बाटाभरि फुलिरहने मृत्यु" मा क्रियाशील छु । मेरा २०१७/१८सालदेखिका कविताहरूलाई सङ्ग्रहकाे रूपमा सम्पादन गर्दै छु । पहिलाे मेराे कविता "भ्रम" प्रेम नारायण प्रेमीकाे सम्पादनमा २०२३मा ओखलढुङ्गाबाट प्रकाशित "दैलाे" भन्ने पत्रिकामा थियाे, जुन कविता मसँग नभएकाेले इच्छा हुँदाहुँदै पनि सङ्ग्रहमा समावेश गर्न असमर्थ भईरहेकाेमा काेहीसित याे कविता भएमा मलाई सूचित प्रेसित गर्न अनुराेध गर्दछु ।
कविता क्षेत्रमा पनि बिट मराैनीमा छु ।
यसपछि म के गर्छु ? म लघुरचना संसार - लघुनिबन्ध, लघुसंस्मरण, लघुसमीक्षा, लघुआत्मालाप आदि लघुरचनाकाे सम्पादनमा लाग्ने साेचमा छु । मलाई जीवनले साथ दिईन्जेल मेरा रचनाहरूलाई व्यवस्थित रूपमा साहित्य जगतमा छाेड्ने मनसायले प्रयत्नशील छु । हेराै !
अन्तमा एउटा "मानव संसार" जस्तै उत्कृष्ट उपन्यास लेख्ने धाेकाे छ । मेराे दाेस्राे उपन्यास "उडान युवा मनकाे" https://saran-rai.blogspot.com/ इन्टरनेटमा मात्र प्रकाशित पहिलाे नेपाली उपन्यासले(जसलाई १०५२०७ जनाले हेरिसक्नु भएकाे छ) पनि उपन्यास क्षेत्रमा मलाई आफ्नै प्रकारकाे तृप्ति दिएकाे छ । मेरा प्रिय पाठक सुभेच्छुकहरूकाे अभिप्रेरणाले मेराे तेस्राे उपन्यास लेख्ने धाेकाे पूरा हाेला , म आशा गर्छु ।
२०७७ चैत ४
Wednesday, March 10, 2021
(लघुअात्मालाप) केका लागि बाँच्ने?
(लघुअात्मालाप)
केका लागि बाँच्ने?
सरण राई
युवा हुँदासम्म राजनीति जनता र देशकाे लागि हाे भन्दै राजनीतिमा पूर्णकालिन हुन नसके पनि राजनीति गरिब दुःखी र देशकाे उन्नतिका लागि हुनुपर्छ भन्ने अडानसाथ असल राजनीतिका लागि त्याे युवा काल समर्पित गरियाे ।
२००७ साल बाल्यकालमा भाेगियाे । त्यसबारे राम्ररी थाहा पाइएन । ००७साल पछिकाे बहुदलीय व्यवस्था नै मेराे राजनैतिक ज्ञान र प्रशिक्षणकाे अवधि रह्याे । २०१५ससालकाे पहिलाे अाम निर्वाचनमा पिता मछिन्द्रबहादुर राई भाेजपुरकाे उत्तरी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टिकाे तर्फबाट संसदकाे लागि उम्मेदवार हुनुले मलाइ वामपन्थी राजनीतितर्फ अाकृष्ट बनायाे ।
६०वर्षकाे उमेरसम्म मानव अधिकार, प्राज्ञिग स्वतन्त्रता र उन्नत राजनैतिक व्यवस्थाका लागि राजनीति बाँच्ने अाधार थियाे । त्यही लक्ष्य खातिर अाफ्नाे समय व्यतित गरियाे ।
अाफ्नै जीवन कालमा गणतन्त्र प्राप्ति हाेला भन्ने साेचेकाे ,अाश गरिएकाे पनि थिएन ।
गणतन्त्र पाइयाे । अनेक नदेखेका नसाेचेका कुराहरू भाेगिदै छ । गणतन्त्र नपाइन्जेल राजनीतिप्रति जुन राजनैतिक चासाे र सग्लनता थियाे समाप्त भयाे । राजनीति अहिले सर्वाधिक फाेहाेरी भएकाे छ ।अाकर्षण सकिएकाे छ ।
६१देखि ७१वर्षकाे उमेर पत्नी प्रेममा बित्याे जुन मेराे जीवनका सर्वाधिक रमाइला महत्वपूर्ण समय थियाे ।
पत्नीकाे देहावसानले अब ७१वर्ष पछिकाे मेराे जीवनबारे जटिल प्रश्न उत्पन्न गराएकाे छ । सायद मेराे साहित्यक मन र लगन नै मेराे बाँच्ने सहारा हुन्छ कि ?
