Followers

Friday, January 31, 2020

(लघुलेख) देश निकाला

(लघुलेख)
देश निकाला

सरण राई

अाफ्नै देशमा जन्मेर पनि देशभित्र बस्न नपाएर गरिबगुर्वा, मजदुर , किसान देश निकालामा परिरहेका छन् ।
कानुनले उनीहरूलाई देशनिकाला गरेकाे हाेइन । राजनैतिक व्यवस्थाले देशमा गरिखाने वातावरण परिवेश बिगारेर बाँच्नै नसक्ने गरि अनेकाैं व्यवधानभित्र उकुसमुकुस पारेपछि सास जाेगाउन बाध्यताले विदेश पलायन हुनु अाम जनताकाे नियती बनाइएकाे छ । याे बनाउने अरू काेही हाेइन हामीले नै जिताएकाे दलाल भडुवा राष्ट्रघाती नेता भनाउदाहरूले हाे ।
विदेशीकाे दलाल तिनीहरू ! तिनीहरूलाई यस्ताे परिवेशले मनपरि शासन गर्ने माैका दिई रहेकाे छ । मनपरि गरेर , राष्ट्रघात गरेर, भ्रष्टाचार गरेर अर्थतन्त्र तहसनहस गरेर विदेशीका लागि सस्ताे मजदुर बनाउने तिनीहरू गरिबगुर्वाकै नाममा राजनिति गर्ने भ्रम छर्न सफल भइरहेसम्म सर्वसाधारण अाममान्छे देश निकालाकाे सिकार भइरहने छन् ।
ती दलालहरू ! कति निर्लज्ज रहेछन् । कालापानी, लिपुलेक , लिम्पियाधुराबारे माैन छन् । mcc सन्धी संसदमा अनुमाेदन गराउन अनेक प्रपञ्च रचिरहेका छन् । युध्द नै नलडि, युध्दमा नजितीकनै नेपाल उपनिवेश बनाउने र नेपालीलाई गुलाम बनाउने विदेशीकाे मतियार तिनीहरू नाङ्गेझार भएका छन् । तिनीहरूलाई देशभक्तहरूले देशनिकाला नगरून्जेल गरिबगुर्वाहरूले देशनिकालाबाट उन्मुक्ति पाउन सम्भव छैन ।

***
२०७६ माघ १७, धरान



Saturday, January 25, 2020

(लघुआत्मालाप) प्राप्ति

(लघुआत्मालाप)
प्राप्ति

सरण राई

उमेरले साेचलाई प्रभावित पार्छ नै । म अपवाद हुन सक्तिनँ ।
अब ७३ लाग्न वर्षकाे अन्तिम महिना चैत २४ पर्खदै छु । याे ७२वर्षे जाेवनमा मैले प्राय जसाे मानिसले भाेग्ने सुख दुःख भाेगिसकेकाे रहेछु । सबैभन्दा ठूलाे पीडा पत्नीकाे देहावशानले दिएकाे छ । जीवन सप्तरङ्गी मात्र नभएर नाैरङ्गी हुँदाे रहेछ । थाहा भयाे । त्यहि पीडामा डुबिरहेकाे बेला 'नाैरङ्गी' (एक सय एक लघुकथा ) जन्मियाे । त्यहि पीडामा डुबिरहेकाे बेला आजसम्म मैले लेखेकाे मध्ये सबैभन्दा उत्कृष्ट कथा 'फुली' लेखेकाे छु । त्याे कथा लेख्न (कलमले) एक महिना लाग्याे । लेख्दै गर्दा आँसुले लेख्नै दिदैनथ्याे । लेख्न छाड्छु भनेर छाडेकाे पनि थिएँ । एक जना शुभेच्छुककाे प्रेरणाले पूरा लेखेँ । म आफ्ना रचनाहरू आफै टाइप गर्छु । फेरि टाइप गर्न पनि (आँसुका कारण ) एक महिना नै लाग्याे । टाइप गरिसकेपछि एउटा युध्द जितेकाे अनुभव भयाे ।
अब प्रकाशन गर्ने कसरी ? गुटबन्दीले गर्दा पत्रिकाहरूमा मेराे पहुच छैन । '१२खरी उत्कृष्ट कथा' पढिरहेकाे बेला फेरि दाेस्राे कथा प्रतियाेगिताकाे घाेषणा भएकाे छ । त्यसैमा पठाएर २५ भित्र पर्याे भने प्रकाशनकाे समस्या समाधान हुन्छ भन्ने साेचेँ र राजेन्द्र पराजुलिलाई इमेल माग्दा अनलाइनकाे सुचना हेर्न भने । सूचना हेरेँ १५०० देखि ४००० सम्मकाे शब्दमा कथा हुनुपर्ने रहेछ । शब्द गनेकाे थिएन, वर्ड काउन्ट टुल्समा कथाकाे शब्द गन्दा ६३४५ , वाक्य ५६७ र प्याराग्राफ २६ रहेछ । अब प्रतियाेगितामा सामेल गराउने साेच हरायाे ।
आजसम्म साहित्यमा लागेर एउटा पुरस्कार पाएर देउती भने जगाएकै रहेछु । चित्त बुझाउछु पुरस्कारकाे लागि लेख्ने हाे र ? याे उमेरमा प्रतियाेगितामा सामेल हुने ?
सम्पत्तिका खातिर आफ्नाे अन्तरमनकाे पुकार मारेर भ्रष्टाचारमा डुबेकाहरूले अकुत सम्पत्ति थुपारेका छन् , लान्छन् त तिनीहरूले त्याे सम्पत्ति मर्दा ? पाउने त उनीहरूले मृत्युपश्च्यात पनि बाँचेकाहरूकाे घृणा र घृणाले थुक्ने थुक !
प्राप्तिकै खातिर म आजसम्म बाँचेकाे थिइनँ । अब पनि अन्तरमनकाे पुकारअनुसार नै बाँच्नु पर्छ । अन्तरमन मेराे अझै जिउँदाे छ । म प्रसन्नतासाथ अन्तिम समयमा आँखा चिम्लन सक्छु । गौरवसाथ नश्वर शरीर विसर्जन गर्न पाउनु सार्थक जीवन हाे !
सबैभन्दा ठूलाे प्राप्ति हाे !
🔴
२०७६माघ १२, धरान
🌹☯️🌹

