Followers

Thursday, August 27, 2020

(लघुलेख)नेपाली राजनीति र साहित्य

 

नेपाली राजनीति र साहित्य तीन प्रकारको रहेछ |
१.मन्त्र राजनीति र साहित्य
२. यन्त्र राजनीति र साहित्य
३.तन्त्र राजनीति र साहित्य
१.मन्त्र राजनीति र साहित्यको हालीमुहाली र ढलिमली
परापुर्वकालदेखि अहिले सम्म नै चलिरहेको छ | मन्त्र राजनीति भनेको खुसुक्क एउटाले अर्को नेताको कानमा सुनाउने र नेतालाई सिध्दान्तच्युत गराउने अचुक मन्त्र प्रयोग गर्ने राजनीति हो | उदाहरणका लागि गिरिजाले प्रचण्ड को कानमा त्यस्तो मन्त्र सुनाए कि नेपालको जनयुध्दका सबै आकांक्षा र उद्धेश्यहरु ध्यस्त मात्र भएनन् कि यथास्थितिको प्रखर पहरेदारको रूपमा क्रान्तिकारी नेताहरु प्रकट भए | त्यो मन्त्रको प्रभावबाट अब नेताहरु मुक्त हुने छन् भनि आश गर्नु निरर्थक छ | यति उदाहरणले नै मन्त्र राजनीति कति डरलाग्दो हुन्छ भन्ने थाहा भईसकेको छ | तसर्थ मन्त्र राजनीतिको काट मन्त्र राजनीति नै हो भन्ने पनि बुझ्न आवश्यक छ | अब नचाहिने मन्त्र नसुनेर मुलुक र जनहित हुने नयाँ मन्त्र जप्ने वा सुनाउने बेला भएको छ | त्यो मन्त्र हो "नयाँ राजनैतिक शक्तिलाई साथ दिएर पुराना सढ़े गलेका पतित शक्तिहरुलाई पाखा लगाएर देशको नव निर्माण गर्ने |"
मन्त्र राजनीतिबारे कुरा गरिसकेपछि मन्त्र साहित्यबारे कुरा गर्दा नेपाली साहित्यको आकार विकास नै मन्त्रभित्र खुम्चिएर रहेको पाईन्छ | 'रामायण ' देखि 'माधवी', 'राधा' 'सेतो धरती' सबै मन्त्र साहित्य हुन् यति बुझिसकेपछि तिनीहरुले कसको प्रतिनिधित्व गर्छन र कसको सेवा गर्छन स्पष्ट छ | संकुचित मन्त्रवालाहरुको | मन्त्रवाला साहित्य अब युगपरिवर्तन सापेक्ष नभएकोले 'नयाँ साहित्य'को आवश्यकता भएको हो | संकीर्ण मानसिकता बोक्नेहरुले जति नोक्सान पुर्याए पुर्याए अब तिनीहरुलाई परास्त गरेर नयाँ सोचको राजनीति र साहित्यको विकास गर्नु पर्ने बेला भएको छ |
समय बलवान हुन्छ समयलाई चिनौ |हामीलाई थिचिरहेको सामन्ती निरंकुशताको आकाश सकिएर गणतान्त्रीक व्यवस्था हाम्रा निम्ति हामीले ल्याएका छौ , यो कुनै नेताको इच्छाले आएको होइन | यसको सदुपयोग हाम्रा लागि हामी आफैले गर्नु पर्दछ |
 
क्रमशः

Thursday, August 20, 2020

सरण राईका प्रेरक भनाइ

   सरण राईका प्रेरक भनाइ

 

**

 

--सबैभन्दा घृणास्पद - अर्काकाे दिमाग कब्जा गरेर रजाइ गर्नु  !

****
-- अर्कालाई आफ्नाे बुध्दिकाे साँचाे बुझाएपछि मान्छे मान्छे रहदैन !
 
****

सांसारिक जीवनकाे साैन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य !
 
