Followers

Sunday, March 22, 2026

(अाजकाे कविता) खलनायक, प्रिया दर्शन

 

(अाजकाे कविता)
खलनायक
 
सरण राई 
 
हाे !अाँखाहरू नायक हेर्न चाहन्छन्
तर , नहेराैँ भन्दानि
सबैतिर देखिन्छ खलनायक दुष्ट
उल्टाे झुण्डिने चमेराेले घेरिएकाे बिचरा जाेकर
अाफूलाई नायक सम्झन्छ , गमक्क पर्छ
मूर्ख ! महामुर्ख खलनायक!! 
 
 
प्रिया दर्शन
 
 
हाे,अाँखाहरू प्रिया दर्शन चाहन्छन्
तर, कहाँ पाइन्छ र ?
प्रिया नाैरङ्गी धरातलमा नहुँदा
बेचैन नजर चारतिर हेर्छ रित्ताे रिक्तता
निर्जन पतझड डडेलाेले खाएकाे मन
कहाँ हुन्छ र प्रिया दर्शन ! सपना हुन्छ प्रियादर्शन !!
 
 
२०७६ चैत ८,शनिबार, धरान
 


 

(लघुलेख) अब मलाई के चाहिन्छ ?

 

(लघुलेख)
अब मलाई के चाहिन्छ ?
 
सरण राई
 
७४वर्ष एक महिना पूरा गरेपछि याे प्रश्न मनमा उठ्न थालेकाे छ । मान्छे परिस्थितिकाे दास भन्छन् ,हाे रहेछ ।
उमेरकाे हिसाबले दस दस वर्षको अवधि आआफ्नो विशेषता बाेकेर आउँदाे रहेछ । दस वर्षको उमेरसम्म केटाकेटी ! दस वर्षको उमेरभित्र पनि पाँच पाँच वर्षकाे अवधिकाे अर्कै फरक गुणहरू जस्ताे पाँच वर्ष मुनिकाे बालक ।६ वर्ष पछि अलिक अर्कै -- नयाँनाैलाे सिक्ने उमेर । त्यस्तै २०-२९/ ३०-३९/४०-४९/५०-५९/६०-६९/७०-७९/८०-८९/९०-९९/उमेर अवधि ...
७५भन्दा अगाडिका सबै भाेगियाे । थाहा पाइयाे । यसबारे भन्नै परे-- मैले मेराे प्रकाशित १३वटा पुस्तक, ब्लग र युट्युबमा भनिसकेकाे छु ।सुन्नु नसुन्नु आआफ्नै खुसी हाे ।











अब भावि दिनबारे
म के चाहन्छु ? समयले अर्थात वृद्ध उमेरले मानिसलाई खुम्चाउदै लादाे रहेछ । "असिमीत चाहना सिमीत साधन" अर्थशास्त्रमा खुब पढियाे भनियाे ४०वर्ष पढाइयाे । चाहना त अझै असिमीत छ तर उमेरले इच्छा पनि खुम्चाउदाे रहेछ । अब मलाई चाहिने के हाेला?
अनुत्तरित ! अब प्राय सबै भाेगियाे कुवाकै भ्यागुताे भएर भएपनि । कुवा नै भ्यागुताकाे संसार हाे ।
मान्छेकाे स्वभाव आजभाेलि १००% यान्त्रिक भएकाे छ । ± भएकाे छ । याे मेराे बुझाइ एकलकाटे हुनसक्छ । सधै सुविधा सुविधैमा जीवन काट्ने र सर्वसाधारण आममान्छे भएर जीवन गुजार्ने मेराे निष्कर्ष मिल्दैन नै ।
सर्वसाधारण भई बाँचेर सर्वसाधारणकै लागि सक्दाे गरेर बाँचेकाेमा मलाई याे बचाइप्रति गाैरव छ । अझै म बाँचुन्जेल सर्वसाधारणकै बचाइ चाहन्छु । सर्वसाधारण भएरै मृत्युु वरण गर्न मन पराउछु जुन मृत्यु जिउँदाे मानिसकाे हातमा (इच्छामा) हुँदैन ।
जाे जतिले अनेक तिकडम षड्यन्त्र जालझेल धुर्तता गरेर सांसारिक सम्पत्तिका सुखभाेग गरे पनि तिनीहरू पनि कालका निम्ति समान छन् । तिनीहरूकाे झुठाे घमण्ड...
Death the Leveller भन्ने उहिले ९/१०कक्षामा पढेकाे कविताले भनेझैँ मृत्युले सबलाई समान बनाइ दिन्छ । मृत्युपछि सब समान !
🌿
२०७९बैशाख २६,धरान
 
 
🌿

(लघुलेख) आज देशकाे कुरा गराैँ

 