२०७५।११।२६,धरान
Tuesday, March 9, 2021
(लघुसंस्मरण) तीनछाँङेका भलबाडी
(लघुसंस्मरण)
तीनछाँङेका भलबाडी
सरण राई
८/९ वर्षकाे केटाे म दशैंमा अामासँग मावली जाँदा कपडाकाे जुत्ता लगाएर बिप्लाटेकाे उकालाे चढ्रदा सकस भएर जुत्ता खाेलेर खाली खुट्टा नै कुदिन्थ्याे । मावली पुग्ने बेला मात्र जुत्ता लगाइन्थ्याे धाक रवाफ देखाउनका लागि । नभए त वर्षभरि नै खाली खुट्टा ।
त्यति बेला राजा महाराजा, ठूला ठालुहरू बाहेक सबै खाली खुट्टा नै हुन्थे ।
हरिनाथले चरचरि चिरिएकाे खाली खुट्टातिर कसैकाे ध्यान जाँदैनथ्याे । कारण सबै जुत्ता बिना खाली खुट्टामा नै हुन्थे ।
मैले पनि कक्षा ८ मा पढ्ने भएपछि मात्र चप्पल लगाउन थालेकाे हुँ ।( गाउँ छाडेर भाेजपुरकाे बिद्दाेदय हाइ स्कूलमा पढ्न थाले पछि ।)
शुक्रबार भाेजपुरबाट घर छिनामखु अाउथ्याे र शनिबार फर्कन्थ्याे । वर्षायाममा अाफूजत्रै साथीहरू कुलबहादुर, खम्बप्रसादलाई तीनछाँङेका भलबाडी कटाएर खम्बाप्रसादका पिता पाैवाली फर्कन्थे ।त्यही भलबाडी तर्ने क्रममा त्यति बेला मलाई मन परेकाे सि. एस. सि.काे नयाँ माेडलकाे एउटा चप्पल तीनछाँङेले बगाउदा चित्त दुखेकाे थियाे ।
त्यो चप्पलको सम्झना अझै मनमा ताजै छ ।
२०७५।११।२५, धरान
Monday, March 8, 2021
(लघुसंस्मरण) चाैतारी, छहारी, र सिरसिरे बतास
(लघुसंस्मरण)
चाैतारी, छहारी, र सिरसिरे बतास
सरण राई
प्रियसी, साथीभाइ भेट्न दाैडिदै उकालाे चढेर थाकेकाे बेला ढुङ्गे चाैतारीमा बरपिपलकाे छहारीमुनि सुस्ताउदा सिरसिरे बतास नचल्दा बतास बाेलाउन सुसेलेकाे...
सु.सु सु..अ् .. ,सु.सु सु..अ् ..
साँच्चै बतास चल्न थाल्छ,कस्ताे अानन्द अाउछ चिसाे बतासले स्पर्श गर्दा !
शरीरमा पुनः स्फूर्ति अाउछ ।
उकालाे, चाैतारी, छहारी, थकाइ र सिरसिरे बतास... कस्ता अानन्दका क्षणहरू थिए ।
अाज ती दिनहरू कहाँ गए ?
२०७५-११-२४ , धरान
२०७५-११-२४ , धरान
Saturday, February 27, 2021
(लघु लेख ) राजनैतिक विकासमा कार्यकर्ता
(लघु लेख )
राजनैतिक विकासमा कार्यकर्ता
सरण राई
राजनीति सर्वोपरी हुन्छ | मानिसको जन्मदेखि मरणसम्म प्रभावित पार्दछ | समाज, सभ्यता, सुख , सम्पन्नता आदि सबै कुरा राजनैतिक वातावरणले निर्धारण गर्दछ | राजनैतिक वातावरण राजनैतिक दलहरुको अवस्थाले निर्धारण गर्दछ | |राजनैतिक दलहरुको अवस्था यसका नेता र कार्यकर्ताहरुको स्थिति , मानसिकता , आचरण , आचार र व्यवहारले निर्धारण गर्दछ |
राजनैतिक दलहरुका नेताहरुका स्थिति , मानसिकता , आचरण , आचार र व्यवहार कार्यकर्ताहरुमाथि निर्भर हुन्छ | कार्यकर्ताहरु चनाखो छैनन् भने नेता निरङ्कुश हुन्छ | नेताको मनपरीले पार्टी बिग्रिन्छ , सिध्दान्त ,मुल्य, मान्यता र नीति ,नियमले पार्टी चल्दैन, नेताको सनकमा पार्टी चल्न थाल्छ |पार्टीहरुमा यो रोग फैलिएपछी राजनैतिक वातावरण बिग्रिन्छ | राजनीति बिग्रेर धमिलो पानीमा माछा मार्ने प्रवृति बढ्छ |