**** 
 
 

( लघुसंस्मरण ) हार्नहार्न लागेको बेला

 

( लघुसंस्मरण )
हार्नहार्न लागेको बेला
 
सरण राई
 
कृष्ण धरावासी 'समस्ति'को सम्पादक भएका बेला एउटा रचना दिन गएको थिएँ | वहाले उमेर सोधेर ६० नाघेको भनेपछि संस्मरण लेख्नुहोस् भनेका थिए | मजस्तो सर्वसाधारणको सस्मरंणको के अर्थ होला र ? भनेर लेख्ने मन कहिल्यै गरिनँ |
आज म अवकाशप्राप्त सहप्राध्यापक , जागिर , काम धन्धा नभएको , त्यसो भएपछी साथीभाई पनि नभएको अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुग्न लागेको मान्छे कसरि बाँचिरहेको हुँला ? प्रश्न उब्जिन्छ मनभरी |
जीवनका कैयो उतार चडाव, उकाली ओराली , आरोह अवरोहमा हतोत्साहित नभई जीवन गुजार्ने मैले आफ्नो गोप्य गन्तव्य बनाएको थिएँ | त्यही गन्तव्यका लागि बाँचियो | त्यो गन्तव्य समय र उमेर अनुसार परिवर्तन भएको छ तर मूल ध्येय 'मानव सेवा'भने अपरिवर्तनीय नै रहेको छ |
मानव सेवाको लागि कुनै समय सामाजिक सेवा , राजनीति , शिक्षा आदि माध्यमहरु अपनाइयो | सफलता असफलता दुवै भोगियो र अनुभव बटुलियो जुन अनुभव 'कपाल नभएको मानिसको लागि काइयो' जस्तै भएको छ |
अवकाशप्राप्त भएपछी साहित्य लेखनको धुन चड्यो | कम्प्युटर टाइप गराउन पसल पसल चाहर्नु पर्ने भयो | आफै सिक्ने विचार गरेँ , एकजना साथीलाई पनि भने "के को कम्प्युटर ? २० ,२१ उमेरका केटाहरुको काम !" तर मैले सिक्न छोडिनँ र आज यो अवकाशप्राप्त एक्लो जीवनमा काम लागिरहेको छ |यो कम्प्युटर, फेसबुक , ब्लग , ट्वीटर , गुगल्स , याहु आदि नभएको भए म के गरिरहेको हुन्थे होला ? ५२ पत्तीमा हुने धेरै सम्भावना थियो जसमा मेरा धेरै साथीहरु लागेका छन् |
अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुगेको म बेला बेला निरास , हतोत्साहित हुनु स्वाभाविक हो | यसरी हतास भएको बेला आफैले आफ्नो मनलाई सम्झाउँछु 'अब आफ्ना कामहरूको (फिनिसिङ् टच दिने ) बिट मार्ने ' र 'नयाँ कुरा सिक्ने जाँगर भइन्जेल मानिस बुढो हुदैन ' भनेझैँ नयाँ कुरा सिक्ने कोसिस गरिरहने |त्यही सिक्ने क्रममा यो संस्मरण सोझै फेसबुकमा लेखिरहेको छु , लेख्न सिकिरहेको छु |
हार्नहार्न लागेको बेला म आफ्नो हार स्वीकार्न चाहन्नँ र हारलाई जितमा बदल्न आफ्नो गन्तव्य , ध्येय र मेरो जीवनको मुल्य के हो आफैसँग सोध्ने गर्छु ? संस्मरण लेख्ने बिचार मनमा आउँछ , यो लेखनले मलाई केही दिन एक्लोपनबाट निश्चित रूपमा टाढ़ा राख्नेछ,हार्नहार्न लागेको बेला जितको अनुभूति दिलाउनेछ |
 
क्रमशः
 
क्रमश :

Thursday, August 13, 2020

(लघुसंस्मरण) मासिएकाहरू

 

(लघुसंस्मरण)
मासिएकाहरू 
 
सरण राई
 
करिब १३ वर्षको उमेरमा गाउँघरका २५/३० जवान लाठेहरू हिङखुवा खाेलामा बिहानै माछा मार्न गएका थियाैँ । केटाकेटी मसमेत तीनचार जना मात्र थियाैँ । म पिताज्युसँग र अरुहरू पनि ठूला अविभावकसँग गएकाले त्याे माछा मार्ने टाेलीमा समावेश हुन पाएका थियाैँ । यसभन्दा अगाडि याङटाङ खाेलामा पनि दुवाली फर्काएर माछा मारेकाे देखेकाे थिएँ । याङटाङ जाँदा ७/८ जना भए हुन्थ्याे । तर हिङ्खुवा जाँदा भने २५/३० जना भएरै जानुपर्ने कारण खाेला ठूलाे र माछा पनि धेरै पाइने भएर नै थियाे ।
 