(लघुलेख)
आज देशकाे कुरा गराैँ 
 
सरण राई
 
देश नभए देशवासी हुने कुरै भएन । उहिलेजस्ताे युध्दमा पराजित गरेर अर्काकाे देश सक्ने अवस्था आज छैन ।
तापनि देशहरू सिमानामा युध्दरत छन् । देशकाे कुरा आउनासाथ देश कसरी बलियाे, शान्त र उन्नत बनाउन सकिन्छ भन्ने कुरा उठ्छ । देश शक्तिसाली भएनभने छिमेकी र अरूहरूकाे हेपाइ र पेलाइ खप्नु पर्ने यथार्थ छर्लङ्ग छ ।
देश कसरी उन्नत र शक्तिसाली हुन्छ ?
देश बनाउन र बचाउन अनेकाैं आधारहरू हुन्छन् । प्राकृतिक स्राेतसाधन, जनशक्ति, लाेकप्रिय सरकार र राष्ट्रिय एकताका साथै देशवासीहरूकाे सहि साेच प्रमुख हुन्छ नै ।
प्राकृतिक साधनस्राेत के कति छ ? अन्वेशन नभएकाे भए पनि सुन, फलाम,काेइला, तामादेखि बहुमूल्य ढुङ्गा (टरमालिन् र अन्य), लगायत जलस्राेत (विश्वकै दाेस्राे ठूलाे देश), सुनभन्दा २००गुणा महङ्गाे युरेनियम आदि अनेकाै छन् । तर ती स्राेत देशका लागि परिचालन हुन सकेकाे छैन । प्रत्येक पल्ट यी साधनस्राेतलाई धिताे राखेर राष्ट्रघाती नेताहरू सरकारमा गएका छन् र याे राष्ट्रघाती प्रचलन राजनीतिकाे जग बन्नाले नेपालमा राष्ट्रियता क्षयउन्मुख भई रहेझैँ देखिन्छ । प्राकृतिक साधनस्राेत देशका लागि भनेर साेच्ने र त्यसलाई परिचालन गर्ने नीति नहुनु प्रमुख समस्या हाे । यी साधनस्राेत र भुबनाेट(दुई ठूला देशका बीच) र भूपरिवेष्टित हुनुले स्वतन्त्र राष्ट्रवादि राजन‌‌ैतिक दृष्टि र चिन्तन जन्मिन नसक्नु देशकाे सार्वभा‌ैमिकताका लागि दिर्घकालिन रूपमा दु:खदायी हुन सक्छ ।
जनशक्ति नै देशकाे लागि साँचाे शक्ति हाे । नेपालकाे जनशक्तिबारे अन्तिम निष्कर्षमा पुग्न जरुरी छ । जनसंख्याको सार तत्त्त्व केलाएर जनशक्ति अधिकतम उपयाेग गर्न सके नेपालीकाे जीवनमा आमुल परिवर्तन आई विश्वमा शिर ठाडाे पारेर गाैरवाम्वित हुन सक्छाैँ । सम्मान पाउन सक्छाैँ !
राष्ट्रिय महत्त्वकाे कुनै विषयमा पनि राष्ट्रिय सहमति भएकाे छैन । जनशक्ति परिचालनबारे त छलफल भएकै छैन । यस्ताे हुनुमा सर्वशक्तिमान दलहरूमा आफ्नो देश बनाउनुभन्दा छिमेकी र शक्तिशाली देशहरूका भराैटे भई सरकारमा पुग्ने र टिकिरहने गलत साेच प्रमुख रहेकाे छ । यस्ताे साेचले काम गरिरहेसम्म राष्ट्रिय सहमति हुने कुरै हुँदैन ।
नेपालकाे हर क्षेत्रकाे सानाठूला हरेक महत्त्वपूर्ण कुराहरूका समस्त तथ्यहरू केलाएर छिमेकीहरू नेपाललाई मुठ्ठीमा राख्न सफल छन् । नेता, कार्यकर्ता, सर्वसाधारण जनता सबकाे मानसिक साेच भत्काउने बनाउने देखि लिएर आन्तरिक कलहमा फसाउने , (धर्म, क्षेत्र, जातिभाषा, संस्कारआदिका आधारमा ) विभाजित गरि एकतावध्द हुन नदिई राष्ट्रिय साेचकाे विकास हुन नदिनेजस्ता अनेकाैं खेल साेझै देखिने ... तर कसैले भन्न नसक्ने ! हामी आफू हाैँ कि हाेईनाैँ ? आफू स्वाभिमानी भई सबै नेपाली एकताबध्द रहि आफ्नो अवस्था कसरी उकास्ने- साेच्न नथाले हामीसित के रहला र ?!
स्वतन्त्र सम्प्रभुतासम्पन्न देश भएपनि देशवासीहरूकाे साेच परतन्त्रमुखी, दास, हीनताग्रस्त र परामुखी बनाईदै छ । केही गर्न नसक्ने वा सक्तैनाैँ भन्ने मानसिकताकाे विकास गराउन विदेशी दलालहरू भरमग्दुर प्रयासरत छन् । सहयाेगी भूमिकामा बिकेका बुध्दिजीवी, बिकेका नेता र तिनका दलेझाेलेहरू रहेका छन् । याे बुझ्न नसके हाम्राे भविष्य अन्याैलग्रष्ट हुने भएकाे हुँदा बेलैमा सचेत हुन जरुरी छ !
धर्ममा भक्त हुन्छ, अन्धअनुयायी र कट्टरपन हुन्छ ।केही साेच्न परेन , सब भगवानकाे मर्जी !
वर्तमान राजनीतिमा पनि धर्मक‌ै त्याे रूप देखिन्छ । कार्यकर्ता साेच-चेतना विहीन,अन्धसमर्थक झाेले अझ मुर्ख दलेझाेले ! दलेझाेले !! अध्ययन छैन । बहस,छलफल छैन ।
विश्वमा भएकाे इन्टरनेट र सामाजिक सञ्जालकाे अभुतपूर्व विकास विस्तारले आज अविकसित देशका युवाहरूलाई अराजनैतिक त बनायाे बनायाे, माेजमज्जा बाहेक केही नदेख्ने लज्जाहीन पिढी बनाउन सक्ने देखिन्छ । न देश, न राजनीति, न समाजकाे चिन्ता छ । छ त चिन्ता एउटै कसरी कमाउने र माेजमस्ती गर्ने । यस्ताे साेचले देश बन्ला ?
नेपालकाे ईतिहास हेर्दा सुगा‌ैली सन्धीपछि देशकाे ठूलाे भूभाग गुम्नका साथै नेपालका केही लडाकु जातिहरू विदेशीलाई बेचेर राेयल्टी खाने र शासकहरूले आफूखुसी माेज गरेर साशनसत्ता चलाउने (युवाहरू विदेश गएपछि बिराेध गर्ने युवा कम भएकाेले) तानाशाहीकाे जन्म भयाे । सरकार कहिल्यै जनताकाे लागि भएन । सर्वसाधारण जहिल्यै शाेषण र दमनमा परिरहे । अझै त्याे स्थिति कायमै छ । दमनबाट जाेगिन दलेझाेले हुने क्रम बढ्दाे छ । दलेझाेले भएपछि दमनबाट वच्न सकिन्छ भन्ने भ्रम व्यापक भईरहेकाे छ ।
🌻
२०७७ चैत ८,९,१०
क्रमश:
 