Saturday, January 18, 2020

(लघुनिबन्ध) फाेकटिया

(लघुनिबन्ध)
फाेकटिया

सरण राई

फाेकटिया मानिस, फाेकटिया जीवन !
फाेकटिया साहित्य फाेकटिया जीवनका लागि फाेकटिया समय व्यतित गर्ने फाेकटिया काममा याे फाेकटिया (लघुनिबन्ध) प्रस्तुत गरिन्छ ।
फाेकटिया उत्पादन हरेक चुनावहरूमा हुने गर्छ । ५०भन्दा बढि उम्मेदवारहरू हुन्छन् । फाेकटिया नारा जुलुसका लागि फाेकटिया कार्यकर्ता चाहिन्छ , फाेकटिया मानिसहरूबाट सजिलै अापुर्ति हुन्छ । चुनाव धुमधाम सम्पन्न हुन्छ । एकजनाले जित्छ अरू हार्ने ५०भन्दा बढि उम्मेदवार फाेकटिया सावित हुन्छन् बन्छन् । चुनाव पछि सबै कार्यकर्ता मतदाता फाेकटिया बन्छन् हुन्छन् । फाेकटिया व्यवस्थाले प्रचुर मात्रामा फाेकटिया कुरा उत्पादन गर्ने अाफ्ना फाेकटिया उद्देश्य फाेकटमै पूरा गर्छ ।
फाेकटिया जीवन बाँचिसके पछि अन्तमा थाहा हुन्छ-- याे संसारमा सब फाेकटियाबाट फाेकटिया काम , फाेकटिया साहित्य ,फाेकटिया राजनीति, फाेकटिया उन्नति प्रगति फाेकटियाकै लागि फाेकटिया सांसारिक फाेकटिया निरन्तरता हुँदाेरहेछ ।
एउटाकाे लागि सार्थक अर्काका लागि निरर्थक ! एउटाकाे अाँखामा मूल्यवान अर्काका अाँखामा फाेकटिया !
फाेकटमा फाेकटिया जीवनले दिने शिक्षा यहि नै रहेछ-- बाँचुन्जेलकाे मात्र जीवन हाे ! तिम्राे जीवन पनि अरूका लागि फाेकटिया नै हुने भएकाले अाफ्ना लागि फाेकटमै खुसी प्रसन्न हुन सिक र सक ! फाेकटिया चिन्ता लिँदै नलेऊ !
🔴
२०७६ माघ ५, धरान
🌹☯️🌹

Friday, January 17, 2020

(लघुअभिव्यक्ति ) पुरातन साेच

(लघुअभिव्यक्ति )
पुरातन साेच

सरण राई

आधुनिक भन्न रुचाउने आजका मान्छेहरू पाैराणिक कथाका पात्रहरूबाट प्रभावित भइ पुरातन साेचकाे गिदीले बैज्ञानिक विचार र आविष्कारसँग एकाकार हुन खाेज्दा 'आधा तित्रा आधा बटाइ' भइरहेछन् । अन्धविश्वासले जर्जर पारेकाे मानसिकताले आफै साेचकाे पतनको दलदलभित्र फसेकाे थाहा नपाउँदा आधुनिक मानवियतासँग साक्षात्कार हुन सकिरहेका छैनन् ।

शंकुचित साेच बाेकेका उनीहरूले समाज सरकार र सत्ता कब्जा गरुन्जेल आधुनिक समाज र राज्यकाे आगमन सम्भव हुँदैन । 'न हाँसकाे हिँडाइ न कागकाे हिँडाइ' ले कतै पुग्न सकिदैन ।

तसर्थ युगले छाेडेकाे विचार, अन्धिवश्वास र साेच त्यागेर समयसापेक्ष साेचकासाथ वर्तमान युगकाे गति प्रगतिमा समावेस भइ उन्नतितर्फ अग्रसर हुन सके मात्र सबैकाे भलाे हुन्छ !