खाेला पुगेपछि दुवाली फर्काउनै निकै समय लाग्याे । त्यसपछि माछा मार्ने काम सुरू भयाे । दहमा पनि ठूलाे ढुङ्गाकाे कुर छेकेर माैवा र तितेपाती कुटेर पिसेर बनाएकाे माछाकाे बिष हालियाे । केही बिषले भेटेर पल्टिएका माछा लाठेहरूले समाते । अझै कुरमा भएका माछाहरूलाई पनि पूरा हात पाखुरासम्म हुलाएर समाते । पछि भाग लगाउदा एक जनाकाे भागमा एक किलाे जति परेकाे थियाे ।
 
त्यसकाे केही समय पछि धरान झरेँ । धरानबाट बाेराबानकाे खेती जाँदा स्थानीय जातकाे माछाहरू हिले, गराइ,पैया, टेङ्ग्रा,गराइ, बुहालि,सिङ्गे, पाेथी आदि अनेकाैं जातका माछाहरू प्रसस्तै खाइयाे । भान्सामा भाँडा बसाएर खेतकाे आलीमा थापेकाे ढाेडियामा परेकाे माछा ल्यायाे, पकायाे,खायाे । त्याे बेला मधेसमा २०१८ देखि ४४/४५ सालसम्म खाेला, पैनी, खेत पाेखरी जताततै माछा पाइन्थ्याे । आफ्नाे पैनीकाे मुहान पनि आफ्नै नीजि हुन्थ्याे । एक पल्ट मुहानकाे माछा ८/९ टिन मैले नै अरुलाई अधिया मार्न लगाएर जम्मा गरेकाे थिएँ ।
 
कुलझाेडामा प्रधानाध्यापक हुँदा शनिबारकाे दिन त्यहाँका लाेकल मानिसहरूसँग पैनी थुनेर पानी उक्साएर माछा मार्न थाले पछि मैले एउटा निकै ठूलाे माछा समातेकाे थिएँ । त्याे देखे पछि सबै तरूनी तन्नेरीहरूले मलाई पानीले छ्यापे । छक्क परेँ । पछि पाे मलाई थाहा भयाे थारू, धिमाल वा रैथाने मानिसहरूकाे चलनअनुसार ठूलाे माछा समात्नेलाई पानी छेपेर सम्मान गरेका रहेछन् ।
 
त्यति बेला माछा किन्न पर्दैनथ्याे । निशुल्क नै भना‌ैं पाइन्थ्याे ।तर जनसंख्याकाे बृध्दिसँगै लाेकल जातका माछाहरूका बीउ न‌ै मासियाे । बिष हालेर माछा मार्दा बच्चै समेत मर्याे । बिजुली, ब्लाष्टले त अण्डै समेत सकियाे । बीउ नै मासिए पछि मधेशमा लाेकल माछा मासियाे । पहाडमा पनि त्यहि हाल भयाे ।अब निशुल्क माछा ... कल्पनै नगरे हुन्छ ।
 
पानी खान हुन्थ्याे सबै खाेलाकाे । फेवा तालकाे पानी उघाइ उघाइ खाने म छँदैछु । अहिले त्याे तालकाे पानी कहाँ खान सकिन्छ र !
 
हरेक निशुल्क पाईने कुरा अब शुल्क नतिरी पाइदैन । स्थानीय कुकुरकाे छाउराे माग्दा निशुल्क पाइन्छ अहिलेसम्म । रेबिजकाे डर देखाएर नगरपालिकाले धेरै कुकुर मार्याे । अहिले प्रायजसाेकाे बन्ध्याकरण भइसक्याे । अबकाे दस/ बीस वर्षपछि हाम्रा स्थानीय जातका कुकुर मासिइसकेका हुन्छन् । भाेटे कुकुर अहिले सम्म कतैकतै हाेला कि ! भाेटे कुकुर एल्सेसियन कुकुरभन्दा के मा कमि छ र ? बिरालाे, कुखुरा, हाँस, गाइगाेरु,घाेडा, हात्ती,जीवजन्तुकाे अवस्था पनि त्यस्तै छ । दस बीस वर्षपछि कुकुर पाल्न मन लागे विदेशीसँग किन्न बाहेक अरु विकल्प हुने छैन ।
 
स्थानीय जाँड रक्सि मास्न अभियान न‌ै चलाएका छन् । स्थानिय साधनस्राेत सकिएपछि स्वतः परनिर्भर हुनुपर्ने हुन्छ । स्थानीय प्रविधी, सीप मासि सकेपछि स्थानीय मान्छे पनि मास्ने अभियान षडयन्त्रकारीहरूले गर्न सक्छन् , सचेत बनाैँ ।
वंशहत्या " जेनाेसाइड" !
 