 

Saturday, December 28, 2024

कविता के कस्तो ?!

 कविता
के कस्तो ?!
सरण राइ

खुम्चिँदा–खुम्चिँदा सानो शुक्ष्म अदृश्य अगोचर भएछु
फैलदाँ भने ब्रमाण्ड भन्दा नि ठुलो अपार विशाल हुन्छु
हुनु पर्ने मैले कस्तो हो ? अगोचर कि अपार ?!

खोज्दाँ आफैलाई आफैभित्र सग्लो सुन्दर चम्किलो हिरा पाउँछु
खोज्दा बाहिर सांसारिकतामा रोईरहेको बबुरो बालक भेट्छु
हो म के ? हिरा कि किरा ? कि हृदय परेको चिराचिरा ?!


Wednesday, December 7, 2022

(लघुआत्मालाप) दिव्य ज्ञान)

 

(लघुआत्मालाप)
दिव्य ज्ञान)
 
सरण राई 
 
मलाई एउटा दिब्य ज्ञान प्राप्त भएको छ अहिले . पृथ्वी गोलो रहेछ |
म सुत्न लागेको छु , तर संसारको अर्को कुनाको मेरो साथी भर्खर उठ्न लागेको छ | मेरो निम्ति अहिले रात परिसकेको छ भने उसको लागि बिहान भएको छ |
वर्तमान त हामी दुवैको लागि सत्य हो . यथार्थ हो | र , साझ बिहान पनि यथार्थ हो | उसले अहिले बिहान हो भनेमा म कदापी मान्न सक्दिनँ ,त्यस्तै मैले साँझ हो भनेमा ऊ मान्न सक्दैन |
सत्य पनि जीवनको वास्तविक धरातलले निर्धारण गर्दो रहेछ , मेरो प्यारो साथी !
युध्दमा म मारिने सैनिक भए भने युध्द सम्पूर्ण मानव जातिको कलङ्क हो
युध्दमा म मार्ने सैनिक भए सम्पूर्ण मानव जातिको नयाँ युगको सुरुवाट हो
तसर्थ
म , तिमी , हामी कति निरीह रहेछौँ यो तुच्छ संसारमा .. . आफुले भोगेको , देखेको र बेहोरेको यथार्थ पनि सत्य हो भनेर सावित गर्न सक्दैनौँ |
( लौ मैले भन्ने कुरा भनि सकेँ , तपाईको भन्ने केहि छ ? हा हा हा ... एकछिन रमाइलो गरौँ हा ...हा ..हा.. .मरिलानु के छ र ..!.)
 

 

Saturday, October 8, 2022

(लघुआत्मालाप) उदेकलाग्दाे सत्य

 

