Followers

Saturday, February 27, 2021

(लघु लेख ) राजनैतिक विकासमा कार्यकर्ता

 

Public
(लघु लेख )
राजनैतिक विकासमा कार्यकर्ता
 
सरण राई 

 
राजनीति सर्वोपरी हुन्छ | मानिसको जन्मदेखि मरणसम्म प्रभावित पार्दछ | समाज, सभ्यता, सुख , सम्पन्नता आदि सबै कुरा राजनैतिक वातावरणले निर्धारण गर्दछ | राजनैतिक वातावरण राजनैतिक दलहरुको अवस्थाले निर्धारण गर्दछ | |राजनैतिक दलहरुको अवस्था यसका नेता र कार्यकर्ताहरुको स्थिति , मानसिकता , आचरण , आचार र व्यवहारले निर्धारण गर्दछ |
राजनैतिक दलहरुका नेताहरुका स्थिति , मानसिकता , आचरण , आचार र व्यवहार कार्यकर्ताहरुमाथि निर्भर हुन्छ | कार्यकर्ताहरु चनाखो छैनन् भने नेता निरङ्कुश हुन्छ | नेताको मनपरीले पार्टी बिग्रिन्छ , सिध्दान्त ,मुल्य, मान्यता र नीति ,नियमले पार्टी चल्दैन, नेताको सनकमा पार्टी चल्न थाल्छ |पार्टीहरुमा यो रोग फैलिएपछी राजनैतिक वातावरण बिग्रिन्छ | राजनीति बिग्रेर धमिलो पानीमा माछा मार्ने प्रवृति बढ्छ |
विकासोन्मुख देशका कार्यकर्ताहरु राजनीति राम्ररी बुझ्न नसक्ने अवस्थामा रहेको हुँदा नेताहरुले भ्रमको खेती गर्न थाल्छन् | गरिवी , अशिक्षा र अज्ञानताको अवस्थामा रहेको कार्यकर्ताहरुलाई चटकी कुरामा लोभ्याएर नेताहरुले फाइदा उठाउछन् |
राजनैतिक कार्यकर्ता हुनु भनेको आफ्नो सम्पूर्ण बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य धरौटी राखेर सेनाको सिपाहीजस्तो हुनु होइन | अन्ध समर्थक हुनु होइन , पार्टीको खेताला हुनु पनि होइन | आफ्नो अन्तरमनको पुकार नसुन्ने हुनु होइन | फटाहा नेता वा पार्टीको गलत कामको पनि वकालत गरिरहनु राजनैतिक कार्यकर्ताहरुको दायित्व हुँदै होइन |
राजनैतिक कार्यकर्ताहरुको चेतनाको स्तर जबसम्म न्यून रहन्छ , उनीहरु भेडाबाख्रा सरह नै हुन्छन् | चाकडी चाप्लुसीको बोलवाला पार्टीमा रही रहन्छ | सहि सैध्दान्तिक जगमा पार्टी निर्माण हुन सक्तैन |राजनैतिक कार्यकर्ताहरुको बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य पार्टीको जीवन्तताको सर्तहरु हुन् |
बिरोधीहरुको कुरै नसुन्ने , आफ्नो दलको मात्र सब कुरा ठीक भन्ने र सहि ढङ्गले सोच्न नसक्ने कार्यकर्ताहरुकोस्थितिले सहि राजनैतिक विकास हुन सक्तैन र असल राजनीतिको विकास पनि हुन सक्तैन | हामी सम्पूर्ण देशवासीहरु एउटै जहाजका यात्रीझैँ होँ , देश बने हामी बन्छौँ , देश बिग्रीए हामी सप्रने कुरै हुँदैन | जनतालाई बिभिन्न दलहरुमा भिभाजन गरेर भेडाबाख्राजस्तो आफ्नो निजि र दलगत स्वार्थ पूरा गर्ने वर्तमान परिपाटी देश र जनताको हित अनुकुल छैन , त्यस्तो परिपाटी समाप्त पार्ने दायित्व कार्यकर्ताहरुको हो |
लहै लहैमा स्यालको हुइयामा हिडाउने र हिडने कार्यकर्ता भइन्जेल देश उभो लाग्ने कुरै हुँदैन |कुनै दलको सदस्य हुनु भनेको आफु त्यस दलको नोकर, दास वा गुलाम हुनु कदापि होइन | | दलको सदस्यहरु पनि वैयक्तिक रुपले पूर्ण स्वतन्त्र छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरुले मात्र असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |
यस्तो विवेकशील स्वतन्त्र र सहि ढङ्गले सोच्न सक्ने असल कार्यकर्ताहरु आजको आवश्यकता हो | देश हामी सबैको हो , देश सप्रे हामी सबै सप्रन्छौ | कार्यकर्ताहरु देश र जनताका लागि हुन् | कुनै दल र नेताका लागि मात्र होइनन् | आफ्नो दलको कार्यकर्ताहरु आफै मालिक हुन्, दलहरुका खेताला, दास, नोकर होइनन् | रोबोट होइनन् | कार्यकर्ताहरुले आफ्नो महत्व आफै बुझेर देश र जनताकाे पक्षमा स्वनिर्णय गर्न सक्ने अवस्थामा पुग्नु जरुरी छ | यसो भएमा कार्यकर्ताहरुले असल राजनैतिक विकासमा अमुल्य योगदान गर्नेछन् |
२०७० पौष २२ , धरान

