Followers

Tuesday, April 23, 2019

(लघुसंस्मरण) थाेत्रा गाडीहरू

(लघुसंस्मरण)
थाेत्रा गाडीहरू

सरण राई

पहिलाेपल्ट घरगाउँ छाडेर काका मर्म बहादुर राईकाे साथमा धरान आउदाका केही अनुभूतिहरू मनमष्तिस्कमा अमिट भइ बसेकाे छ । बिहानै सखारै उठेर हिँड्नु, काकालाइ भेट्न काेही बेला त कुद्नै पर्ने । तर नयाँ र पहिलाे यात्रा भएकाेले केटाैले जाेस र उमङ्गसाथ गलेकाे कुरा बिर्सेर चार दिन निरन्तर हिडेपछि चतरा पुगेकाे सम्झना ताजै छ ।
चिउरा पटक्कै मन नपर्ने मलाई पिखुवा किनारमा हिँडिरहदा चिउरा रूमालमा पाेकाे पारेर पानीमा चाेपेर भिजेकाे चिउरा खाँदै हिडेकाे सम्झना पनि ताजै छ । चिउरा कति मीठाे भएकाे थियाे.. स्वाद जिब्राेमै छ ।
पहाडकाे दुर्गम गाउँ छिनामखुबाट पहिलाेपल्ट तराई झरेकाे १४वर्ष टेक्न लागेकाे केटाेले चतरामा पहिलाेपल्ट गाडि माेटर देखेकाे थियाे । गाडि माेटर देख्दा हर्षले गदगद् भएर कतिबेला चढ्न पाइएला भन्ने आतुरी लागेकाे थियाे ।
गाडी चढियाे । सिट नाममात्रकाे ४वा ५वटा थिए । मान्छे बसिसकेका । उभिएरै धरान पुग्नु पर्ने । १घन्टा भइसक्याे, यात्री कुरेकाे कुरैकै । बल्ल बल्ल बाख्रा खाेरमाझैँ मान्छेहरू खादेकाे । ड्राइभर सिटमा बसिसकेपछि खलासी जेड आकारकाे फलामे डण्डी इन्जीन अगाडीकाे दुलाेमा हुलाएर बलले घुमाउछ । घरघर थाेरै गर्छ । स्टार्ट हुँदैन ।"सबैजना ओर्लेर गाडी ठेल्ने घचेट्ने" ड्राइभरकाे आदेश ।
झरेर केही बेर ठेलेपछि गाडी स्टार्ट हुन्छ । कुदेर गुरूरु चढ्याे । अहा, पहिलाे चाेटि गाडी चढेकाे । मान्छेकाे घुइचाेमा हल्लाएर हल्लाएर अलिकति के कुदेकाे हुन्छ । स्टार्ट बन्द । फेरि घचेट्, कुदेर चढ् । एक माेहर भाडा तिरेर गर्मी , अनेक सास्ती सहेर बल्ल बल्ल धरान आइपुगियाे । काठका लस्करै घरैघर, मान्छे नै मान्छे । धरान बजार यस्ताे रहेछ - मक्ख परियाे ।
बिराटनगर जाने गाडि माेटरकाे अवस्था पनि चतराकै जस्ताे थियाे । गाडी चढ्। भाडा तिर् र गाडी घचेट्, ठेल् । त्यति बेला पुराना थाेत्रा गाडी र कच्ची बाटाेकाे अवस्थाले गर्दा गाडी चढ्नेकाे कर्तव्य गाडी ठेल्नु मानिन्थ्याे ।
बाटाहरू बने । पुर्व पश्चिम राजमार्ग बन्न थाल्याे । धरान बिराटनगरकाे बाटाे पक्की भयाे ।आराथुम (भारतकाे एउटा बस कम्पनी) बस आयाे । नयाँ सफा ठेल्नु नपर्ने चढेपछि गन्तव्यमा निश्चित समयमा पुराउने । यात्रीहरू एक घन्टा कुरेर भए पनि आराथुम नै चढ्न थाले । थाेत्रा गाडि माेटर चल्ने कुरा भएन ।आराथुम नआएसम्म विकल्प नहुँदा थाेत्रा गाडि माेटर नै चढ्नु पर्ने बाध्यता थियो ।
थाेत्रा गाडि माेटरवालाहरूले सिण्डिकेट बनाए । आराथुमलाई अनेक अवराेध पुराउन थाले । अवराेध गरेर मात्र नहुने रहेछ भन्ने बुझे र सिण्डिकेटकाे माध्यमबाट नयाँ बसहरू ल्याए । आराथुम हरायाे ।
(अहिलेका राजनैतिक दलहरू पनि ती थाेत्रा गाडि माेटर जस्तै हुन् । अर्काे असल राजनीति बाेक्ने शक्तिकाे प्रतीक्षामा जनता रहेका छन् । त्याे शक्तिकाे आगमनसँगै यी थाेत्रा दलहरू फालिने छन् । यी दलहरूकाे सिण्डिकेट त बन्न थालेकाे छ । तर नयाँ बस ल्याउने तयारी भने छैन । यिनीहरू टिकिरहने हाे भने आफूलाई कायापलट गर्नुपर्ने छ अन्यथा अर्काे शक्तिले यीनीहरूलाइ पूर्णतया विस्थापित गर्ने निश्चित छ ।)