(लघुआत्मालाप)
उदेकलाग्दाे सत्य
 
सरण राई
 
पछि २,३,४,५.... आउछन् । १ ठूलाे कि यसपछि आउने अङ्कहरू ?
आयु बन्द थैलीभित्र रहेकाे सिक्का रूपियाजस्तै रहेछ । बन्द थैली खाेलेर हेर्न सकिँदैन । कति छ थाहा हुँदैन । एउटा सिक्का (रूपिया)= १वर्षको मान्दा बढिमा १०० हुन सक्छ । थैलीभित्र थुप्रै छ भन्ने लाग्दा तन्नेरीकालमा लापरवाहीसाथ खर्च गरीन्छ।
बन्द थैलीमा कसैकाे पूरा १ पनि हुँदैन । कसैकाे १०भन्दा कम कसैकाे २०/ ३०/४०भन्दा पनि कम भएर तन्नेरी युवा कालमा मृत्यु हुँदा आफन्तहरू धेरै चिन्तित हुन्छन् । जब ६०भन्दा बढि खर्च हुन्छ अनि बाँकि कति हाेला ? मनमा खेल्न थाल्छ । फाराे गरि चलाउन पाए... लाग्न थाल्छ ।
जे जति बाँचिन्छ त्याे नै जीवन हाे ।बाँचुन्जेलकाे जीवन हाे । "मरेपछि लम्पसार ।" "मरेकाे भाेलिपल्ट दुई दिन ।" यस्ता कति उखान र भनाइ छन् जसले यथार्थ सम्झिरहन मद्दत गर्छ । तापनि मानिसभित्रकाे लाेभपाप मर्ने बेलासम्म पनि जस्ताकाे तस्तै रहिरहने देख्दा ... के भन्नू र !
तृष्णा कहिल्यै तृप्त हुँदैन । तृष्णाभन्दा वैराग्यमा सन्ताेष रहेछ । बुझेर पनि अजम्बरीझैँ तृष्णाकाे पछि लागिरहनु मानव स्वाभाव रहेछ ।
त्यसै भएर मान्छे बाँचुन्जेल के र कुन ठूलाे र के र कसकाे पछि लागेर जीवन सार्थक पार्ने ? अलमलमै रहनु र अलमलमै आनन्द लागिरहनु उदेकलाग्दाे सत्य रहेछ ।
🍎
२०७९असाेज १६,आइतबार, धरान
 

 

Wednesday, September 14, 2022

(लघुलेख) दास-लास

 

(लघुलेख)
दास-लास
सरण राई
दास मानसिकताकाे कारण नेता मालिक । नेता र दलकाे जीवनभर दास भयाे , मृत्युु पछि लास पनि पार्टीको झन्डा ओडाएर दास-लास हुने पध्दति नेपालका सिध्दान्तच्युत दलहरूले थालेका पालेका छन् ।
मरेपछि मुर्दा पनि पार्टिकाे मातहत कब्जामा । बिचरा जीवनभर पार्टीको दास रह्यो , मरेपछि पनि पार्टीको दासताबाट मुक्ति नपाउने । लास पनि दास । यस्तो दासहरू कति धेरै रहेछन् । सधै मानसिक दास , मरेपछि पनि लाश-दास ।
ठुलै याेगदान गरे राष्ट्रिय झन्डा ओडाउनु सम्मान हाेला तर पार्टीको थाेत्राे झन्डाकाे के तुक ?
देश भडखालाेमा हाल्नमा नेताभन्दा धेरै यी दास-कार्यकर्ता दाेषी छन् । यिनीहरू मरिसकेपछि पनि स्वत्रन्त्र हुँदैनन् । दास-लास बन्छन् ।
दासहरू भेडाजस्तै हुने भएकाले तिनीहरू न्याय , सत्य र सुन्दर भविष्यका पक्षमा साेच्न, बाेल्न र काम गर्ने नसक्ने भएकैले फाेहाेरी राजनीतिले तिनीहरूकाे जीवन अत्यन्त कष्टकर बनाएकाे छ । तर उनीहरू याे बुझ्दैनन् । अझ दु:खकाे कुरा उनीहरू बुझ्न चाहदैनन् ।
 
२०७४ मङ्सिर १७, धरान
 

 

लघुलेख— भाेटकाे कुरा

 

(लघुलेख)
भोटको कुरा
सरण राई
"तपाई फटाहा, चोर, लुटेरा, भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती , सबैभन्दा दुःखदायी कुरा बेईमान हुनुहुन्छ !"
"कसरी ? म आफ्नो सुशेधन्दा गरेर खाने सर्वसाधारण मान्छे !"
"गएको चुनावमा फटाहा, चोर, लुटेरा, भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती नेता वा उम्मेदवारलाई तपाईले भोट दिनु भयो कि भएन ?"
" अरु साथि भाईले जसलाई भोट दिनु भने , त्यसैलाई दिएँ |"
"त्यही त गल्ति भयो | भोट भनेको लोकतन्त्रमा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघातीहरुका विरुध्द लड्ने हाम्रो सशक्त शक्ति र हतियार हो | तपाईले भोट दिएका व्याक्ति फटाहा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , दुई जिब्रे , राष्ट्रघाती भएमा स्वतः तपाई पनि ति कुराहरुमा सहभागी हुनुभएन , त्यसको हिस्सेदार हुनुभएन ?"
"त्यो त हो |"
" त्यसैले राम्ररी सोचेर आफ्नो मतको सदुपयोग गरौँ ! मासु, रक्सि र पैसामा नबिकौँ , झुटो आश्वासनमा नभुलियाैँ ! गुण्डाहरु अघि नझुकौँ ! फटाहा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती का विरुध्द प्रयोग गरौ !"
"कुरा त ठिकै गर्नुभयो , तर ..हामी लाचार सर्वासाधारणहरू ..जसले पनि फकाउने धम्क्याउने ..,हामी त दास नोकर जस्तै भएका छौ !"
" तपाई मतदाताहरु दास नोकर होइन , मालिक बन्नकालागि आफ्नो अमुल्य भोटको सदुपयोग गर्नुहोस है !"
"तर .." सर्वसाधारण मतदाता भन्छ |
कति अफ्ठ्यारो स्थितिमा हामी रहेछौ , वातावरण धमिलो छ |फटाहा भ्रष्टाचारी, पाखण्डी, विदेसी दलाल, दुई जिब्रेहरुको पकडमा राजनीति छ |राजनीति फोहोर भएको छ | कसरी राजनीतिलाई सङ्लो , असल , पवित्र ,कन्चन र सुन्दर बनाउन सकिएला ?
२०७० भदौ ३० , धरान

