Followers

Thursday, January 29, 2015

(लघु कथन ) सपना र जीवन

साहित्यमा नयाँ बिधा
(लघु कथन )
सपना र जीवन
सरण राई
....मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ | ऊ धार्मिक कथाको राक्षस , भुत वा डाका लुटेरा हुनसक्छ | हातमा नाङ्गो खुकुरी छ | म चारैतिर कोहि छ कि भनेर हेर्छु , कोहि मद्दत गर्ने मानिस छैन | म भागिरहेको छु , भागिरहेको छु ...ऊ खेदिरहेको छ , खेदिरहेको छ | भाग्दा भाग्दै भीरको छेउमा पुग्छु | अब भाग्ने ठाँउ छैन | ज्यान जाने नै भयो , म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लडन तयार हुन्छु | लड्दालड्दै पछाडी सर्दा भीरबाट झर्छु |
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु | मेरा प्राध्यापक साथीहरु पनि थुप्रै छन् | सम्मेलनबाट फर्किरहेका रे | तल सडकमा हेरेको... 'बन्द' रे | पुलिस र बन्दकर्ताहरु भिडिरहेका छन् | अलिक शान्त भएपछी ओर्लन्छौँ | रात परि सकेको छ | कोहि कता कोहि कता जान लागे | म चाहीँ अब कता जाऊ | अन्यौलमा थिए | " एक छिन पर्खिदै गर्नुहोस है " भनेर गएका हरि सर आउनु भएको छैन | यो परदेसको ठाँउमा रात कता बिताउने होला ? चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ | हरि सर आउनु हुन्न  | अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ |
अचानक आँखा खुल्छ |
टेन्सन समाप्त | आनन्द लाग्छ | अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ | आँखा खोलिनासाथ सपनाको दु:ख, सुख, रमाइलो ,नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दु:ख -सुख , चिन्ता- पीडा, हर्ष-आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष-आनन्द का साथ पीडा दु:ख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!

२०७१ माघ १६ बिहिबार , धरान |

Thursday, January 22, 2015

(लघु कथा ) नोकरहरुको लडाई

(लघु कथा )
नोकरहरुको लडाई
सरण राई
मालिकलाई आफ्ना गाउँलेहरु एकापसमा मिलेर सुख र शान्तिसग बसेको मन पर्दैनथ्यो | त्यसरी बसे भने उसले चाहेको कुराहरु पुरा हुन सक्तैनथ्यो | उसको दबदबा पनि कायम हुन सक्तैनथ्यो | उनीहरुलाई जुधाएर , उक्साएर र चर्को ब्याजमा ऋण सापटी दिएर मुद्दा मामिला गर्न लगाउथ्यो |
गाउँलेहरुले यी झगडा फसाद, गरिबी र अशान्तिको जड अशिक्षा हो भन्ने ठानेर एउटा पाठशाला खोल्ने सल्लाह गरे |
पाठशाला जस्तो कुरोको विरोध गर्न हुदैनथ्यो -- मालिकले जुक्ति निकाल्यो | पाठशाला खोल्ने कुरा मालिकलाई मन परेको थिएन | दुइजना नोकरहरुलाई गाउँ पठायो | पहिलो नोकरले पाठशाला डाडामा हुनुपर्छ भनेर प्रचार गर्यो | दोस्रोले गहिरामा हुनुपर्छ भनेर आधि गाउँलेहरुलाई 'कन्भिन्स ' गर्यो | मालिकसँग सल्लाह र सहयोग माग्ने भनेर उनको घरमा सबै गाउँलेहरु जम्मा भए पछी मालिकले सोध्यो - "पाठशाला कहाँ  खोल्ने ?"
"डाँडामा "पहिलो नोकरका साथै केहि गाउँलेले भने |
"गहिरामा " दोस्रो नोकरका साथै केहि गाउँलेले भने |
पाठशाला खोलिनु अगाडी नै डाँडामा खोल्ने र गहिरामा खोल्ने दुइ दलमा गाउँलेहरु विभक्त भैसकेका थिए | दुवै दलका नेताहरु भने मालिकका नोकरहरु नै भएका थिए |
डाँडामा कि गहिरामा ? वाद विवाद पछी गाउँलेहरु हात हालाहालकै अवस्थामा पुगे | गाउँलेहरु दुइ समुहमा बाड़िएर लडाई झगडा हुन् थाल्यो |
पाठशालाको कुरा हरायो | यो देखेर मालिक भने आनन्दले मुस्कुराउँन थालेको थियो |
२०७१ माघ ८