🔴

https://facebooklit.blogspot.com/
२०७६ वैशाख १०, धरान






Saturday, April 20, 2019

(लघुअात्मालाप) केका लागि बाँच्ने?

(लघुअात्मालाप)
केका लागि बाँच्ने?

सरण राई

युवा हुँदासम्म राजनीति जनता र देशकाे लागि हाे भन्दै राजनीतिमा पूर्णकालिन हुन नसके पनि राजनीति गरिब दुःखी र देशकाे उन्नतिका लागि हुनुपर्छ भन्ने अडानसाथ असल राजनीतिका लागि त्याे युवा काल समर्पित गरियाे ।
२००७ साल बाल्यकालमा भाेगियाे । त्यसबारे राम्ररी थाहा पाइएन । ००७साल पछिकाे बहुदलीय व्यवस्था नै मेराे राजनैतिक ज्ञान र प्रशिक्षणकाे अवधि रह्याे । २०१५ससालकाे पहिलाे अाम निर्वाचनमा पिता मछिन्द्रबहादुर राई भाेजपुरकाे उत्तरी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टिकाे तर्फबाट संसदकाे लागि उम्मेदवार हुनुले मलाइ वामपन्थी राजनीतितर्फ अाकृष्ट बनायाे ।
६०वर्षकाे उमेरसम्म मानव अधिकार, प्राज्ञिग स्वतन्त्रता र उन्नत राजनैतिक व्यवस्थाका लागि राजनीति बाँच्ने अाधार थियाे । त्यही लक्ष्य खातिर अाफ्नाे समय व्यतित गरियाे ।
अाफ्नै जीवन कालमा गणतन्त्र प्राप्ति हाेला भन्ने साेचेकाे ,अाश गरिएकाे पनि थिएन ।
गणतन्त्र पाइयाे । अनेक नदेखेका नसाेचेका कुराहरू भाेगिदै छ । गणतन्त्र नपाइन्जेल राजनीतिप्रति जुन राजनैतिक चासाे र सग्लनता थियाे समाप्त भयाे । राजनीति अहिले सर्वाधिक फाेहाेरी भएकाे छ ।अाकर्षण सकिएकाे छ ।
६१देखि ७१वर्षकाे उमेर पत्नी प्रेममा बित्याे जुन मेराे जीवनका सर्वाधिक रमाइला महत्वपूर्ण समय थियाे ।
पत्नीकाे देहावसानले अब ७१वर्ष पछिकाे मेराे जीवनबारे जटिल प्रश्न उत्पन्न गराएकाे छ । सायद मेराे साहित्यिक मन र लगन नै मेराे बाँच्ने सहारा हुन्छ कि ?
(याे विषम अवस्थामा मलाई मेराे शुभच्छुकहरूकाे गहन सुझाव,साथ र सहयाेगकाे अावश्यकता महसुस भइरहेकाे छ।)
२०७५।११।२६,धरान