 

(लघुआत्मालाप) बाँचेकै छु

 

(लघुआत्मालाप)
बाँचेकै छु
सरण राई
पत्नीकाे देहान्तपछि (२०७५मंसिर २५) निरन्तर व्यायामकाे रूपमा माेर्निङ वाक गरिरहेक‌ै छु । त्यही वाकिङले मलाई बचाईरहेकाे छ । एकल जीवन । बाचुन्जेलकाे जीवन हाे ।आफूलाई बचाउनु वा जीवन पूरा उपभाेग गर्नु आफ्नै हातमा छ ।
मधुमेहले भेटेपछि गुलियाे संसारबाट टाढा हुनै पर्छ । खानाकाे परहेज । सब तागतिलाे खाने चिजहरू गुलिया हुन्छन् । मधुमेह, उच्च रक्तचाप र मुटुकाे राेग सँगसँगै बस्ने दिदीबहिनीहरू हुन् रे । अलिकति जीवन व्यवस्थापनमा तलमाथि भयाे कि राेगकाे गुड शरीर हुन्छ नै ।
जेजस्ताे भएर भए पनि बाँचिएकाे छ । कति दाैतेरीहरू गईसके । म घरबाट निस्केर हिँड्दा मलाई नमस्कार भनेर बाेलाउनेहरू ताराबहादुर गुरूङ, धनबहादुर श्रेष्ठ , बद्री पलिखे, अम्बिका रिजाल, भगवान श्रेष्ठ , हर्कबहादुर तुम्बाहाम्फे, इन्द्रबहादुर लिम्बू, इन्द्रहाङ लिम्बू, याेगेन्द्र सुब्बा, सूर्यकुमार राई आदि थुप्रैजना गईसके । ध्यानबहादुर राई, ध्रुवदेव राई, प्रेम माङ्माजुङे सेर्मा, अटलमान राई, लाेकेन्द्रप्रसाद आचार्य आदिकाे श्रध्दाञ्जली स्मृति रचना लेख लेखी सकियाे । पहिलाे पल्ट इटहरीका मभन्दा दुई वर्ष जेठा ७७वर्षिय लेखनाथ घिमिरेकाे अभिनन्दन रचना लेख्न पाउँनु अहाेभाग्य सम्झेकाे छु । बाँचेकैले याे सब लेख्न पाएकाे छु । बाँच्नु सबैभन्दा ठूलाे कुरा हाे ।
पेन्सन खान थालेकाे पनि पनि १५वर्ष भएछ अर्थात साहित्यमा पूर्णकालिन भएर लागेकाे पनि त्यति वर्ष न‌ै भयाे । म साहित्य बाहेक अरु केही गर्दीनँ। साहित्य बिचरा ! फाेहाेरी राजनीतिकाे फाेहाेरी सहयाेगी भएर आफ्नाे स्व गुमाएकाे फाेहाेरी गुठ उपगुठमा विभाजित निमुखा दासी भएकाे छ । यस्ताे अवस्थामा साहित्य जगतमा असलि साहित्यकाे अस्तित्व जाेगाउन असलि साहित्यकारहरू जन्मनु पर्ने भएकाे छ । स्वतन्त्र असलि साहित्यकार भएर बाँच्नु झनै गार्हाे रहेछ ।
जसलाई आफ्नाे सम्झियाे त्याे त कहिले कहिले मानसिक पतनकाे खाल्डाेमा फसिसकेकाे हुँदाेरहेछ र आफ्नाे स्वार्थ बाहेक केही नदेख्ने अन्धाेहरूबाट बाँच्नमा सहयाेगकाे आशा गर्नु भयङ्कर भुल हुन्छ । आत्मनिर्भर हुनु सुखी जीवनकाे पहिलाे आधार हाे ।आफैले आफूलाई खुसी राख्नु दाेस्राे आधार हाे ।
२०७९भदा‌‌ै २
क्रमश:

 

Thursday, June 23, 2022

जानकारी

 

(लघुकथा)
जानकारी
 
सरण राई
 
"काेपा (बाजे) एउटा कालाे किराले मलाई टाेक्याे । त्याे किरा काेठामा आउनासाथ काेठै पूरा गनायाे । किरा विषालु त हाेइन ?",
"दबाई दल, अहिले टाेकेकाे दु:खिराखेकाे छ ?"
"छैन, तर मलाई शंका लागिरहेकाे छ, किरा बिषालु हाे कि !"
"कालाे बिच्छी त हाेइन। साङ्लेजस्ताे थियाे ?"
"अँ, अलिक सानाे थियाे ।"
याे सुनेपछि ७५वर्षिय मलाईआफुले जानेका गनाउने किराहरूबारे केलाउन थाल्छु । गनाउने किरा खेतबारीमा हुने गनाउने किराहरू ...नाम सम्झन सक्दिनँ । पुरानाे मेमाेरीजस्तै चाहिएकाे बेला ट्वाक्क नआउने ।
झट्का मगजमा लगाउछु बल्लबल्ल सम्झन्छु-- पधेँरा।
"पधेँरा हाे । गन्धे । गनाउछ तर बिषालु हुँदैन ।धानका पातहरू खाने पधेँरा.."
भनिसकेपछि साेच्छु -- आजभाेलिका शहरिया केटाकेटी , माेबाइल र नेटमा भुलिनेहरू ! आवश्यक जानकारी र अनुभवकाे कमि । पधेँरा भन्ने नाम सम्झन मलाई पनि हम्मेहम्मे परेकाे सम्झेर आफूबारे गम्न पुग्छु !
बाल्यकालमा पधेँरा मुठ्ठीमा लुकाएर साथीहरूलाई सुघाएकाे चकचक पनि सम्झिन पुग्छु ।
🌿
२०७९/३/१०
🌿इन्द्रबहादुर राइ