विकासोन्मुख देशका कार्यकर्ताहरु राजनीति राम्ररी बुझ्न नसक्ने अवस्थामा रहेको हुँदा नेताहरुले भ्रमको खेती गर्न थाल्छन् | गरिवी , अशिक्षा र अज्ञानताको अवस्थामा रहेको कार्यकर्ताहरुलाई चटकी कुरामा लोभ्याएर नेताहरुले फाइदा उठाउछन् |
राजनैतिक कार्यकर्ता हुनु भनेको आफ्नो सम्पूर्ण बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य धरौटी राखेर सेनाको सिपाहीजस्तो हुनु होइन | अन्ध समर्थक हुनु होइन , पार्टीको खेताला हुनु पनि होइन | आफ्नो अन्तरमनको पुकार नसुन्ने हुनु होइन | फटाहा नेता वा पार्टीको गलत कामको पनि वकालत गरिरहनु राजनैतिक कार्यकर्ताहरुको दायित्व हुँदै होइन |
राजनैतिक कार्यकर्ताहरुको चेतनाको स्तर जबसम्म न्यून रहन्छ , उनीहरु भेडाबाख्रा सरह नै हुन्छन् | चाकडी चाप्लुसीको बोलवाला पार्टीमा रही रहन्छ | सहि सैध्दान्तिक जगमा पार्टी निर्माण हुन सक्तैन |राजनैतिक कार्यकर्ताहरुको बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य पार्टीको जीवन्तताको सर्तहरु हुन् |
बिरोधीहरुको कुरै नसुन्ने , आफ्नो दलको मात्र सब कुरा ठीक भन्ने र सहि ढङ्गले सोच्न नसक्ने कार्यकर्ताहरुकोस्थितिले सहि राजनैतिक विकास हुन सक्तैन र असल राजनीतिको विकास पनि हुन सक्तैन | हामी सम्पूर्ण देशवासीहरु एउटै जहाजका यात्रीझैँ होँ , देश बने हामी बन्छौँ , देश बिग्रीए हामी सप्रने कुरै हुँदैन | जनतालाई बिभिन्न दलहरुमा भिभाजन गरेर भेडाबाख्राजस्तो आफ्नो निजि र दलगत स्वार्थ पूरा गर्ने वर्तमान परिपाटी देश र जनताको हित अनुकुल छैन , त्यस्तो परिपाटी समाप्त पार्ने दायित्व कार्यकर्ताहरुको हो |
लहै लहैमा स्यालको हुइयामा हिडाउने र हिडने कार्यकर्ता भइन्जेल देश उभो लाग्ने कुरै हुँदैन |कुनै दलको सदस्य हुनु भनेको आफु त्यस दलको नोकर, दास वा गुलाम हुनु कदापि होइन | | दलको सदस्यहरु पनि वैयक्तिक रुपले पूर्ण स्वतन्त्र छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरुले मात्र असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |
यस्तो विवेकशील स्वतन्त्र र सहि ढङ्गले सोच्न सक्ने असल कार्यकर्ताहरु आजको आवश्यकता हो | देश हामी सबैको हो , देश सप्रे हामी सबै सप्रन्छौ | कार्यकर्ताहरु देश र जनताका लागि हुन् | कुनै दल र नेताका लागि मात्र होइनन् | आफ्नो दलको कार्यकर्ताहरु आफै मालिक हुन्, दलहरुका खेताला, दास, नोकर होइनन् | रोबोट होइनन् | कार्यकर्ताहरुले आफ्नो महत्व आफै बुझेर देश र जनताकाे पक्षमा स्वनिर्णय गर्न सक्ने अवस्थामा पुग्नु जरुरी छ | यसो भएमा कार्यकर्ताहरुले असल राजनैतिक विकासमा अमुल्य योगदान गर्नेछन् |
Wednesday, February 3, 2021
(लघुसंस्मरण) चार आनाकाे कुरा
(लघुसंस्मरण)
चार आनाकाे कुरा
सरण राई
याे कुरा २०१८/१९ सालतिरकाे हाे । आैलाे उन्मुलन कार्य चालू थियाे । घरघरमा डिडिटि पाउडर छरिएकाेले बिरालाे, साङ्ले र किराफट्याङ्रा पनि मरेका थिए । बिरालाेकाे जनसंख्या घटेकाे थियाे भने मान्छेकाे जनसंख्या चाहिँ बढ्दै थियाे ।