(लघुसंस्मरण) ती दिनहरू

(लघुसंस्मरण)
ती दिनहरू

सरण राई

बुढासुब्बा मन्दिरमा पुग्नासाथ पुराना सम्झनाहरू एकाआपसमा तँछाडमछाड गर्दै अटेसमटेस ओइरिए ।

पहाडकाे दुर्गम गाउँ छिनामखुबाट पहिलाेपल्ट धरान तराई झरेकाे १४वर्ष टेक्न लागेकाे केटाेले पहिलाेपल्ट आधुनिक भनाउदा चहलपहल (गाडि माेटर, साइकल, सहरी परिवेश, भीडभाड चहलपहल, त्यतिबेला धरानमा पनि बिजुली थिएन, आदि) देखेकाे थियाे । छक्क परेकाे थियाे । ;सितल चिसो पहाडमा बस्ने निर्बोध केटोले सबैभन्दा बढि गर्मीले तुरुरु पसिना चुहाउदै भए पनि नयाँ जगतमा प्रवेश गरेकाे अनुभूति गरेकाे थियाे ।

खाेई त्यतिबेला फुपु फुफाजुहरूसँग बसेकाे इन्द्रबहादुर राईकाे घर ? छेउमै रहेकाे हिरालाल, टि.अार विश्वकर्माकाे घर के भयाे ? अम्बिका श्रेष्ठकाे सुन्दर फूलबारी र घर ? खाेई रमेश नेपालीसँग साइकल सिकेकाे बुढासुब्बा मन्दिर अगाडि रहेकाे सानाे चाैरी ? ती स्थानमा नयाँ घरहरु बनेका रहेछन् ।

त्यतिबेला हामी बसेकाे घरकै छेउमा बुढासुब्बा मन्दिरका पुजारीकाे घर थियाे । बुढासुब्बामा पुजा गरेर पुजारीकाे भागमा परेकाे कुखुराकाे टाउकाे २५पैसा गाेटा पाइन्थ्याे । खुब खाइयाे । याे २०१८ सालकाे कुरा हाे ।

साइकल दिनभरिकाे दुइ रुपियामा पाइन्थ्याे । रमेश नेपाली र मैले एक एक रुपिया मिलाएर दिनभरकाे लागि साइकल बिजयपुरकाे उकालाे (सिहदेवीदेखि माथिकाे) कुनै ठाउँ बाेकेर घिसारेर बुढासुब्बा मन्दिर अगाडि रहेकाे सानाे चाैरीमा पुर्यायाै । दिनभर सिक्याैँ । बेलुकि फर्कदा रमेशले त्याे ओरालाेमा साइकल चढेर नै झार्याे । ढुङ्गा ढुङ्गाकाे खाल्डा खुल्डी परेकाे ओरालाेमा लडेर हातखुट्टा भाच्ने भाे भनेर म डराएकाे थिएँ । दिनभर साइकल सिक्दा हामी दुवैकाे हातखुट्टा भरि चाेटैचाेट लागेकाे थियाे । तर उ सहिसलामत बजार झर्न सफल भयाे ।

बुढासुब्बा मन्दिर म, पत्नी लक्ष्मी र बाजे ससुरा (३०३६सालतिर हाेला) गएका थियाैँ । बाजे ससुराले यहाँ त प्रसादकाे रूपमा रक्सी खानु पर्छ भने । बिहानै कसरी खानु ? दाेधारमा परेर पत्नीतर्फ हेरेकाे थिएँ । आँखाकै इशारामा तिनले सम्मति दिएपछि बाजे ससुरा र मैले एक बाेटल खाेयाबिर्के बिहानै बजाएका थियाैँ ।

बाजे ससुरा र म त्यतिबेला बसेकाे स्थानमा बस्न पुग्छु । अनायास तिनी बसेकाे ठाउँतिर हेर्न पुग्छु । रित्ताे ...

ती कुराहरू सम्झदा (नढाटी भनाैँ) म राेएँ त ? ती दिनहरू अत्यन्त रमणीय दिनहरू थिए । विलुप्त ती दिनहरू... कहाँ गए?
🔴
https://facebooklit.blogspot.com/2019/04/blog-post.html
२०७६वैशाख ८, धरान