🌿

Monday, June 20, 2022

(लघुलेख) स्थानिय निर्वाचनपछिकाे राजनैतिक विश्लेषण

 

(लघुलेख)
स्थानिय निर्वाचनपछिकाे राजनैतिक विश्लेषण 
 
सरण राई
 
 
बाँचुन्जेलकाे अनुभूति म लेखेर प्रकट गरिरहेकै छु । बिग मेडियामा पहुच छैन । फेसबुक र सामाजिक सञ्जालहरूलाई नै कर्मथलाे बनाएर दुईचार कुरा भनिरहेकै छु । स्थानिय चुनावकाे परिणाम पछि फेसबुक र सञ्जाल पनि चुनावमय भएकाे छ ।
जनताकाे असन्तुष्टि चुनावका केही स्थानहरूमा देखिएकाे छ । चुनावकाे समग्र परिणाम हेर्दा देश छिटाेछिटाे युक्रेन बन्ने बाटाेमा अग्रसर देखिन्छ । दलहरूसँग राष्ट्रिय भिजन छैन । भिजनकाे अभावमा राष्ट्रिय सहमति छैन । राष्ट्रिय सहमति नभएपछि राष्ट्रिय गन्तव्य हुने कुरै भएन । संसदमा रहेका दलहरूले अनेकओलि नाटक मञ्चन गरेर एमसीसी पास गरिसकेपछि संविधान काेमामा गएकाे छ । असंग्लग्न राष्ट्र तीन चित । विदेशीहरूद्वारा अदृश्य पालितपाेसित
जेलेन्स्कीकाे जन्म छिट्टै हुने देखिन्छ ।
साेचकाे अभाव । राष्ट्रिय साेचकाे अभाव भेकुएम भएपछि अवाञ्चित साेचहरूकाे कालाे मण्डराउनु । जेलेन्स्की जन्माउने रिहर्सल सफल भई सकेकाे छ ।
सिध्दान्तहीन राजनीति । अराजनीतिक युवा झुण्ड तयार भएकाे देखिन्छ । खाउ पिउ माेज गर दाउमा रहेकाहरू । देशकाे भविषबारे साेचकाे अभावले राष्ट्रवादि शक्ति कमजाेर बनेकाे देखिन्छ । राष्ट्रियताकाे कुराे स्थानिय चुनावमा कतै सुनिएन ।
अझै समय छ , सचेत बनाैँ । सही र असल राजनीतिले मात्र जनअभिलाषा पूरा गर्न सक्छ । देश बनाउन र जाेगाउन सक्छ ।
🌿
२०७९ जेठ१०
🌿

🌿

Sunday, June 12, 2022

(लघुलेख) सम्झनामा मात्र

 