 

Wednesday, February 3, 2021

(लघुसंस्मरण) चार आनाकाे कुरा

 

(लघुसंस्मरण)
चार आनाकाे कुरा
 
सरण राई
 
याे कुरा २०१८/१९ सालतिरकाे हाे । आैलाे उन्मुलन कार्य चालू थियाे । घरघरमा डिडिटि पाउडर छरिएकाेले बिरालाे, साङ्ले र किराफट्याङ्रा पनि मरेका थिए । बिरालाेकाे जनसंख्या घटेकाे थियाे भने मान्छेकाे जनसंख्या चाहिँ बढ्दै थियाे ।
पहाडबाट झरेकाे म १४/१५ वर्षे ठिटाे धरानकाे पब्लिक हाई स्कुलमा ९ कक्षामा पढ्दै थिएँ । पहाडबाट झरेकाे, गर्मीले जीउभरि घमाैराे गर्मी खप्न नसकेर छटछटी भए पनि नयाँ नयाँ माेटर गाडि, साइकल, वातावरण र मान्छे र सभ्यता संस्कार चलन ... सबै नाैलाे लागिरहेकाे हुन्थ्याे ।
सिनेमा पहिलाे पल्ट धरानमा हेरियाे । बिजुली नभएकाेले जेनरेटर चलाएर फिल्म देखाइन्थ्याे । नेपाली चलचित्र पनि थिएन । हिन्दी देखाइन्थ्याे । हिन्दी बुझिद‌ैनथ्याे तर नाचगान , घटना हेरेर मक्खै परिन्थ्याे । पछिदेखि हिन्दी डायलाग पनि बुझ्न थालियाे । त्यतिबेला सिनेमाभने पछि सबै हुरूक्कै हुन्थे । सिनेमा हल नगई सिनेमा हेर्न पाइदैनथ्याे ।
सिनेमाकाे प्रभाव बिराटनगरका केटाकेटीहरू त हिन्दीमै बात करते थे ।
तराइमा भा.रु.काे चलन थियाे । माे.रु. एक रुपियालाई दस आनी भन्थे । १०पैसा= १ आना अर्थात १०आना= १ रुपिया माे.रु. ।
२/३ दिनकाे स्कुल छुट्टि भए २/-बसमा तिरेर धरानबाट दुहबी गयाे । त्यहाँबाट माेतिपुर हुँदै हिँडेर बाेराबान पुगिन्थ्याे । त्यहि क्रममा दुहवीबाट बाेराबान जाँदा पेन्ट खाेलेर चप्पल हातमा बाेकेर हिलाे बाटाेमा हिड्दा एउटा कालाे गगल्स भेटेँ । गगल्स लगाएर पेन्ट काँधमा झुन्डाएर हिड्दै गाउँकाे चिया पसल पुगे । तीन रूपिया बाेकेर हिडेकाे २/- बसमा भाडा तिरी हालियाे बाँकि एक रूपियाकाे ढ्याक पेन्टकाे खल्तिमा राखेकाे थिएँ । देहातमा बजारमा २आना पर्ने एक कप चिया १आनामा पाइन्थ्याे । काेकिस १आना गाेटा । भेटेकाे कालाे गगल्स लगाएर सिनेमाकाे हिराे जस्ताे भएर पाेज दिदै २आनाकाे काेकिस र १आनाकाे चिया खाईसकेपछि पेन्टकाे खाेजीबाट पैसा निकाल्न छाम्छु । उधाेमुन्टे हुँदा गाेजीबाट पैसा अघि नै खसेछ ।
कालाे निलाे भएर भनेँ-- "पैसा हराएछ, पैसा छैन ।"
चिया पसलेले रिसाएर हेर्नासाथ वरिपरीकाे चिया खाँदै बसेका मान्छेहरू पनि जर्याकजुरुक उठ्न थाले । तीन आनाकाे खाकाे अब कथालाे समातेर कति गाेदाइ खाईने भयाे ? तै एउटा बुध्दी पलाएछ र भनेँ- "याे गगल्स धिताे राखिराख्नाेस्, फर्किदा तीन आनाकाे सट्टा चार आना तिरेर चस्मा उकासाैला ।"
भेटेकाे गगल्स बुझाएर छाला जाेगाइयाे । त्याे गगल्स उकास्ने मन पनि भएन । फर्किदा अर्क‌ै बाटाेबाट फर्किएँ ।
तर त्याे घट्नाले जिन्दगीभरी काम लाग्ने एउटा पाठ सिकायाे " हाेटलमा खानुभन्दा पहिला गाेजि छाम्नु र मात्र खानु । खाएकाे खाने चिजकाे पैसा तिर्न सकिएन भने त तात्तातै छदाउछन् गाँठे ! "
(काेकिस निक‌ै समय हराएकाे थियाे । अहिले भने फेरि आउन थालेछ । खाजामा नातिनीले काेकिस खान दिँदा त्याे घटना सम्झन पुगेँ र आज आनाकाे कुरा नभएकाे बेला एक छिन सम्झेकाे त्याे फर्केर नआउने समय ! समय ... सम्झदा आफैलाई आश्चर्य लाग्छ ।)
🌺
२०७७/९/१६
🌻

🌻