🔴
२०७६/ १०/ ४, धरान
🌹☯️🌹

Thursday, January 16, 2020

(लघुआत्मालाप) प्याराे स्वतन्त्रता

(लघुआत्मालाप)
प्याराे स्वतन्त्रता

सरण राई

मान्छे स्वतन्त्र जन्मिन्छ तर ऊ आफैँले पनि अनेकौँ बन्धन निर्माण गर्छ _ विचारको , सङ्किर्णताको , ठुलासानाको , भूगोलको । सबैभन्दा डरलाग्दो बन्धन 'अहम्' र आकाङ्क्षाको | सामाजिक वनोट त परतन्त्रमा पार्ने किसिमको छदैँ छ , कसैलाई स्वतन्त्र र विवेकशील भएर क्रियाशील हुन दिँदैन | हामी पनि त 'आफ्नो विचारलाई आफ्नै झ्यालखाना' बनाउछौँ | स्वतन्त्र र विवेकशील भएर सोच्दैनौँ ,स्वतन्त्र र क्रियाशील हुदैनौँ | यस्तो गल्ति मैले पनि आजीवन गरिरहेँ |
म अरुकै मतमा,मातहतमा, विचारमा र लहैकहैमा हिडेँ हुँला र अरुलाई नै मालिक सम्झे हुँला | तर अब म जीवनको अन्तिम कालखण्डमा स्वतन्त्र जन्मिएझैँ स्वतन्त्र भएर सोच्न लेख्न चाहन्छु | स्वतन्त्र मर्न चाहन्छु |
स्वतन्त्रतामा जुन आनन्द छ त्यो भोग्न चाहन्छु | विवेकशील भएर सोच्न सक्नु अहोभाग्य हो र त्यो अहोभाग्य उपभोग र उपयोग गर्न चाहन्छु |
झिना मसिना कुराहरूमा नै अल्झेर बस्नु बाँच्नु अनि मर्नु आम मान्छे र सर्वसाधारणकाे नियती रहेछ । फटाहाहरूले समाजलाई भडखालाे धराप जालाेभित्र राखेर अाम मान्छेकाे शाेषण गर्दा रहेछन् । त्याे जालाे धराप र भडकालाे नष्ट गरे मात्र स्वतन्त्रता प्राप्त हुने रहेछ । उनीहरूले थापेकाे बल्सीमा नपर्न अाम मान्छे सचेत र सजग हुन जरूरी छ । बल्सीमा उनेकाे चाराेमा लाेभिनु फस्नु हुँदैन ।
केही घटाउन सकिने अावश्यकता घटाउनु पर्छ । विलासितामा लाेभिनु हुँदैन । साधा रहनसहनले लाेभपापबाट बचाउछ । धनिमानीहरूकाे देखासिकी गर्न हुँदैन । थाेरैमा चित्त बुझाउन सके फटाहाहरूकाे धराप बल्सी जालाे र भडखालाेबाट बच्न सकिन्छ साथै अाफ्नाे प्याराे स्वतन्त्रता कायम राख्न सकिन्छ । यी शिक्षा मुर्खतापूर्ण ढङ्गले गुजारेकाे ७२ वर्षे जीवनकाे महत्त्वपूर्ण अार्जन हाे ।
ढिलै भएपनि ...
प्याराे स्वतन्त्रता- जिन्दावाद ! स्वतन्त्र जीवन- जिन्दावाद !!
🔴
https://facebooklit.blogspot.com/2020/01/blog-post_16.html
परिमार्जन - २०७६/१०/३ ,धरान
🌹🌹🌹🌹





 