(लघुलेख)
सम्झनामा मात्र
 
सरण राई
 
कतिपय बस्तु र कुराहरू विस्थापित भईसके ।
सानाे छदा पहिलाे पल्ट "यताउता लर्बराउदा मुतमा भिज्याे जाङ्गे, ए साली , ज्यु भेनाज्यु" गीत ग्रामाेफाेनमा सुन्दा आश्चर्य ,सन्ताेष र असिम आनन्दकाे अनुभव । ग्रामाेफाेनभित्र मसिना मान्छेहरू हुन्छन् र तिनीहरूले गाएका रे। घाेप्टि घाेप्टि हेरिन्थ्याे कतै देखि हालिन्छ कि !
रेडियाे आयाे, टेप रिकर्डर आयाे । सि. डि. प्लेयर , ठूला ठूला साउण्ड बक्स । चक्का,रिकर्ड, क्यासेट,सि.डि हरायाे । अहिलेकाे कम्प्युटर, ल्यापटपमा सि.डि प्लेयर नै छैन । इन्टरनेटले जेलिएकाे विश्व ।
रङ्गिन दुनिया । ब्लाक एण्ड वाइट जमानामा जन्मेका हामी, नबाेल्ने सिनेमा, बाेल्ने तर श्यामश्वेत सिनेमा, पछि रङ्गिन सिनेमा । सिनेमा हलमा नगई सिनेमा हेर्न पाइदैनथ्याे । सिनेमा साेल्टिसित भेट्ने ठाउँ । अहिले सिनेमा त हातकाे माेबाइलमा (जुन जतिबेला चाहे पनि) ।
इन्साइक्लाेपेडिया ब्रिटानिका किताबकाे रूपमा छापिनै छाडेकाे छ । नेटमा फ्रि विल्किपेडिया । जे खाेज्याे ,साेध्याे टुप्लुक्क हाजिर ।
मैले देखेका चलाएका र उपभाेग गरेका धेरै कुराहरू--
एक पैसा माना घ्यु खाएकाे हात सुङ् सुङ्
एक पैसा माना त हाेइन, डेड रूपिया धार्नी सिकार , ४२रू ताेला सुन, १२५/- बिराटनगर काठमाडौं हवाइजहाजभाडा हुँदा बिध्दार्थी सहुलियतमा १०७/-मा हवाईजहाज पहिलाेपल्ट चढेकाे आदि कैयाै कुराहरू सम्झनामा मात्र ।
माना, पाथी, ढक तराजु, तुलाे, ढिकिजाँताे, पेरूङ्गाे,ढाकर ताेक्मा, हर्पे,ठेकी मदानी, गाग्री, लाेटा करूवा, डाडुपुनिउ, सिलाैटाेलाेहाेराेजस्ता कतिपय वस्तुहरू हराइ सके । घाेडा घरघरमा पालिन्थ्याे, घाेडाचडिकाे इज्जत थियाे । घाेडा आवश्यकता पनि (यातायातकाे विकास नभएकाे अवस्थामा) थियाे । साईकल बसले घाेडालाई विस्थापन गर्याे । घाेडा त अहिले तस्वीर खिच्ने मात्र । गाेरूकाे अवस्था पनि ट्रेक्टर आएपछि घाेडाकै जस्ताे हुन थालेकाे छ । कहाँ गाेरू जाेत्ने र गाेरूगाडा?
मान्छेले अरू जानवरहरूलाई जितेपछि मान्छेकाे विकास युध्दमा केन्द्रीत भयाे ।
उहिले दुइ सय वर्षसम्म दुई देशहरूले युध्द लडेका ईतिहास छ । डाल तरवारदेखि परमाणु बम, क्षेप्यास्र । युध्दकाे आकार रूप र विनास फेरिएकाे मात्र हैन भयानक भएकाे छ । पृथ्वीलाई सयाैचाेटि नष्ट गर्ने हतियार भण्डार छ रे !
डायनासाेरजस्त‌ै आफैले बनाएकाे हतियारले मानवलाई पनि सम्झनामा मात्र सिमीत नपाराेस् ...! युध्दउन्मादिहरूकै बाेलबाला छ । पृथ्वी मात्र नभएर मान्छे मास्ने मान्छेले नै बनाएकाे ध्वंसात्मक हातहतियार परमाणु बमहरूबाट बाँच्ने कसरी ... ? कसरी !??
🐲
२०७९/२/२८र ३०
🌹🌹

🌹

Tuesday, June 7, 2022

(लघुलेख) मान्छेकाे सभ्यता ?

 

(लघुलेख)
मान्छेकाे सभ्यता ?
 
सरण राई
 
सभ्यता? सभ्यता मान्छेकाे ।
आज मानिस आफूलाई सभ्य ठान्छ । याे सभ्यता सर्भाइबलकाे सभ्यता हाे । शारिरीक रूपमा निर्धाे उसले अरू जानवरहरूसित लड्दा उसले आविष्कार गरेकाे हतियार उल्लेख्य भएकाे छ र आज मानिस मात्रकाे एकछत्र राज्य विश्वमा कायम भएकाे छ ।
मानिसकाे आदिम प्रवृत्ति युध्द पनि रहेछ । ठूला,साना र विश्वयुध्दका डरलाग्दा घट्नाहरूले ईतिहास लेखिएकाे छ ।हार्नेहरू मासिएका छन्, जित्नेहरूकाे मर्यादा सभ्यता भएकाे छ । अहिले पनि रूस युक्रेन युध्दले तेस्राे विश्वयुध्द ल्याउने सम्भावना देखिदै छ ।
अहिले आणविक हतियार, क्षेप्यास्र र अन्य भयानक हतियारहरूका आतंककाे चपेटामा विश्व छ । हतियार माफियाहरू हतियार बेचेर अकुत सम्पत्ति कमाइरहेका छन् ।
हतियार नभई देशकाे अस्तित्त्व नै नरहला कि ! हतियार किन्ने थुपार्ने बनाउने हाेडवाजी शिखरमा पुगेकाे छ ।
शस्रअस्रकाे अगाडि असल कुराहरू ओझेलमा पर्दै छ । काेविद १९ले घटाउन नसकेकाे विश्व जनसंख्या युध्दले घटाउने हाे कि ? मानव जाति नै डायनासाेरझैँ मासिने हाे कि ! कहाँ छन् शान्तिका लागि कार्यरत संस्थाहरू , चिन्तकहरू र शान्तिका दर्शनहरू !
सभ्यताकाे आरम्भदेखि नै युध्द र शान्ति, खराब र असल सँगसँगै निरन्तर सतत बगिरहेकै छन् ।धेरैजसाे असलकाे जितले सभ्यता थामेकाे छ । अझै आशा गराैँ सत्य, न्याय, शान्ति र असलक‌‌ै जित हुने छ । असलका जितका लागि खेल्न सकिने भुमिका के हाेला ? छलफल गरेर निष्कर्ष निकाल्दै मानव सभ्यता जाेगाउने दायित्त्व अहिले मानव जातिकाे दायित्त्व भएकाे छ । याे दायित्त्व पूरा गरेमा मानिस मानिस भई बाँच्न सक्ने छ ।
🌿
२०७९जेठ २४
🌿