🔴
२०७७ साउन २९
🔥☯️

Wednesday, August 12, 2020

(लघुलेख) दाैतेरीहरू

 

(लघुलेख)
दाैतेरीहरू

सरण राई

दाैतेरीहरू भनेपछि समकालिन भनिरहनु परेन । एकछेका कुनै न कुनै रूपमा समयकाे हुण्डरी बतास सिरसिरे एकसाथ बेहाेरेकाे दाैतेरीहरूकाे सम्झना अाउनु र सम्झनु उनीहरूलाई...दाैतेरीपनकाे अानन्द ।
धेरै समय भेट नहुँदा ,उनीबारे केही नसुन्दा शङ्का उब्जिनु स्वाभाविक हुन्छ र भेट्दा भन्न पुगिँदाे रहेछ ,"तपाईं पनि हुनुहुन्छ?"
हाे पनि क्षणभङ्गुर चाेला मानिसकाे!
पत्रपत्रिका , रेडियोकाे समाचारबाट धेरै दाैतेरीहरूबारे थाहा हुन्छ ।फलानाे क्लासफ्रेण्ड मन्त्री भएछ - म भन्छु ।ऊ मन्त्री भएर के गर्नु ? मलाई चिन्दैन ।म मन्त्री भएकाे भए उसले मेराे क्लासफ्रेन्ड मन्त्री भएछ भन्थ्याे । र , म चिन्दिनथिएँ ।

धेरै समयसम्म जुन साथी दाैतेरीकाे बारेमा केही सुनिएकाे थिएन, ऊ विदेशकाे सुखसयलकाे नियात्रा पत्रिकामा छापेर देखा पर्दा खुसी लाग्याे साथै अाफूलाई त्यस्तो सुखसयल नजुरेकाेमा सम्झन्छु फटाहा, छट्टुहरूले खाएकाे देश... खलनायकहरू नायक भएकाे व्यवस्था अवस्था ।
देख्छु माथि पुगेका दाैतेरीहरूकाे रवाफ ! अनैतिक अवैध अमर्यादित सिडी उक्लि छिट्टै माथि गएकाले अन्तरमनभित्र अत्तालिएका हराएका ! त्यसाे हुँदा मनकाे शान्ति हराएर छिट्टै माथी गएका ।
सर्वसाधारण अाममान्छे भएर बाँच्न सकेकाेमा सन्तुष्ट छु ।कमसेकम अन्तरमन त पवित्र छ ।
माथि पुग्ने दाैतेरीहरू नै छिट्टै माथि पुगेका छन् ।तलै रहेर अधुरा कामहरूका फिनिसिङ टच दिन पाऊँ !

२०७५साउन २६,सुमेरू अस्पताल

 

Friday, August 7, 2020

(लघुलेख) नयाँ शक्ति

 