पहाडबाट झरेकाे म १४/१५ वर्षे ठिटाे धरानकाे पब्लिक हाई स्कुलमा ९ कक्षामा पढ्दै थिएँ । पहाडबाट झरेकाे, गर्मीले जीउभरि घमाैराे गर्मी खप्न नसकेर छटछटी भए पनि नयाँ नयाँ माेटर गाडि, साइकल, वातावरण र मान्छे र सभ्यता संस्कार चलन ... सबै नाैलाे लागिरहेकाे हुन्थ्याे ।
सिनेमा पहिलाे पल्ट धरानमा हेरियाे । बिजुली नभएकाेले जेनरेटर चलाएर फिल्म देखाइन्थ्याे । नेपाली चलचित्र पनि थिएन । हिन्दी देखाइन्थ्याे । हिन्दी बुझिदैनथ्याे तर नाचगान , घटना हेरेर मक्खै परिन्थ्याे । पछिदेखि हिन्दी डायलाग पनि बुझ्न थालियाे । त्यतिबेला सिनेमाभने पछि सबै हुरूक्कै हुन्थे । सिनेमा हल नगई सिनेमा हेर्न पाइदैनथ्याे ।
सिनेमाकाे प्रभाव बिराटनगरका केटाकेटीहरू त हिन्दीमै बात करते थे ।
तराइमा भा.रु.काे चलन थियाे । माे.रु. एक रुपियालाई दस आनी भन्थे । १०पैसा= १ आना अर्थात १०आना= १ रुपिया माे.रु. ।
२/३ दिनकाे स्कुल छुट्टि भए २/-बसमा तिरेर धरानबाट दुहबी गयाे । त्यहाँबाट माेतिपुर हुँदै हिँडेर बाेराबान पुगिन्थ्याे । त्यहि क्रममा दुहवीबाट बाेराबान जाँदा पेन्ट खाेलेर चप्पल हातमा बाेकेर हिलाे बाटाेमा हिड्दा एउटा कालाे गगल्स भेटेँ । गगल्स लगाएर पेन्ट काँधमा झुन्डाएर हिड्दै गाउँकाे चिया पसल पुगे । तीन रूपिया बाेकेर हिडेकाे २/- बसमा भाडा तिरी हालियाे बाँकि एक रूपियाकाे ढ्याक पेन्टकाे खल्तिमा राखेकाे थिएँ । देहातमा बजारमा २आना पर्ने एक कप चिया १आनामा पाइन्थ्याे । काेकिस १आना गाेटा । भेटेकाे कालाे गगल्स लगाएर सिनेमाकाे हिराे जस्ताे भएर पाेज दिदै २आनाकाे काेकिस र १आनाकाे चिया खाईसकेपछि पेन्टकाे खाेजीबाट पैसा निकाल्न छाम्छु । उधाेमुन्टे हुँदा गाेजीबाट पैसा अघि नै खसेछ ।
कालाे निलाे भएर भनेँ-- "पैसा हराएछ, पैसा छैन ।"
चिया पसलेले रिसाएर हेर्नासाथ वरिपरीकाे चिया खाँदै बसेका मान्छेहरू पनि जर्याकजुरुक उठ्न थाले । तीन आनाकाे खाकाे अब कथालाे समातेर कति गाेदाइ खाईने भयाे ? तै एउटा बुध्दी पलाएछ र भनेँ- "याे गगल्स धिताे राखिराख्नाेस्, फर्किदा तीन आनाकाे सट्टा चार आना तिरेर चस्मा उकासाैला ।"
भेटेकाे गगल्स बुझाएर छाला जाेगाइयाे । त्याे गगल्स उकास्ने मन पनि भएन । फर्किदा अर्कै बाटाेबाट फर्किएँ ।
तर त्याे घट्नाले जिन्दगीभरी काम लाग्ने एउटा पाठ सिकायाे " हाेटलमा खानुभन्दा पहिला गाेजि छाम्नु र मात्र खानु । खाएकाे खाने चिजकाे पैसा तिर्न सकिएन भने त तात्तातै छदाउछन् गाँठे ! "
(काेकिस निकै समय हराएकाे थियाे । अहिले भने फेरि आउन थालेछ । खाजामा नातिनीले काेकिस खान दिँदा त्याे घटना सम्झन पुगेँ र आज आनाकाे कुरा नभएकाे बेला एक छिन सम्झेकाे त्याे फर्केर नआउने समय ! समय ... सम्झदा आफैलाई आश्चर्य लाग्छ ।)
Subscribe to:
Posts (Atom)