🌿

Saturday, May 14, 2022

(लघुसंस्मरण) हात मिलाउनु

 

(लघुसंस्मरण)
हात मिलाउनु
 
सरण राई
 
एम.ए.पढ्दै गर्दा काठमाडौंकाे रङ्गशालामा ब्याटमिन्टन प्रतियाेगिताकाे पुरस्कार वितरण समाराेहकाे सम्झना अविस्मरणीय भएकाे छ दुईवटा परिदृश्यले ।
साेम्याच चाइनिज र नेपाली महिला खेलाडिले खेलेका थिए, खेलमा एउटी चाइनिज खेलाडिले सर्कसमाझैँ तिघ्रा भुँइमा टसाएर झरिसकेकाे कर्क फर्काएकी थिईन् ।
पुरस्कार वितरण तात्कालिन बडामहारानी ऐश्वर्यले गरेकी थिइन् । बडामहारानीले विदेशी खेलाडीलाई पुरस्कार दिएपछि हात मिलाउथिन् भने नेपाली खेलाडीले भने पुरस्कार थापेपछि हात मिलाउने कुरा त परै रह्याे स्वास्ती गर्दै फर्कनु पर्ने देख्दा च्वस्स मनमा बिझेकाे थियाे । रैती नेपाली ।
गणतन्त्र आयाे । एउटा कार्यक्रममा मन्त्री प्रमुख अतिथी थिए । मन्त्रीकाे स्वागतमा स्वादेशी विदेशी लामबध्द उभिए । मन्त्रीले विदेशीहरूसँग हात मिलाए, स्वदेशीसँग हात नमिलाई मंञ्चतिर लागे । नागरिक हुन नसकेका रैतीकै अवस्थामा नेपाली जनता ।
🌿
२०७८बैशाख ३०,धरान
🍀

🍀

Monday, May 9, 2022

(लघुलेख) अब मलाई के चाहिन्छ ?

 

(लघुलेख)
अब मलाई के चाहिन्छ ?
 
सरण राई
 
७४वर्ष एक महिना पूरा गरेपछि याे प्रश्न मनमा उठ्न थालेकाे छ । मान्छे परिस्थितिकाे दास भन्छन् ,हाे रहेछ ।
उमेरकाे हिसाबले दस दस वर्षको अवधि आआफ्नो विशेषता बाेकेर आउँदाे रहेछ । दस वर्षको उमेरसम्म केटाकेटी ! दस वर्षको उमेरभित्र पनि पाँच पाँच वर्षकाे अवधिकाे अर्कै फरक गुणहरू जस्ताे पाँच वर्ष मुनिकाे बालक ।६ वर्ष पछि अलिक अर्कै -- नयाँनाैलाे सिक्ने उमेर । त्यस्तै २०-२९/ ३०-३९/४०-४९/५०-५९/६०-६९/७०-७९/८०-८९/९०-९९/उमेर अवधि ...
७५भन्दा अगाडिका सबै भाेगियाे । थाहा पाइयाे । यसबारे भन्नै परे-- मैले मेराे प्रकाशित १३वटा पुस्तक, ब्लग र युट्युबमा भनिसकेकाे छु ।सुन्नु नसुन्नु आआफ्नै खुसी हाे ।
अब भावि दिनबारे
म के चाहन्छु ? समयले अर्थात वृद्ध उमेरले मानिसलाई खुम्चाउदै लादाे रहेछ । "असिमीत चाहना सिमीत साधन" अर्थशास्त्रमा खुब पढियाे भनियाे ४०वर्ष पढाइयाे । चाहना त अझै असिमीत छ तर उमेरले इच्छा पनि खुम्चाउदाे रहेछ । अब मलाई चाहिने के हाेला?
अनुत्तरित ! अब प्राय सबै भाेगियाे कुवाकै भ्यागुताे भएर भएपनि । कुवा नै भ्यागुताकाे संसार हाे ।
मान्छेकाे स्वभाव आजभाेलि १००% यान्त्रिक भएकाे छ । ± भएकाे छ । याे मेराे बुझाइ एकलकाटे हुनसक्छ । सधै सुविधा सुविधैमा जीवन काट्ने र सर्वसाधारण आममान्छे भएर जीवन गुजार्ने मेराे निष्कर्ष मिल्दैन नै ।
सर्वसाधारण भई बाँचेर सर्वसाधारणकै लागि सक्दाे गरेर बाँचेकाेमा मलाई याे बचाइप्रति गाैरव छ । अझै म बाँचुन्जेल सर्वसाधारणकै बचाइ चाहन्छु । सर्वसाधारण भएरै मृत्युु वरण गर्न मन पराउछु जुन मृत्यु जिउँदाे मानिसकाे हातमा (इच्छामा) हुँदैन ।
जाे जतिले अनेक तिकडम षड्यन्त्र जालझेल धुर्तता गरेर सांसारिक सम्पत्तिका सुखभाेग गरे पनि तिनीहरू पनि कालका निम्ति समान छन् । तिनीहरूकाे झुठाे घमण्ड...
Death the Leveller भन्ने उहिले ९/१०कक्षामा पढेकाे कविताले भनेझैँ मृत्युले सबलाई समान बनाइ दिन्छ । मृत्युपछि सब समान !
🌿
२०७९बैशाख २६,धरान
🌿

🌿