Monday, January 6, 2020

( लघुसंस्मरण) बराह मन्दिरकाे ढुङ्गा

( लघुसंस्मरण)
बराह मन्दिरकाे ढुङ्गा

सरण राई

जतिसुकै ठूलाे कुरा गरे पनि मान्छेकाे जीवन बाचुन्जेल भरिकाे मात्र हाे । मर्ने बेला कसैलाई थिचाेमिचाे अन्याय गरिएन, सुन्दर सृष्टिहरू नष्ट गरीएन भने सन्ताेषसाथ मर्न सकिन्छ ।
मर्नेबेला पश्चातापकाे अाँसु अाँखामा रहेनभने त्याे महान् जीवन हाे ।
१३ वर्षको उमेरमा पहिलाे पल्ट म काका मर्मबहादुर राईसँग त्रिबेणी बराहक्षेत्र र चतराकाे बाटाे भएर दुर्गम पुर्व ४ नं. माझकिरात भाेजपुर थुम सिक्तेल छिनामखु गाउँ छाेडेर धरान झरेकाे हुँ ।
म भन्दा एक महिना मात्र जेठी फुफु नरदेवी राईले मलाई हिड्ने बेला मायाले दिनुभएकाे एक रूपियाका तीनवटा सिक्काहरू अझै मेराे अाँखामा झलझली अाई रहन्छ । दाैतेरी भएकाेले हामी एउटै स्कुल र कक्षामा पढ्थ्याे । मिल्थ्याे पनि तर झगडा पनि भईरहन्थ्याे ।एक पल्टकाे झगडामा मैले बक्सिङले हिर्काउदा उहाँकाे अाँखाकाे डिल डमडम्ति सुनिएकाे थियाे ।"पख्लास्, म बाबुलाई भन्दिन्छु , अनि चाख्लास् !" फुफुले रूँदै भन्नुभएकाे थियाे । बाजेभने पछि म थुरथुर, एक महिनासम्म बाजेसँग लुकेर हिडेँ । म धरान हिड्ने भए पछि फुफुले टलपल अाँखा बनाएर मेराे हातमा राखिदिनु भएकाे सिक्का मेराे जीवनकाे अमूल्य पहिलाे उपहार थियाे ।
चिउरा पटक्कै मन नपर्ने मलाई रुमालमा पाेकाे पारेर पिखुवाकाे सङ्लाे पानीमा भिजाएर किनारै किनारकाे बाटाेमा हिड्दा काकाले खान दिनु हुन्थ्याे ।खाजा खाने पसलहरू त्यतिबेला थिएनन् । हिड्दा हिड्दा भाेक लागेकाे बेला खाँदै काकालाई पच्छाउदै हिड्दा चिउरा मीठाे लाग्नै नै भयाे । जझ्क फुड त्यति बेला छँदै थिएन ।
काेकाहा खाेला तरेपछि बराहक्षेत्र मन्दिरकाे छेउ भएर बाटाेमा एउटा ठूलाे रुखमुनि खुला ठाउँमै (छेलाे हान्ने अाकारकाे) बराहक्षेत्रकाे ढुङ्गा थियाे । बाटाे हिड्ने यात्रीहरू त्याे ढुङ्गालाई उचाल्ने काेसिस गर्थे । कसैकसैले मात्र सक्थे । भनिन्थ्याे "सातजनाकाे कान्छी अाैलाले भने त्याे ढुङ्गा जुरुक्क उचालिन्छ ।" काका र मैले पनि काेसिस गर्याे । १३ वर्षकाे उमेरमा छाेएकाे, उचाल्न प्रयास गरेकाे ढुंगा ७२ वर्षको उमेरमा साथी जितपाल किरातसँग हिजाे फेरि छाेइयाे, उचाल्ने प्रयास गरियाे ।
खुला चउरमा २०१८ सालमा रहेकाे ढुंगा अहिले फलामकाे पाताकाे बाकसभित्र कैदिजस्ताे सुरक्षित राखिएकाे रहेछ । यत्राे लामाे समयकाे अन्तरालमा धरानमा बसेर पनि पत्नी र छाेराहरूसँग , साथीभाईहरूसँग र भाेजपुर जाने अाउने क्रममा बराहक्षेत्र पुगियाे । तर त्याे ढुंगासँग साक्षात्कार भएन । त्याे ढुंगा निकै वर्ष हरायाे । त्यसकाे ठाउँमा त्यस्तै अर्कै ढुंगा राखिएकाे थियाे । चाेरले चाेरेर लगेकाे असली ढुंगा भेटिएर फलामकाे घेराबारभित्र अहिले राखिएकाे छ ।
याे ढुंगा १३ वर्षको उमेरमा छाेएकाे थिएँ, ७२ वर्षकाे उमेरमा फेरि छुन पाउँदा एकप्रकारकाे भावनात्मक संवेग अनुभूति अानन्ददायी हुन गएकाे छ ।
याे लामाे समयकाे अन्तरालमा कैयाै कुरा , शिक्षा, जीवनसाथी, सन्तान , साथीभाइ अादि अनेक पाएँ , अनेक गुमाएँ ! त्याे ढुंगा छुँदा लाग्याे- जीवन यस्तै रहेछ ।
🔴
२०७६ पाैष २१, धरान
🌹🌹🌹