(लघुलेख)
नयाँ शक्ति

सरण राई

हरेक पल्ट हारेर पनि कहिल्यै नहार्ने जनता हुन् । हरेक पल्ट दुष्ट निकृष्टहरूले जनताकाे सपना तुहाएर अाफ्नाे स्वार्थ पूरा गरेका छन् ।
पुराना शक्तिहरुले बारम्बार देश र जनतालाई धोका दिएपछि नयाँ शक्तिको उदय स्वागतयोग्य हुन्छ | देशलाई नै नयाँ शक्तिको जरुरी छ ।
देशको आवश्यकतालाई हेरेर होइन आफ्नो जातलाई केन्द्रमा राखेर हेर्ने परिपाटीले गर्दा आजसम्मका तथाकथित विचारक, विश्लेषक हुँ भन्नेहरु र नेता र दलहरु पनि असफल भई सकेको अवस्था छ |
मुलुक जोगाउने नयाँ शक्ति देशले नै जन्माउने छ आफ्नो रक्षाको लागि ,सार्बभौम सत्ता जोगाउनकालागी | अब एकलकाटे सोच काम लाग्दैन , सबै उदांग भैसकेका छन् |
अाजसम्मकाे विश्व दर्शन षड्यन्त्रको दर्शन रहेकाे छ । मरेपछि पाइने स्वर्ग, माेक्ष, परमात्मा, काल्पनिक शास्र , पूर्वजन्मकाे फल, पुनर्जन्म अादिकाे चक्करमा फसाइएकाे सर्वसाधारण ! उनीहरूकाे श्रममा माेज गर्ने नेता, अगुवाहरू । अल्मलाउने सैध्दान्तिक छलकपटमा भुलिएका पिछलग्गुहरू ।
सही ज्ञान, चिन्तन र बैज्ञानिक साेचकाे अभावमा जनताजनार्दनलाई लाटाे गाेजाङ्ग्राे बनाईएकाे छ र "लाटाेकाे देशमा गडाहा तन्नेरी !"
विवेक मरेकाे अवस्था ; भ्रमात्मक झुठाे नामधारी ज्ञानकाे भुलभुलैया ! यस्ता भुलभुलैयाले अग्रगामी शक्तिकाे जन्म हुन नदिन अनेकाैं प्रपञ्च रचिरहेकाे भए पनि अग्रगामी नयाँ शक्ति जन्मिन्छ नै । त्यस शक्तिले मात्र अहिलेकाे भयानक षड्यन्त्रकारी राष्ट्रघाती निकृष्ट दुष्टहरूकाे चङ्गुलबाट देश र निमुखा बनाइएका जनता जनार्दनलाई बचाएर देशकाे नव निर्माण र विकास गर्न सक्छ ।
र, नयाँ शक्तिकाे उदयले सबै सपनाहरू पूरा हुने छ । अशावादी सबै ! केही समय वर्तमान अँध्याराे - मिरमिरे बिहान अाउन लाग्दा । नयाँ शक्ति उज्यालाे प्रखर सुखकाे बिहान !
🔴
२०७७ साउन २३

🔥☯️🔥

काेपा ह: कुलमर्दन राई र काेमा कृष्णकुमारी राई

 

 

Tuesday, August 4, 2020

(लघुआत्मालाप) हुँदा / नहुँदा

(लघुआत्मालाप)
हुँदा / नहुँदा

सरण राई

सरण राईले आफू हुँदा/ नहुँदाकाे कथा (मानिसले भाेगेका/भाेग्ने ब्यथा) लेख्न थालेका रहेछन् । कस्ताे लेख्छन् हाेला ?
अहिले त उनी बाँचेका छन् र आफू हुँदाकाे अनुभव अनुभूति सुख दु: खका कुरा प्लट मिलाएर लेख्न सक्छन् । त्याे चाखिलाे हुने नहुने पनि भन्न सकिदैन ।
उनले नभएका गइर्सकेका उनका पत्नी र अरूका कथा लेखेका छन् । उनी हुँदाकाे कथा त उनैले लेख्लान्, तर उनी नहुँदाकाे कथा उनले लेख्न सक्छन् र ! लेखेभने पनि त्याे काल्पनिक फाेस्सा हुन्छ । उनी जस्तै अरबाै जन्मेर गईसके, ती सबकाे कथा पढेर साध्य हुन्छ ? एक समयका रङ्गरवास मलिन झकिझकाउ---क्षणिक झाेक्का !
अहिले भएकाहरू पनि त्यस्तै हाेइनन् र ? सदा रहने त काेही रहेनछन् । तापनि भएकाहरूका लागि हाे सबथाेक !
कालान्तरमा सब क्षणभङ्गुर सावित हुने नै छन् । भएता पनि कसरी याे कथा लेखन गर्दा उद्देश्यमूलक हाेला, सार्थक हाेला ? सल्लाह दिन सकिन्छ तसर्थ यस्ताे लेख्नुहाेस् भनेर सल्लाह, सुझाव खाेजिरहेका छन् , बिचरा अदना ! कथा लेख्न खाेज्ने सरण ।
अस्ताउनु भन्दा पहिले चम्किने किरण ! जेजस्ताे भए नि किरण हाे । त्याे किरणलाई सम्मान गर्नु निभ्न लागेका दियाेलाई हावाहुन्डरीबाट केहीबेर भए पनि बचाउनु सरह हाे ।
जिउँदाे हुँदाकाे जिवन्त कथा लेख्न दिनुहाेस् । अन्तिम किरण चम्किन दिनुहाेस् । गईसकेपछि त " ला बाबै केरा खा" जस्तै हाे ।
अस्ताउनुभन्दा निमेष अगाडिसम्म पनि चम्कन चाहन्छ/ चम्किरहन्छ मानिस ! त्यस्तै एक उनी पनि ...!
🔴
२०७७ साउन २३

🔥🌹🌹🔥🔥