(लघुसस्मरण)
पत्नी, म र कार
सरण राई
"गाडि (कार) बेचेँ " भनेर छाेराले सूचना दियाे । कार हुँदा बेला बेला त चढिन्थ्याे नै ।
त्याे कार पत्नीकाे लागि नै किनेका थियाैँ । धरानबाट डायलाइसिस गर्न बिराटनगर जानुपर्ने । हप्तामा दुई पटक, पछिपछि त हप्तामा तीन पटक ।
धरानमै पनि अस्पताल छ तर डायलाइसिसकाे लागि पालाे नपाइने । पाए पनि हप्तामा एक पटक बढिमा तीन घण्टा । जब कि डायलाइसिस हप्तामा दुईपटक चार चार घण्टा गर्नु पर्दछ । त्यसैले बिराटनगर जानुपर्ने ।
बिहान पालाे पर्दा ७बजेदेखि ११बजे सकिने हुँदा बिहानै हिँड्नु पर्ने । ६.३० तिर पुग्न ४.००बजे बिहानै बस चढ्नु पर्ने । ४.००बजे बसपार्क पुग्न ३.१५भन्दा अगाडि नै हिँड्नु पर्ने, खाजा बनाएर बाेक्नु पर्ने हुँदा खाजा बनाउन २.०० बजे उठ्नु पर्ने । बाँच्नका लागि हामी पति पत्नी २.००बजे नै उठेर तयार हुने गर्थ्याे ।
घडेरी बेचेपछि छाेराले नै सेकेन्डहेन्ड गाडि उसकै नाममा नामसारी गरेर किनेर ल्यायाे । गाडि भएपछि ५.००बजे हिड्दा हुने भयाे, बसकाे घुइचाे धक्काधक्की पनि बेहाेर्न परेन ।
काठमाडौंमा पनि डायलाइसिस गर्दा टेक्सीकाे झमेलाबाट मुक्त भयाैँ । सिकिस्त भइन् भने अस्पताल पुग्न सजिलाे भयाे । कारले ठूलै काम दियाे बिरामी पत्नीलाई स्याहार्न ।
कारसँग फाेटाे कहिल्यै खिचिनँ । कार बेचेकाे कुरा सुनेपछि त्याे कारसित फाेटाे खिच्न मन लागेर ग्यारेजमा जान्छु तर कार नभएकाे रित्ताे ग्यारेज पत्नी नभएकाे मजस्तै । अब कहाँ फाेटाे खिच्न पाउनु र!
त्याेकारबाटै हाम्राे (पत्नी, म र कार चलाउने छाेरा)धरानबाट काठमाडौंकाे अन्तिम यात्रा पनि भएकाेले कारसित नजानिदाे आत्मीयता गाँसिनु स्वभाविक थियाे र म त्यसप्रति कृतज्ञ पनि थिएँ । कारमा पत्नीले कतै जान मलाई पर्खिरहेकी छिन् कि भनेर झुक्किएर (तिनी नभएकाे बिर्सेर) कारलाई हेर्थे !
काठमाडौंकाे सुमेरु अस्पतालमा पत्नीकाे देहान्त भएपछि शववाहनमा तिनकाे लास धरान ल्याउदा सिन्धुली बजार काटेपछि शववाहन र माेटरसाइकल ठाेक्कियाे । माेटर साइकल चालकलाई केही नभए पनि माेटरसाइकल भने क्षतिग्रस्त भएकाे थियाे । त्याे घटनापछि सिन्धुली जिल्ला प्रहरी ठानामा शववाहन एक घण्टा राखिएकाेले धरान राति ८.३०बजे मात्र पुगेकाे थियाैँ । लासवाहनलाई पछ्याउदै त्याे कारमा साली र बहिनीहरू आएकाेले त्यसले मेरी पत्नीकाे अन्तिम संस्कारसम्म पनि साथ दिएकाेले कारलाई सायद म कृतज्ञतास्वरूप सुम्सुमाएर बिदा दिन सक्थेँ । तर त्यसाे गर्न पाइनँ ।
पत्नी नै नभएपछि कारकाे के काम ! चित्त बुझाउछु ।
त्याे कार देख्दा दिवङ्गत पत्नीसँग कारमा बसेर काठमाडौं, अस्पताल गएकाे दृश्यहरू आँखामा देखिँदा मन कुटुक्क खान्थ्याे ता पनि त्याे कार बेच्नेबारे सल्लाह नगरि बेचिसकेकाे सूचनाले मलाई अदृश्य झट्का लाग्छ । तर अब यस्ता झट्काहरू २०७२सालकाे बैसाख १२ काे महाभूकम्पकाे सबैभन्दा ठूला झट्कापछि ६ महिनासम्म आएकाे परकम्पकाे झट्काझैँ लाग्छ ।
झट्काबारे साेच्दा सँगसँगै काम गरेका एकजना समकालिनले अस्पतालमा आफ्नाे पत्नीकाे देहान्तकाे अकल्पनीय असहनीय ठूलाे मूल झट्का सहन नसकेर विषसेवन गरि आत्महत्या गरेकाे कुरा सम्झन पुग्छु ।
मैले पनि असहनीय अकल्पनीय मूल झट्का त सहिसकेकाे छु । अब मुल झट्का पछि आईरहने यस्ता झट्काहरू मैले बेहाेरी रहनुपर्छ, जुन दिन बेहाेर्न सक्तिनँ... जीवनबाट बिदा लिनु पर्दछ !
२०७७ चैत १७
No comments:
Post a Comment